पूर्वराष्ट्रपति र वर्तमान प्रधानमन्त्रीबीच भेटवार्ताको अर्थ !

पूर्वराष्ट्रपति र वर्तमान प्रधानमन्त्रीबीच भेटवार्ताको अर्थ !


पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसङ्ग उहाँको निवासमै पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गर्नुभएपछि उत्पन्न तरङ्ग अझै सेलाएको छैन ।

गत साताको बिहीबार (पौष १८)नेकपा एमाले सचिवालयको बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी ओली पूर्वराष्ट्रपति विद्या भण्डारीको निवास बुढानिलकण्ठ पुग्नुभएको थियो । त्यहाँ पुग्नुअघि ओलीले सचिवालय बैठकमा काठमाडौं एमालेका नेता कृष्ण राईमाथि किन कारबाही नगर्ने भन्ने आशयको अभिव्यक्ति दिनुभएको थियो। पार्टीलाई गुटबन्दीविहीन तुल्याउन भरमग्दुर प्रयास गर्दै आउनुभएका ओलीको भनाइ थियो- ‘कृष्ण राईले पूर्वराष्ट्रपतिलाई पार्टी अध्यक्ष बनाउनुपर्ने भन्दै टेलिभिजनमा अन्तर्वार्ता दिँदा पार्टीमा बिग्रह र अन्यौल उत्पन्न हुने भएकोले उनमाथि किन कारबाही नगर्ने ?’

यसरी पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी अध्यक्ष बनाउनु उपयुक्त हुने विचार ब्यक्त गर्ने नेतामाथि अनुशासनको कारबाही गर्नुपर्ने चेतावनी दिनुहुने प्रधानमन्त्री ओली त्यसलगत्तै किन भण्डारीको निवासस्थान पुग्नुभयो भन्ने कुराले एमालेको उच्च तहलाई स्तब्ध तुल्याउनुका साथै र कुतूहल जगाएको छ ।

अध्यक्ष ओली विद्या भण्डारीसङ्ग भेटवार्ता गर्न जानुको मुख्य कारण पार्टीको नेतृत्वसम्बन्धी विषयमा छलफलका लागि हुनुपर्छ भन्ने अनुमान गरिएको थियो र कतिपय मिडियाले अनुमानकै भरमा यससम्बन्धी समाचार सम्प्रेषण गरेका थिए । तर, ओलीनिकट सूत्रले जनाएअनुसार त्यसदिन ओलीले पार्टीको नेतृत्वसम्बन्धी विषयमा सामान्य चर्चासम्म गर्नुभएको थिएन । भेटका अवसरमा ओलीले आफ्नाविरूद्ध योजनाबद्ध हमला भएको, सरकारविरूद्ध देशी/विदेशी शक्तिकेन्द्रहरू सक्रिय रहेको र पार्टी पङ्क्तिबाट त्यसको राम्रोसङ्ग प्रतिवाद हुन नसकेको जस्ता विषयमा चर्चा गर्नुभएको थियो । त्यस अवसरमा पूर्वराष्ट्रपतिले प्रधानमन्त्रीका कुरा गम्भीरतापूर्वक सुन्नुभएको तर भावी नेतृत्वको विषयमा जिज्ञासासम्म नराख्नुभएको बुझिएको छ ।

पछिल्लो समय प्रधानमन्त्री ओली पार्टीभित्र आफ्नो लोकप्रियता र भरोसा जोगाउन असफल हुनुभएको ठानिन्छ । सिङ्गो मुलुकमा पनि उहाँको लोकप्रियता पहिलेको तुलनामा निकै खस्किएको छ । तर, ओलीलाई सत्य बताउन सक्ने ब्यक्तिको भने एमालेभित्र ठूलो अभाव रहेको महसूस गर्न थालिएको छ।