२०८४ सम्म नै वर्तमान गठबन्धन कायम रहने निधिको जिकिर

२०८४ सम्म नै वर्तमान गठबन्धन कायम रहने निधिको जिकिर


  • विकास रौनियार, गजुरी (धादिङ)

नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले आगामी निर्वाचन २०८४ सम्म वर्तमान गठबन्धनकै सरकार कायम रहने जिकिर गरेका छन् । अबको बाँकी पूरै अवधि एमाले र कांग्रेस मिलेर जनताको काम गर्ने उनको दाबी छ ।

कांग्रेस-एमालेको गठबन्धन सरकारमा कुनै समस्या नरहेको उल्लेख गर्दै नेता निधिले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको कामप्रति नेपाली कांग्रेस असन्तुष्ट नरहेको पनि प्रष्ट पारे ।

वर्तमान सरकार निर्माणअघि नै आलोपालो सरकार चलाउने सहमति भएअनुरुप साढे दुई वर्ष केपी ओलीले नै सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुने उनको भनाइ थियो ।

धादिङको गजुरीमा पत्रकारहरुसँग कुरा गर्दै नेता निधिले नेपाली कांग्रेसको आगामी १५औं महाधिवेशनमा आफुसहित शशांक कोइराला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, पुर्णबहादुर खड्कालगायतका नेताहरुसंग छलफल गरि सभापतिमा एकमात्र उम्मेदवार खडा गरिने बताए । पार्टीको विधानअनुसार अब शेरबहादुर देउवा सभापतिको उम्मेदवार बन्न नमिल्ने भएकोले विचार मिल्ने आफूहरुमध्येबाटै सल्लाह गरेर एकजना मात्र उम्मेद्वार बन्नेमा उनले जोड दिए ।