बालबालिकामा यौन गीत-संगीतले पार्ने प्रभाव

बालबालिकामा यौन गीत-संगीतले पार्ने प्रभाव


बाल मनोविज्ञानले जन्मेको शिशुदेखि किशोरकालसम्मका बालबालिकाको मानसिक अवस्थालाई अध्ययन गर्दछ । अर्थात्, बालको अर्थ ‘बच्चा’ र मनोविज्ञान भनेको ‘मनको विज्ञान’ भनेर बुझिन्छ । बच्चाको मन र व्यवहारको अध्ययन नै वास्तबमा बाल मनोविज्ञान हो । यसका दुई पत्रहरू हुन्छन् ।

एउटा बाल मनोविज्ञान हो जसले बालबालिकाको मानसिक अवस्था अनुकुल हुनेगरी आवश्यक सामग्रीमा जोड दिन्छ । त्यस्तै, अर्को हो बाल मनोविकास जसमा उसको उमेरअनुसारका सामग्रीहरूको माध्यमबाट सिक्ने/सिकाउने प्रक्रियाको शुरुवात हुन्छ ।

शैक्षिक मनोविज्ञान पनि मनोविकास अन्तर्गत पर्दछ, जसमा मानिसले उमेरअनुशारको वातावरणमा कसरी सिक्छन् र कसरी शैक्षिक गतिविधिहरूलाई अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने अध्ययन गरिन्छ । ‘शैक्षिक मनोविज्ञान’ दुई शब्दहरू मिलेर बनेको छ- ‘शिक्षा’ र ‘मनोविज्ञान’ । यसमा एक व्यक्तिको व्यवहार, मानसिक प्रक्रिया र अनुभवहरूलाई शैक्षिक परिस्थितिहरू अनुशार अध्ययन गरिन्छ । शैक्षिक मनोविज्ञानको उद्देश्य शिक्षणको प्रभावकारी प्रविधिहरूको प्रयोग गर्दै विद्यार्थीको क्षमता र रुचिहरूको मिहिन मूल्याङ्कन गर्नु हो । यस प्रकारको मुल्यांकनले विद्यार्थीको मानसिक स्तर र झुकाव थाह हुन्छ । जसबाट शिक्षण र सिक्ने प्रक्रियामा सुधार गर्न सकिन्छ ।

समष्टिमा भन्नुपर्दा, शैक्षिक मनोविज्ञान शिक्षाका आन्तरिक क्षमता र रुचिसंग सम्बन्धित समस्याहरूबारे छलफल, विश्लेषण र समाधान गर्ने विज्ञान हो । शिक्षा मनोविज्ञानबाट कहिल्यै अलग भएको छैन । मनोविज्ञानको रुपमा होस् वा दर्शनको रूपमा होस्, शिक्षाको माध्यमबाट व्यक्तिको क्षमता विकासमा गुणात्मक परिवर्तन हुन जान्छ, जसले समग्र समाज र जगतलाई अन्धकारबाट मुक्ति दिन अहम भूमिका खेल्छ ।

शैक्षिक मनोविज्ञानको विश्लेषण गर्न मनोविद स्किनरले निम्न तथ्यहरूलाई औंल्याएका छन्-

१. शैक्षिक मनोविज्ञानको अन्तर तत्व वा केन्द्र मानव व्यवहार हो । बालबालिकाहरूले घरको वातावरणबाट जति कुराहरू सिकेका हुन्छन्, झण्डै त्यतिनै राम्रा नराम्रा कुराहरू साथिभाइको संगत र स्कुलबाट सिकिरहेका हुन्छन् । सानो उमेरमा विद्यार्थीले आफुले सिक्ने कुराको आफै छनौट गर्न सक्दैनन् । स्कुलमा हुने औपचारिक वा अनौपचारिक गतिबिधिहरू जसबाट विद्यार्थीले क्रमश सिकिरहेका हुन्छन् । घरमा अविभावकहरूबाट पनि सिकिरहेका हुन्छन । आँफुलाई लाग्ने ठक्कर र जैविक अनुभूतिबाट पनि सिकिरहेका हुन्छन । स्कुलको पाठ्यक्रमबाट सिक्ने क्रममा गुरुहरूले उनीहरूलाई मार्गदर्शन पनि गरिरहेका हुन्छन् । कतिपय स्कुलमा गुरुहरूले विद्यार्थीको पठन संस्कृति अनुशार अतिरिक्त स्तरिय कार्यक्रमको आयोजना गरेर विद्यार्थीलाई उमेर अनुकुल चेतना दिदै जान्छन । तर कतिपय स्कुलहरूमा विद्यार्थीलाई उनीहरूको वृतिविकासमा उमेर अनुशारका कार्यक्रम गर्न नजानेर विद्यार्थीहरूले गलत बाटो समात्न पुग्दछन् ।

