- आरपी उपाध्याय, नवलपरासी
पश्चिम नवलपरासी नारायणी नदी वारिपारिको सुस्ता जोड्ने झोलुङ्गेपुलमा अव्यवस्थित तवरले मोटरसाइकलको आवगमन बढ्दा पुलको भविष्य जोखिममा पर्न थालेको छ।
नारायणी नदी पारिको सुस्तामा बसोबास गर्ने नेपालीहरुको कष्टकर दिनचर्यालाई मध्यनजर गर्दै नेपाल सरकारद्वारा झोलुङ्गे पुल निर्माण गरि उद्घाटन गरिएपछि पुलमा मोटरसाइकल रेस तथा ठूलो सङ्ख्याका नरनारीहरुबाट टिकटकको केन्द्रविन्दु बन्न थालेको छ, जसका कारण पुलको भविष्य नै खतरामय बन्न पुगेको हो ।
नेपालको सबैभन्दा लामो १५०० मिटर लामो पुल अहिले नेपालभन्दा भारततर्फका मानिसहरु एउटै मोटरसाइकलमा चार जनासम्म व्यक्ति बोकेर आवतजावत गर्ने र चाडपर्वको समयमा एकैपटक हजारौंको सङ्ख्याका आन्तरिक पर्यटक झोलुङ्गेपुलमै बसेर रमाइलो सहितको नाचगान गर्दा पुलको अवस्थाबारे नारायणी पारिको सुस्ता बासीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।
सोही सन्दर्भमा सुस्ताको झोलुङ्गे पुल संरक्षण तथा विकास समितिको एक प्रतिनिधिमण्डलले सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायको ध्यानाकर्षण गरेको छ।
प्रतिनिधिमण्डलमा औरन्जेब खाँ, सौकत अली छोटे खाँ र कमल हरिजन लगायतको प्रतिनिधिमण्डलले सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायको ध्यानाकर्षण गर्दै झोलुङ्गे पुलको चरम दुरुपयोग रोक्न आग्रह गरेको जानकारीमा आएको छ।
सोबारे अध्यक्ष उपाध्यायले झोलुङ्गे पुलबाट अत्यधिक गतिका साथ मोटरसाइकल आवतजावतमा रोक लगाइनुपर्छ, पुलमा मानिसको आवतजावत रोक्न नमिल्ने हुँदा त्यसलाई व्यवस्थित गर्नुपर्ने कार्यमा पालिका प्रतिबद्ध छ भन्दै पुल निर्माण गर्ने कम्पनीले पुल निर्माण गर्दाकै बखतमा मोटरसाइकल आवतजावतमा रोक लगाउन ब्रेकर बनाउनु पर्थ्यो, त्यो कार्य नहुदा अर्को समस्या आएको हो, त्यस्ता खाले भिडभाड रोक्न गाउँपालिकाको बैठक बसी आवश्यक प्रक्रिया अगाडि बढाउने बताउनुभएको जानकारी प्राप्त भएको छ।
यसअघि पनि झोलुङ्गे पुल संरक्षण समितिले जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीको ध्यानाकर्षण गराइए पनि पुर्ण संरक्षण सम्बन्धमा कुनै प्रक्रिया अगाडि नबढेको संरक्षण समितिले जानकारी दिएको छ।
प्रतिक्रिया