टीकापुर जग्गा अनियमितता प्रकरणमा ८७ जना दोषी ठहर

टीकापुर जग्गा अनियमितता प्रकरणमा ८७ जना दोषी ठहर


टीकापुर जग्गा अनियमितता प्रकरणमा विशेष अदालत काठमाडौंले ८७ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार (२५ पुस) उक्त फैसला गरेको हो ।

दोषी ठहर हुनेमध्ये टीकापुर नगर विकास समितिका अध्यक्ष नेत्रप्रसाद जोशी, उपसमिति संयोजक गणेशसिंह रावललाई एक वर्ष ६ महिना कैद फैसला गरिएको छ ।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार जग्गा किन्ने एक सय १७ जनामध्ये ८७ जनालाई दोषी ठहर गर्दै तीन महिना कैद र जरिवाना हुने फैसला भएको छ । उक्त जग्गा सबै नगर विकास समितिको नाममा हुने ठहर गर्नुका साथै केशरबहादुर कुँवर र राजु आचार्यलाई चाहिँ सफाइ दिइएको छ।

अदालतले दोषी ठहर गरेका सबैलाई डेढ महिना कैद र रु १३ लाख सात हजार जरिवाना हुने फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघमा कैलालीको टीकापुर नगर विकास समितिको जग्गा अनियमित ढङ्गले व्यक्तिलाई बाँडेको आरोपमा मुद्दा दायर गरेको थियोे ।

अदालतले टीकापुरको सरकारी जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता गराएकाहरूको जग्गा जफत हुने र नगर विकास समितिको हुने ठहर गरेको छ । ‘ती जग्गा एवं तह-तह हक हस्तान्तरण भई हाल प्रतिवादी कायम गरिएका जो-जसको नाउँमा रहेको छ, उक्त जग्गासमेत जफत भई टीकापुर विकास समितिकै नाममा कायम हुने ठहर्छ’, फैसलामा भनिएको छ, ‘जग्गा जफत भएका प्रतिवादीहरूले जग्गा खरिद गर्दा तिरे-बुझाएको रकम कानुनबमोजिम सम्बन्धित बिक्रीकर्तासँग दाबी गरी लिन पाउने नै हुँदा सोतर्फ थप केही बोलिरहनु परेन ।’

अख्तियारले नक्कली रसिद बनाइ गलत ढङ्गले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा उक्त समितिका अध्यक्ष, पदाधिकारी, कर्मचारी र जग्गा पाउने व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो ।

rss