उदाहरणको लागि कुनै एक प्राबि स्कुलमा गीत-संगीतको कार्यक्रमको आयोजना गरिन्छ । ती गीत-संगीत सिक्न विद्यार्थीहरूले हप्तौँ लगाएर अभ्यास गरिरहेका हुन्छन् । ती विद्यार्थीहरूले आफै कार्यक्रम बनाउन र उपयुक्त गीतहरूको छनौट गर्न सक्दैनन् । कार्यक्रम बनाउन, कलाकार र गीतहरूको छनौट गर्न गुरुहरूले नै नेतृत्व गरेका हुन्छन् । आफैले अनुभूत गरेको कुरा, कतिपय स्कुलहरूमा साना साना नानीबाबुहरूलाई प्रेमका गीतहरू कण्ठ गर्न लगाएर नचाइएको पाइयो । आठ दश बर्ष नकाटेका अबोध विद्यार्थीहरूलाई तन्नेरी तरुनी बनाएर यौवनको उछालकुदमा झुम्न लगाइएको पाइयो । त्यस्ता गीतमा अझै अविभावकहरूले थपडी बजाएर प्रोत्साहन गरिरहेका देखेँ । त्यस्ता गीत र नाचबाट ती बालबालिका वा किशोर किशोरीहरूको मानसिक स्वास्थ्यमा कस्तो असर पर्छ ? कसैलाई त्यसको हेक्का रहेको देखिएन । असल शिक्षकले उचित मार्ग दर्शन गर्ने भनेको यिनै अवस्थाहरूमा हो ।

यौन जोडीहरूले भाइरल बनाएका यस्ता छाडागीत र नाचहरूलाई अहिलेको उपभोक्तावादी समाजले नियन्त्रण गर्न सकी रहेको देखिदैन । त्यो अवस्थामा शिक्षकले विद्यार्थीहरू मार्फत सिङ्गो समाजलाई शैक्षिक नेतृत्व प्रदान गर्न सक्छ । छाडा गीतहरूको सट्टा देशभक्तिले ओतप्रोत गीत स्कुले बालबालिकाको दिमागमा राख्न सक्ने हो भने त्यसले उनीहरूको मनोविज्ञानलाई सकारात्मक प्रभाव पाथ्र्यो । उनीहरूको बौद्धिक सोचलाई रुपान्तरण गर्न सक्थ्यो । यो कुरा एक शिक्षकले हेक्का राख्न सक्दछ ।

मनोविदहरूका अनुशार, राम्रा गीत-संगीतको प्रभावले मस्तिष्कमा यस्ता हर्मोन उत्पादन हुने गर्दछ जसले बालबालिकामा सकारात्मक गुणको विकास गर्छ । फलस्वरूप, बच्चामा नैतिकता, धैर्य, सहयोग, दया र करुणा जस्ता गुणहरू विकास हुन्छन् । लाज घिन र सामाजिक उसृन्खालताबारे उनीहरूले हेक्का राख्न सक्ने हुन्छन । उनीहरूले अरूको भावना बुझ्ने क्षमता विकास गर्छन् ।

बालबच्चाहरूको तीव्र मानसिक अवस्था हुने एउटा निश्चित उमेर हुन्छ । त्यहि उमेर भित्र बिबेकशील अबिभावकहरूले सन्तानहरूको मानसिक र शारीरिक विकासलाई सही दिशा दिन निरन्तर प्रयास गर्नु पर्छ । यसका लागि बालबालिकाको विकासमा सहयोगी मानिने सबै उपाय अपनाइन्छ । यो कुरा शिक्षक विद्यार्थीको हकमा पनि सत्य हो । तल घर वा स्कुलमा बालबच्चालाई सिकाइमा प्रभाव पार्ने गीत-संगीत र नृत्यबारे केहि खुराक राखिएको छ ।

