हरिवंशको ‘भूठान’वैशाख १२ मा आउने

हरिवंशको ‘भूठान’वैशाख १२ मा आउने


लोकप्रिय कलाकार हरिवंश आचार्यले मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘भूठान’ १२ वैशाख २०८२ मा प्रदर्शन हुने भएको छ ।

अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्यका साथै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी साथै हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।

सन् २०१९ मा पहिलो चलचित्र ‘बुलबुल’ निर्देशन गरेर ९२औं अस्कर अवार्डमा नेपालको तर्फबाट मनोनित एवं नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका विनोद पौडेलको यो दोस्रो चलचित्र हो । निर्देशक पौडेलका अनुसार यो चलचित्र संसारभरका दर्शकको लागि बनाएको र विश्वको जुनसुकै कुनाको जोसुकैले हेर्दा पनि कथाको भाव र गहिराइ महशुस गर्नेमा आफु विश्वस्त रहेको बताउँछन् ।

निर्माता मध्यका एक अविरल थापा भन्छन्- ‘यस चलचित्रमा हरिवंश आचार्यको अहिलेसम्म कतै नदेखिएको विल्कुल नयाँ अवतार र अदभूत अभिनय देख्न पाइनेछ ।’ हरिवंश आचार्यको जीवनकै कालजयी सिनेमा हुनेमा आफू ढुक्क रहेको थापा बताउँछन् ।

नेपालमा यसको वितरण आरआर फिल्मस् प्रोडक्सनले गर्नेछ । यसका अर्का निर्माता राजेन्द्र ठकुराठीका अनसार विश्वभरिका सिनेमाहलमा बलिउड र हलिउडकै वितरकको संग्लग्नतामा यस चलचित्रलाई एकै मितिमा प्रदर्शन गर्नको लागि पनि काम भइरहेको छ ।

भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दाको कथा र आफनो जराको खोज समेटेर बनेको यस चलचित्र भूठान (द वल्र्डस् ह्याप्पिएस्ट म्यान्) को सम्पूर्ण छायांकन अमेरिकामै केही महिनाअघि सम्पन्न भएको थियो ।

यस चलचित्रको प्रमुख निर्मातामा राजेन्द्र ठकुराठी, अमिताव जोशी र अविरल थापा, सुशांक मैनाली र किर्तना बाँस्कोटा छन् । साथै कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, एलएन अधिकारी, कौशिला खनाल कर्माचार्य, रमेश भट्ट, अपार श्रेष्ठ, भुवन प्याकुरेल छन् भने सह निर्मातामा जोयस पाण्डे, प्रदीप शर्मा (बडाईं) र नवराज पराजुली छन् । यसका अलावा दीपक गजमेर लाइन प्रड्युसर र एसोसियट प्रड्युसरमा एली बोहरा रहेका छन् ।

चलचित्रमा सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनी, सुर्य शाहीको कास्टीङ्ग, उज्जवल श्रेष्ठको पव्लिसिटि डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहनेछ । किर्तना बाँस्कोटा, एलि वोहोरा, विशाल डोटेल र समुन्द्र राज घिमिरेले निर्देशनमा सहयोग गरेका छन् ।

यस चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मस्ले निर्माण गरेको हो ।