‘विश्वविद्यालय क्षेत्र शान्तिपूर्णरुपमा अगाडि बढ्ने क्षेत्र हो, तर कसैले मुड्की देखाउँछ भने हामी चुप बस्दैनौँ’ : प्रधानमन्त्री ओली

‘विश्वविद्यालय क्षेत्र शान्तिपूर्णरुपमा अगाडि बढ्ने क्षेत्र हो, तर कसैले मुड्की देखाउँछ भने हामी चुप बस्दैनौँ’ : प्रधानमन्त्री ओली


प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एकताबद्ध भएर चुनावी मैदानमा उत्रन आग्रह गरेका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका सन्दर्भमा आज (२५ पुस) एमाले केन्द्रीय कार्यालयमा आयोजना गरेको राष्ट्रिय कार्यशालामा अध्यक्ष ओलीले स्थापित र सफल खेलाडी अरुको वैसाखी नटेकी आफैं दौडिएर पदक जितेको उदाहरण प्रस्तुत गदैढुक्क भएर आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरित गरे ।

मुलुकको राजनीतिक आन्दोलनसँगै गौरवशाली विद्यार्थी आन्दोलन सुुरु भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्र स्थापना पहिले गङ्गालाल श्रेष्ठले मानवअधिकारसम्बन्धी पहिलो भाषण र सङ्गठन बनाएको र त्यही समयदेखिको चेतना र विद्रोहका उत्तराधिकारी आफ्नो पार्टी भएको बताए ।

अध्यक्ष ओलीले त्यही बिउ छरेर एकतामा सामेल हुन आउने समूहलाई जोड्दै एमालेलाई अहिलेको राष्ट्रिय शक्ति बनाइएको र अब निर्णायक शक्ति निर्माणको दिशामा अग्रसर भएको उल्लेख गरे ।

अध्यक्ष ओलीले भने, ‘विश्वविद्यालय क्षेत्र मुड्की र सशस्त्र सङ्घर्षले लोकप्रिय हुने क्षेत्र होइन । यो राम्रो काम गरेर शान्तिपूर्णरुपमा अगाडि बढ्ने क्षेत्र हो तर कसैले मुड्की देखाउँछ भने हामी चुप लागेर बस्दैनौँ । म साथीहरुलाई राम्रो काममा ‘एग्रेसिभ्ली’ लाग्न आग्रह गर्दछु ।’

ज्ञातव्य छ, आगामी फागुन १५ गते विश्वविद्यालयहरुमा स्ववियु निर्वाचन हुँदैछ ।

photo: rss