नेपाल कम्युनिष्ट पार्टी (एमाल)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अहिलेको सरकार सङ्कटमा पऱ्यो वा छिट्टै ढल्छ भन्ने कुरा विपक्षीलाई छटपटी मात्र भएको जिकिर गरेका छन् ।
नेकपा (एमाले) पर्वतले आइतबार (६ माघ)देखि सञ्चालन गरेको तीनदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकार २०८४ सालसम्मै टिक्ने दाबी गरे । सरकार ढुक्कसँग तीन वर्षसम्म चल्ने भयो भनेपछि सरकारबाहिर रहेका दललाई छटपटाहट भएको तर्क गर्दै उनले मुलुकमा देखिएको सङ्कट समाधान गर्नकै लागि दुई ठूला दल एकठाउँमा आएको अनि नेपाली कांग्रेस र एमालेबीच विशेष सहमति बनेको बताए । वर्तमान सरकार कुनै पनि सङ्कटमा नपर्ने उपमहासचिव ज्ञवालीको भनाइ थियो ।
सरकारलाई घेराबन्दीमा पार्नका लागि विभिन्न चलखेल सुरु भएको स्वीकार गर्दै उनले कुनै पनि हालतमा सरकार नडग्मडाउने उल्लेख गरे । कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी दल मात्र नभएर एकअर्काका सहयात्री पनि भएकाले मुलुक सञ्चालनका लागि दुवै दल गम्भीर रहेको उनले बताए ।
सरकारले संविधानअनुसार नै अध्यादेश ल्याएको तर्क गर्दै उपमहासचिव ज्ञवालीले मुलुकमा तत्काल देखिएका समस्या समाधान गर्न अध्यादेश ल्याएको र यसको सरकारको आयुसँग सम्बन्ध नरहेको स्पष्ट पारे । सरकार भ्रष्टाचारकाविरुद्ध निर्मम हिसाबले लागेको पनि उनले दाबी गरे । भ्रष्टाचार कुनै सिद्धान्त नभई मुलुकका लागि अभिसाप नै भएकाले जुनसुकै पार्टीसँग आबद्ध भएको व्यक्ति भए पनि कारबाहीको दायरमा ल्याएरै छाडिने उनको भनाइ थियो ।
प्रतिक्रिया