बाल विद्यार्थीहरूलाई सिकाउने गीत-संगीतबारे

सबै गीत-संगीत नराम्रा हुँदैनन् । बाल मस्तिष्कको लागि संगीत सुन्नु, नाच्नु, गाउनु आवश्यक छ । बालबालिकाको मानसिक स्वास्थ्यको लागि, दिमागलाई तीखो राख्न गीत-संगीत वा नाचको स्थान महत्त्वपूर्ण हुन्छ नै । मनोविदहरूका अनुशार, गीत, संगीत पनि चैतन्य विकासको लागि एउटा महत्वपुर्ण आहार हो । बालबालिकालाई उनीहरूको जीवन उपयोगिता र प्रेरणा अनुकुल उचित संगीत शिक्षा दिनुपर्छ । संगीतका शब्द, त्यसको प्रेरणा र ज्ञान उनीहरूको ब्याक्तित्व निर्माणमा सहायक बनोस भनेर शिक्षक वा अविभावकले हेक्का राख्नु पर्छ । विद्यार्थीहरूलाई पनि उमेर अनुशार गीत-संगीतको भाव पोषण गराउन सक्नु पर्छ ।

भनिन्छ, जब तपाईं आफ्नो आँखाबाट बच्चाहरूसँग कुरा गर्नुहुन्छ, गाउनुहुन्छ वा नृत्य गर्नुहुन्छ, यसले उनीहरूमा सही प्रभाव पार्छ । तर गुरु वा अबिभावाकमा बालबालिकाहरूलाई सिकाउने विषय बस्तुको छनौट कला छैन भने त्यस्तो शिक्षकले हजारौँ केटाकेटीहरूको भविष्य अँध्यारोमा पुरिदिन सक्छ ।

२. शैक्षिक मनोविज्ञान खोज र अवलोकन मार्फत प्राप्त तथ्यहरूको आत्मिक संग्रह हो । शिक्षकले विद्यार्थीलाई राम्रा कुराहरू सिक्ने जागरण ल्याएर सँधै जिज्ञासु बनाइरहनु पर्छ । प्रवाशमा रहेका नेपालीका नानीबाबुलाई नेपाली भाषा पढाउँदा मातृभाषाको महत्व बोध गराउन सक्नु पर्छ । ‘पढाई सिक्नको लागि होस्’ भन्ने हेतुमा सँधै चनाखो हुनु पर्छ । घरमा होस् वा स्कुलमा कसरी पढाउने वा सिकाउने ? कुन-कुन विषय बस्तु उनीहरूको क्षमता विकासमा सहायक हुन सक्छन् ? कस्ता अतिरिक्त क्रियाकलापले सिकाइमा सकारात्मक प्रभाव पार्दछ ? कुन उमेरकालाई कस्ता खाले गीत-संगीत वा नाचको महत्व हुन्छ ? एक शिक्षक आफैले यस्तो आत्माज्ञान विद्यार्थीमा वितरण गर्दा समाजले क्रमश अश्लिलता रुपी फोहरलाई बहिष्करण गर्दै लैजान्छ ।

३. शैक्षिक मनोविज्ञानमा भण्डारण गरिएको ज्ञानलाई उनीहरूकै जिवनमा घटेका व्याबहारिक उदाहरणहरू दिएर सिकाउनु पर्छ । यो कुरा शिक्षकको हकमा बढी लागु हुन्छ । शिक्षकले कार्यक्रममा आफै नाङ्गो नाच मन पराउँछ भने उसले विद्यार्थीलाई कपडा लगाएर नाच भन्न सक्दैन । शिक्षक वा सिकाउने गुरु विद्यार्थीको बीच सम्बन्ध आदर्श बन्न सक्यो भने विद्यार्थीले गुरुको स्वाभिमानमाथि गर्व गर्न सक्ने हुन्छ । गुरुले समाजको राम्रा नराम्रा प्रथा वा प्रचलनलाई अनुशरण गर्ने नभएर समाज रुपान्तरण गर्ने शिक्षा विद्यार्थीलाई दिनु पर्छ । त्यसले विद्यार्थीलाई नयाँ खोजको लागि प्रेरणा दिन्छ र ती अनुभवहरू गुरु चेलाका लागिमात्र नभएर सिंगो समुदायका लागि मार्गदर्शक सिद्धान्त बन्छन् ।

