✍ राजबाबु शंकर

झापा जिल्लाको भद्रपुर नगरपालिकाको शरहदमा रहेको ऐतिहासिक पुरातात्विक स्थल ‘कीचकबध’ केवल एउटा भौगोलिक क्षेत्र मात्र नभएर गौरवशाली इतिहास र महाभारतकालीन सभ्यताको एउटा दसीका रुपमा रहेको छ । विराट राजाका साला तथा सेनापति कीचकको वधसँग जोडिएको यो ऐतिहासिक स्थल देशकै अमूल्य सम्पदा हो । विगतदेखि हुँदै आएका सीमित उत्खनन् र अध्ययनले यहाँ प्राचीन दरबारका अवशेष, माटोका भाँडाकुँडा, इँटाहरू र पुरातात्विक महत्वका वस्तुहरू रहेको पुष्टि भइसकेको छ । हालै जेठ २९ गते नवौं चरणको उन्खनन् सकिएको छ । तर, विडम्बना नै भन्नुपर्छ- उचित संरक्षण, निरन्तर उत्खनन् र प्रभावकारी प्रवद्र्धनको अभावमा यो अमूल्य धरोहर लामो समयदेखि उपेक्षित र ओझेलमा पर्दै आएको छ ।
कुनै पनि राष्ट्र वा समाजको पहिचान उसको इतिहास र संस्कृतिले पनि निर्धारण गर्छ । कीचकबध जस्तो ऐतिहासिक स्थलको वर्षौंदेखि दुरावस्था रहिरहनुले हाम्रो सांस्कृतिक चेतना र संरक्षणप्रतिको उदासीनतालाई झल्काएको छ । केन्द्रीय सरकार मातहतको पुरातत्व विभागले समय–समयमा चासो देखाएर धिमा गतिमै भए पनि उत्खनन् गराउँदै आएको २४ वर्ष बितेको छ । यस समयावधिमा न त बहुदलीय शासनकालका, न त गणतान्त्रिक शासनकालका जनप्रतिनिधिहरूले यस स्थल बारे चासो र चिन्ता राखे ! हालसम्म भद्रपुर नगरपालिकाले नै अपेक्षित तवरले कीचकबधप्रति अपनत्व लिएको पाइन्न भने प्रदेश सरकारको नजर पनि हालसम्म यहाँ परेको छैन ।
कीचकबधको संरक्षण र उन्नयनमा पहिलो तत्परता र साहसिक पहलकदमी लिनु पर्ने स्थानीय सरकार (भद्रपुर नगरपालिका)ले नै हो, जुन अपरिहार्य पनि छ । स्थानीय स्रोत र सम्पदाको पहिचान गरी त्यसको सम्बद्र्धन गर्नु सम्बन्धित पालिकाकै हो । त्यसैले, कीचकबधको भाग्य र भविष्य बदल्ने प्रमुख साँचो स्थानीय तहकै हातमा छ, यसको संरक्षण एवम् उत्थान स्थानीय जनप्रतिनिधिहरूकै चासो र चिन्तामा निर्भर छ ।
त्यसो हुँदा अबको बाटो अल्मलिने र नीतिगत कुरामा मात्र सीमित हुने नभएर भद्रपुर नगरपालिकाले तत्कालै २ वटा रणनीतिक कदम चाल्न जरुरी छ । पहिलोः सुस्त र ओझेलमा परेको उत्खनन् कार्यलाई यथाशीघ्र र योजनाबद्ध रूपमा समापन तर्फ लैजानु पर्छ । कीचकबधलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न स्थानीय तहले एउटा बृहत् गुरुयोजना तयार पार्नुपर्छ । यसका लागि नगरपालिकाले पुरातत्व विभाग, इतिहासकार र विज्ञहरूसँग समन्वय गरी आफ्नै बजेट समेत विनियोजन गरेर संघ र प्रदेश सरकारको साझेदारीमा एउटा विशेष कोष खडा गर्नुपर्छ । अधुरो र सुस्त उत्खनन्ले सम्पदाको विनाश मात्र निम्त्याउँदैन, यसको ऐतिहासिक महत्व पनि गुमाउँदछ ।
दोस्रो उत्खननबाट प्राप्त ऐतिहासिक वस्तुहरूलाई सुरक्षित राख्न सोही स्थानमा एउटा संग्रहालयको निर्माण गरिनु पर्छ, ताकि भोलिका पुस्ता र अनुसन्धानकर्ताहरूले यसको पुरातात्विक प्राचीन इतिहास बुझ्न सकून् ।
पूर्वकै ढोका काँकरभिट्टा र भद्रपुर विमानस्थलको सामीप्यका कारण यहाँ इण्डियन, भूटनीज तथा स्वदेशकै विभिन्न स्थानका आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्न सकिने प्रचूर सम्भावना छ । धार्मिक पर्यटनका रूपमा यसलाई महाभारत सर्किटसँग जोड्न सके स्थानीयस्तरमा रोजगारीका अवसरहरू सिर्जना हुनेछन् र होटल, यातायात तथा स्थानीय उत्पादनको व्यापार फस्टाउने छ । मेची नदीको पश्चिम र देउनिया खोलाको दक्षिण किनारमा रहेको यो क्षेत्रलाई वातावरणीय रूपमा समेत सुन्दर र हरित पार्कका रूपमा विकास गर्न सकिन्छ ।
अन्ततः सम्पदा जोगाउने महाअभियानमा केवल सरकारको मुख ताक्ने प्रवृत्ति प्रत्युत्पादक बन्न सक्छ । सम्पदाको संरक्षण केवल इतिहास जोगाउने कार्य मात्र होइन, यो त स्थानीय अर्थतन्त्र र समृद्धिको ढोका खोल्ने बलियो साँचो पनि हो । त्यसैले स्थानीय जनप्रतिनिधिहरूले कीचकबधको संरक्षण र विकासलाई आफ्नो कार्यकालको ‘गौरवको आयोजना’का रूपमा स्वीकार्नु जरुरी हुन्छ । स्थानीय समुदाय र निजी क्षेत्रलाई समेत यस अभियानमा साझेदार बनाउन सकिन्छ । इतिहासले सुम्पिएको यो अमूल्य नासोलाई खण्डहर नै रहिरहनबाट जोगाउन र यो स्थललाई यस भूगोलको सम्पदा एवम् समुन्नतिको आधार बनाउन भद्रपुर नगरपालिकाको अविलम्ब नेतृत्वदायी भूमिका अपेक्षित छ । ढिलासुस्ती गर्ने समय घर्किसकेको छ; ऐतिहासिक कीचकबधले आज आफ्नै माटोको सरकारको सक्रियता र न्याय खोजिरहेको छ ।
प्रतिक्रिया