‘पार्टीको सदस्य भए कारबाही गर्ने’ रास्वपाको भनाइ
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपातमा आफ्ना पार्टी सदस्यको संलग्नता भएमा कारबाही गर्ने रास्वपाले जनाएको छ ।
बुधबार (२ माघ) काठमाडौं जिल्ला अदालत परिसरभित्र सहकारी बचत अपचलन विषयको बहस भएपश्चात अदातलबाट निस्किने क्रममा त्रिपाठीमाथि हातपात भएको थियो । उक्त घटनाप्रति ध्यानार्कषण जनाउँदै रास्वपाले प्रेस विज्ञप्ति जारी गरेको हो ।
रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले राजनीतिक दलको लागि यस किसिमको व्यवहार स्वीकार्य नभएको भन्दै यस विषयमा पार्टीको अनुशासन विभागको ध्यानार्कषण भएको जनाएका छन् ।
‘यस विषयमा पार्टीको अनुशासन विभागको ध्यानार्कषण भएको छ र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएका आवश्यक कारबाही हुनेछ’, उनले भनेका छन् ।
ज्ञातव्य छ, सहकारी पीडितको पक्षबाट पोखरा र काठमाडौं दुवै अदालतमा वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले बहस गरेका थिए । पीडितको पक्षमा सार्वजनिक बहसका क्रममा पनि मुखर रुपमा प्रस्तुत हुनेगरेका त्रिपाठीविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता एवम् रवि लामिछानेका समर्थकले गालीगलौज र धम्की दिँदै आएका थिए ।
रवि लामिछानेको थुनछेक बहस सकिएर आदेश पर्खिरहेको बेला अदालतभित्रबाट बाहिर निस्किएका त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमै रवि लामिछानेका समर्थकहरुले कुटपिट गरेका थिए ।
रास्वपाका कार्यकर्ता तथा लामिछानेका प्रशंसकहरुको यस रवैयालाई पञ्चायतकालीन मण्डलेको भन्दा निकृष्ट व्यवहार भनी टीकाटिप्पणी गरिएको छ ।
प्रतिक्रिया