४. शैक्षिक मनोविज्ञानले शिक्षाका समस्याहरू समाधान गर्न मौलिक तरिकाहरू प्रस्ताव गरेको छ । सिकाउने–सिक्ने कला, सन्दर्भ सामाग्रीहरूको चयन, अतिरिक्त क्रियाकलापको छनौट, सम्बन्धको विकास, अनुगमन, मुल्यांकनको चेत विद्यार्थीको अवस्था अनुशार शिक्षकले आफै तय गर्न सक्दछ । त्यसमा कसैले कसैको पूर्ण अनुकरण गर्न जरुरि हुँदैन । प्रवाशमा मातृ भाषा सिक्ने सिकाउने क्रममा यो कुरा अझ धेरै सान्दर्भिक हुन्छ ।

५. शैक्षिक मनोविज्ञानका सिद्धान्तहरू र विधिहरूले शैक्षिक सिद्धान्त र प्रयोगहरूको लागि आधार प्रदान गर्दछ । तर त्यसलाई शिक्षक आफैले राम्रोसंग बुझ्नुपर्यो । कलिला बालबालिकाहरूलाई प्रेमका गीतमा नचाउनुभन्दा उमेरअनुशारका प्रयोगात्मक अभ्यासहरू गराएर उनीहरूको क्षमता विकास गर्न सकिन्छ । गीतहरू पनि उमेर अनुशारका बाल गीत–संगीतहरू छन्, छनौट गरेर त्यस्ता नाचगान सिकाउन सकिन्छ ।

६. बच्चाको आत्मिक विकास गर्न नैतिक शिक्षा तथा प्रकृतिको ज्ञान प्रदान गर्ने कला सिकाउन सकिन्छ । जस्तो योगा वा ध्यान पछि क्लासको शुरुवात गर्ने, तर्क र खोजको लागि प्रेरणा प्रदान गर्न छोटाछोटा सरल बहसहरूको आयोजना गर्ने, वादविवाद र सामान्य ज्ञानका प्रतियोगीताहरूको आयोजना गर्ने, प्रसङ्ग सुनाएर त्यस प्रसङ्ग भित्रबाट उत्तर खोज्न सिकाउने जस्ता अभ्यासहरू यस अन्तर्गत पर्दछन् ।

७. बच्चाको वातावरणसंग सद्भाव स्थापित गर्ने कलाकाबारेमा कमै बहस भएको सुनिन्छ । प्राकृतिक, सामाजिक, नैतिक, आर्थिक र मौसमी ज्ञानको लागि विद्यार्थीलाई जिज्ञासु बनाउन सक्नु एक शिक्षकको अहम कर्तब्य हो । उदाहरणको लागि युक्रेनको विद्यालयका एक शिक्षकले युद्धको खतराबाट बचाउन हरेक खतराका संकेत बुझ्ने पाठ विद्यार्थीलाई सिकाउँछन् । त्यहाँ साइरनका आवाजहरू बुझ्ने, कस्तो साइरन बज्दा बंकरभित्र लुक्ने, कसरि घाइते साथीहरूलाई सहयोग गर्ने, सुर्रक्षाकर्मीको सहयोग कसरि लिने आदि आधारभूत सिकाइहरू स्कुल भित्रै हुन्छन । नेपालमा खोला, पौडी, बन जंगल, जनावर, भुकम्प, पैह्रो, झरी, आगलागी जस्ता कुराहरूबारे विद्यार्थी अबगत हुनै पर्छ । यी सबैको उपयोगिता र सम्भावित भबितब्यबाट बाँच्ने कला सिक्नु विद्यार्थीको लागि हितकर हुन्छ । प्रकृतिबाट कस्तो समयमा लाभ लिन सकिन्छ, कस्तो समयमा त्यसले हानि गर्छ र हानिबाट बच्ने उपाएहरू के के हुन सक्छन् ? बसेको वातावरण अनुसार जिउने र बाँच्ने कलाहरूलाई शिक्षकले सिकाउँदै जानुपर्छ ।

