विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजरायली विदेशमन्त्रीसँग फोनवार्ता

 विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजरायली विदेशमन्त्रीसँग फोनवार्ता


हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले मंगलबार (१ माघ) साँझ इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि फोनवार्ता गरेकी छन् ।

हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई मुक्त गर्न लागेको समाचार आएपछि परराष्ट्रमन्त्री डा. राणाले विपिनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री सारमार्फत् इजरायल सरकारसँग आग्रह गरेकी हुन् ।

फोनवार्तामा मन्त्री डा. राणाले इजरायल सरकारले विपिनसहित सबै बन्दीका पक्षमा निर्वाह गरिरहेको भूमिकाका लागि धन्यवाद दिँदै नेपाली युवा विपिनलाई हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्नका लागि विशेष आग्रह गरेकी थिइन् ।

त्यस अवसरमा मन्त्री सारले विपिनको सकुशल रिहाइका लागि इजरायल सरकारले अधिकतम प्रयास गरिरहेको जानकारी मन्त्री डा. राणालाई गराएका बताइएको छ । साथै विदेशमन्त्री सारले मंगलबार बिहान परराष्ट्रमन्त्री डा. राणाले कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग कुराकानी गरेकोमा पनि खुसी व्यक्त गरेका थिए । मन्त्री अल–खुलाइफी हमाससँगको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता भएकाले उनको भूमिका महत्वपूर्ण रहेको इजरायली विदेशमन्त्रीको भनाइ थियो ।

बिहान मन्त्री डा. राणाले कतारका विदेश राज्यमन्त्रीसँग फोनवार्ता गरी सोही आग्रह गरेकी थिइन् । हमास समूहले केही बन्दी रिहा गर्न लागेको समाचारपछि मन्त्री राणाले इजरायल सरकार र हमाससँग सम्पर्कमा रहेर युद्धविरामका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग सम्पर्क गरी विपिनको रिहाइका लागि अपिल गरिरहेकी छन् । गत हप्ता पनि उनले इजिप्ट सरकारसँग सो आग्रह गरेकी थिइन् ।

विपिनको रिहाइका लागि नेपाल सरकारले आफ्नो कूटनीतिक प्रयासलाई जारी राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।