‘वर्तमान गठबन्धन सरकार परिवर्तन हुँदैन’ : कांग्रेस नेता कोइराला

‘वर्तमान गठबन्धन सरकार परिवर्तन हुँदैन’ : कांग्रेस नेता कोइराला


नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार कुनै हालतमा परिवर्तन नहुने बताएका छन् ।

आज (९ माघ) विराटनगरस्थित कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच सातबुँदे सहमतिका आधारमा निर्माण भएकाले सरकार परिवर्तन हुने कारण नरहेको प्रष्ट पारे ।

नेता कोइरालाले भने, ‘६ महिनाको अवधिमा कुनै सरकारले धेरै काम गर्न सक्दैन ।’ संविधान संशोधन, सुशासन र आर्थिक विकासका कुरालाई सरकारले गम्भीरतापूर्वक लिएर अगाडि बढ्नुपर्ने उनको सुझाव छ । उनले संविधान संशोधनको विषयलाई जनतामाझ लैजानुपर्नेमा जोड दिए ।

नेता कोइरालाले हालै आफ्नो बेलायत भ्रमणको क्रममा त्यहाँका उद्योगपतिहरूलाई नेपालमा संयुक्त उद्योग खोल्न आग्रह गरेको जानकारी दिँदै यसबाट नेपालको दुई छिमेकी मुलुकबाट हुने व्यापार घाटा कम हुने विश्वास व्यक्त गरे ।

‘कुनै पनि बहानामा सरकार ढल्दैन’

यसैबीच उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकार कुनै पनि बहानामा नढल्ने जिकिर गरेका छन् । नेकपा (एमाले) कास्कीद्वारा बुधबार पोखरामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकार टिकाउने मात्रै कर्तव्य नभई यसलाई सफल र परिणाममुखी बनाउनु आजको मुख्य जिम्मेवारी भएको बताए ।

मुलुकमा बढेको अस्थिरता र व्यथितिको अन्त्यगरी राष्ट्र र जनताका पक्षमा परिणाममुखी काम गर्ने लक्ष्यका सरकार अघि बढेको बताउँदै उनले विषम परिस्थितिमा नेपाली कांग्रेस र एमालेबीच सातबुँदे सहमतिका साथ गठबन्धन भएको स्पष्ट पारे ।

यो सरकारप्रति नागरिकले गरेको आशा र भरोसालाई छिटोछरितो पूरा गर्न अध्यादेश ल्याएको बताउँदै उनले संसदबाट अध्यादेश पारित हुने विश्वास व्यक्त गरे । सरकार सुशासन र विकासप्रति प्रतिबद्ध भएको बताउँदै अर्थमन्त्री पौडेलले जनताका अपेक्षालाई सम्बोधन गर्नेगरी सरकार अघि बढिरहेको बताए ।

एमालेप्रति जनताको बढेको विश्वासलाई आत्मसात् गर्दै मुलुकको निर्णायक शक्ति बनाउने अभियानमा जुट्न कार्यकर्तालाई उनले निर्देशन दिए । उपाध्यक्ष पौडेलले पार्टीको नीति र नेतृत्वप्रति अफवा पैmलाउनेविरूद्धमा सङ्गठित भएर प्रतीकार गर्न आग्रह गरे ।

सो अवसरमा एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले राष्ट्रिय एकता, स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षाका लागि यो सरकार चट्टान भएर अघि बढ्नुपर्ने धारणा राखे ।

तस्बिर : रासस