सेक्सी गीत, हुटिङ र यौन विकृति

आज हाम्रो समुदायका प्राय: कार्यक्रमहरू यौन उत्तेजनाको सिकार भएका छन् । अब त नेपाली कार्यक्रमहरूमा जान पनि लाजमर्दो भैसकेको छ । सामाजिक संजाल जस्तै समुदायले गर्ने कार्यक्रम रंग रमाइलोको बहानामा नैतिक भ्रष्टउन्मुख छ । स्कुलमा ससाना नानीबाबुहरूलाई लाज पचेका गुरु गुरुमाहरूले ‘डगी डान्स’ गर्न उत्प्रेरित गरिरहेका कुरा संजालमा देखिन्छ । त्यस्ता कार्यक्रमहरूमा अविभावकहरूले तालि पिटीपिटी हुटि गरिरहेका हुन्छन् । यौन र यौन शिक्षा एउटै कुरा हैनन् भन्ने नबुझेसम्म रतिरागात्मक प्रेमका गीतहरू स्कुल र बिध्यापिठहरूमा बज्न छाड्ने छैनन् । उपभोक्तावादी छाडा संस्कृतिले ल्याएका यस्ता विकृतिले हाम्रा छोराछोरीको दिमागमा ज्ञान हैन रतिरागप्रति उत्सुकता भर्दै लगेर पथभ्रष्ट बनाउदै छ । त्यसैले पबित्र ठाउँहरूलाई ज्ञान प्रति जागरण पैदा गर्ने वातावरणमा ढाल्न शिक्षक जस्तै अविभावकहरू पनि सचेत हुनु जरुरि छ ।

यौनबारे पुरानो परम्परा

हाम्रो प्राचीन शिक्षा परम्पराले यौन शिक्षालाई न आजको जस्तो रहस्यमय बनाएको थियो न आजकै जस्तो उत्ताउलो र छाडा । पौराणिक कालमा समेत विद्यापिठहरूलाई यौन उत्तेजनाको खेल मैदान बनाउन चाहने व्यक्तिलाई असाध्यै निम्नस्तरको दर्जामा राख्ने गरेको पाइन्छ । सदैव यौन उत्तेजनामा रमाउने पशु बोका भएकोले त्यसलाई पंचवलीमा समावेश गरिएको चर्चा पौराणिक ग्रन्थहरूमा पाइन्छ ।

छाडा प्रेम र यौनाचरणको विषयमा कुरा गर्दा पाश्चात्य दर्शनका हस्ती शुकरातलाई पनि सम्झने गरिन्छ । उनले यौनलाई सृष्टि वा प्राकृतिक आवश्यकतासंग जोडेर हेर्नुपर्छ भन्ने मान्यता राख्थे । उनका अनुशार, ‘उत्तम व्यक्तिले जीवनमा एक पटक मात्र सम्भोग गर्नुपर्छ, त्यो पनि सन्तानका उद्देश्यले । यो साह्रै असंभव लाग्छ भने वर्षको एकपटक गरोस्, त्यो पनि ऋतुकालको समयमा । त्यो पनि कम भयो भने महिनाको एक पटक गरोस्, ऋतुकालको समयमा । यसमा पनि ठहर्न नसक्ने व्यक्ति जो छ त्यो पतित हो । त्यसले टाउकोमा कात्रो बाँधेर जे मनलाग्छ त्यै गरोस् ।’ यो टाउकोको कात्रो भन्ने कुराले यौन क्रियालाई स्वास्थ्यसित जोडेको देखिन्छ । अझ भनौँ भने अकस्मात् मृत्युको अथवा अल्पायुको सङ्केत गरेको देखिन्छ ।

कस्ता ठाउँमा गाइन्थ्यो यौन वा रतिरागका गीत ?

हाम्रो परम्परामा यौन गीत-संगीत वा यौन उन्मुक्तताकोलागि बिशेष दिन तोकिएको हुन्थ्यो जसमा सानो उमेरकाले त्यो हेर्न सुन्न पाउदैनथे । हाम्रो ग्रामीण परिवेशमा महिलाका लागि यौन पर्व रत्यौली अथवा जिउँती हो भने पुरुषहरूका लागि वनमा गाइने फागु अथवा वन फागु हो । जिउँतीमा केवल महिलाको मात्र सहभागीता हुन्छ तर वन फागुमा चाहिँ कहिलेकाहिँ महिला पुरुषको दोहोरी पनि चल्न सक्छ ।

