धादिङ नेकपा माओवादी केन्द्रका नेता राजेश प्रजापति नेकपा माओवादी पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । २०६२ सालमा नेपाली काङग्रेसको क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै माओवादी पार्टीमा संलग्न हुन पुगेका उनी पुनः काङ्ग्रेसमै फर्किएका हुन् ।
यातायात व्यवसायीको रुपमा समेत अलग पहिचान बनाएका उनी धादिङ मण्डली यातायात प्रालि र नेपाल इन्भेष्टमेण्ट यातायात प्रालिका प्रबन्धक पनि हुन् । धादिङ सदरमुकाममा माओवादीका हरेक गतिविधिमा उनलाई नै अग्रपंक्तिमा देखिँदै आएको थियो । बागमती प्रदेशका पूर्व मूख्यमन्त्री शालिकराम जम्कट्टेलका निकट पात्रको रुपमा चिनिएका प्रजापति केही समयदेखि माओवादीसँग रुष्ट थिए ।

आइतबार (२८ पुस) काङग्रेस उपसभापति पुर्णबहादुर खड्काको हातबाट नेपाली काङ्ग्रेस पार्टीको सदस्यता लिएपश्चात उनले आफू पुरानै घर फर्किन पाएकोमा गौरवान्वित भएको प्रतिक्रिया दिए । नेता प्रजापतिलाई पार्टीप्रवेश गराउँदै काङग्रेस उपसभापति खड्काले नेपाली काङ्ग्रेसको सिध्दान्तअनुसार अविचलत रुपमा स्थिरताका साथ संगठन निर्माणमा लाग्न निर्देशन दिए । पार्टीको नीति सिद्धान्तअनुसार अनुशासित ढंगले अघि बढ्न सुझाव दिँदै उपसभापति खड्काले इमानदार एवम् कर्मठ नेता-कार्यकर्ताको संरक्षणका लागि पार्टीको तर्फबाट आफू हरदम सजग रहने भन्दै आश्वस्त तुल्याए ।
नेपाली काङ्ग्रेस धादिङका युवा नेता तथा धादिङ मण्डली यातयात प्रालि र नेपाल इन्भेष्टमेण्ट यातायात कल्याण प्रालिका अध्यक्ष समेत रहेका लोकतान्त्रिक यातायात व्यवसायी संघका केन्द्रिय सल्लाहकार शरद अधिकारिको विशेष पहलमा राजेश प्रजापति पुनः आफ्नो पुरानो घर फर्किएका बुझिएको छ । काङ्ग्रेस पार्टीको सदस्यता लिएलगत्तै नेपाल लोकतान्त्रिक यातायात ब्यबसायी संघका केन्द्रिय महासचिव केदारनाथ पौडेलले उनलाई लोकान्त्रिक यातायात ब्यवसायी संघमा समाहित गराउँदै लोकतन्त्रिक यातायात ब्यवसायी संघको सदस्यतासमेत प्रदान गरिएको जानकारी दिए ।
प्रतिक्रिया