विवाहका लागि दुलहीका घरतिर दुलाहाका घरबाट जन्ती हिँडेपछि गाइने रतिरागयुक्त गीत र रति अभिनयसितको नाचलाई नै रत्यौली भनिन्छ । बिबाहको एक वर्ष पुगेपछि त्यसैगरी रति रागात्मक गीत गाएर जिउँती मेटिन्छ । यस संस्कारले अविवाहित केटीहरूलाई यौन शिक्षाप्रतिको जिज्ञासा जगाइदिन्छ । यसमा महिला मात्र सहभागी हुन्छन् भनिए पनि जिज्ञासु भनौँ वा इतरिएका केटाहरूले लुकीछिपी हेर्ने सुन्ने गर्छन् । हामी सानो छँदा छिहिल्लिएर नाचगान गरिरहेका महिलालाई गाईभैँसीको गोबरको पिच्करिले हानेर हैरान पार्ने कर्म गरेको अहिलेसम्म सम्झनामा छ ।

अन्त्यमा, पुरुषको विकृत यौनकुण्ठा, कृत्रिम प्रणयभाव तथा स्त्रीलम्पट प्रवृत्तिलाई प्रोत्साहन दिने यस्ता गीतहरूमा सानासाना बालबालिका र किशोर विद्यार्थीहरूलाई नचाउन सम्बन्धित शिक्षक र अभिभावकले रोक्नु पर्दछ । यसले ती अबोधहरूको दिमागमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ । विविध महोत्सवमा भद्दा प्रस्तुतीकरणका लागि उक्साउने, बाध्य पार्ने र त्यसैको हल्ला पिटेर नाफा जुटाउने यी सबै कला उदारबादको हतियार हो । यो पितृसत्ताको जगमा बनेको र उपभोक्तावादी व्यवस्थाले हुर्काएको सोचको उत्पादन हो  । जहाँ जे उत्पादन बिक्छ त्यही उत्पादन बिकाउन हरेक व्यापारी लागेका हुन्छन्  । लैंगिक समानताको अभियानलाई समर्थन गर्ने राम्रा गीत र संगीत पनि छन्, बाल गीत, देशभक्त गीतहरू पनि छन्  । निक्की कार्कीले गाएको ‘जेट उडाउँछु …’ आस्था राउतको स्वरमा रहेको ‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा…’ जस्ता गीतहरूले बाल मस्तिष्कमा राम्रो प्रभाव पार्दछन्  । रामेश, रायन र जीवन शर्माका धेरै देशभक्त गीतहरूले पनि बाल मस्तिष्कमा प्रेरणा जगाउन सक्छन् । यी गीतले नारी आवाज मात्र होइन, आत्मविश्वासलाई उच्च राख्न पनि सहयोग पुऱ्याएका छन्  । “बाल साहित्य र संगीत सिर्जनामा सामाजिक, धार्मिक, सांस्कृतिक, कानुनी, नैतिक लगायतका धेरै सीमा हुन्छन् । ती सिमाहरूलाई सचेत शिक्षक र साहित्यकारले उल्लङ्घन गर्दैनन् र गर्नु हुँदैन ।

विद्यार्थीलाई उमेरअनुशारको शिक्षा दिनुभन्दा सानैदेखि यौनवादी कामुक र छाडा प्रेमका गीत-संगीत कण्ठ गर्न लगाउने वा नचाउने गर्नाले ती विद्यार्थीको मनोविज्ञान विकृत हुँदै जान्छ । अन्त्यमा उनीहरूले आफ्नो भबिष्य बनाउने बेलामा यौनबारे सोच्न थाल्दछन् र बाँकी भविष्य पश्चातापमा बिताउँछन् । तसर्थ विद्यार्थीले ठिक र बेठिक छुट्टयाउन सक्ने नहुन्जेल सिकाइमा अभिभावक र गुरुहरूको अहम् भूमिका हुन्छ । शिक्षकलाई थाह हुनै पर्ने अर्को कुरा, पोर्न साइड वा छाडा गीत-संगीतको लत बसेपछि उनीहरूको स्क्रिनमा टक बस्न जान्छ । इलेक्ट्रोनिक स्क्रिन र उपकरणहरूको अत्यधिक प्रयोगले बालबालिकाको दिमागमा नराम्रो प्रभाव पार्छ । त्यसैले बच्चाहरूलाई म्युजिकल भिडियोहरू हेर्न स्मार्टफोन दिनु घातक साबित हुन सक्छ भन्ने कुरा गुरुहरूले भनिरहनु पर्छ । खराविको बारेमा शिक्षकले बालबालिकालाई सचेत गराएर मात्र हुन्न, उनीहरूका अविभावकहरूलाई पनि सुचित गरिरहनु पर्छ ।