धर्म र पर्यटनलाई जोड्दै किराञ्चोक रणकालिका मन्दिर

धर्म र पर्यटनलाई जोड्दै किराञ्चोक रणकालिका मन्दिर


  • विकाश रौनियार, गजुरी (धादिङ)

रणकालीका मन्दिर धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ मा रहेको प्रसिद्ध किराञ्चोक भगवती (रणकालीका) मन्दिर पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास भैरहेको छ । गल्छी गाउँपालिका र स्थानीय करणकालीका मन्दिर र आसपासको क्षेत्रलाई धार्मिक तथा ऐतिहासिक पर्यटकीय गनतव्यका रुपमा विकास गर्न लागि परेका छन् । हालै मन्दिरको पुनर्निर्माणपछि पर्यटकहरुको चहलपहल पनि बाक्लिन थालेको छ, तर सडकको अवस्था अझै राम्रो नभएका कारण मन्दिरमा पुग्न भने अझै असहज छ ।

शान्त र चारैतर्फ हरियाली वातावरणमा अवस्थित यो धादिङको गल्छी गाउँपालिका-४ किराञ्चोकमा रहेको किराञ्चोक भगवती (रणकालीका मन्दिर) निकै मनमोहक र आकर्षक स्थानमा अवस्थित भएर पनि यो मन्दिरलाई अझै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिएको छैन । १२ सय वर्षभन्दा माथि समयको एतिहासिक महत्व बोकेको यो मन्दिरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न अहिले गाउँपालिका र स्थानीय मिलेर लागिपरेका छन् । उनीहरु मन्दिरको पुर्ननिर्माणसँगै प्रचारप्रसारमा जुटेका छन् । तीन सय वर्षअघि पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्न आएर आशीर्वाद लिएर गएपछि विजयी भएको भन्ने मान्यता छ । यहाँ भाकल गरेको पूरा हुने भएपछि टाढा टाढाबाट मानिसहरु यहाँ आउने गरेको स्थानीय कमलकान्त अधिकारी बताउँछन् ।

१२ सय वर्षअघि गाउँमा अनिष्ट हुनथालेपछि गाउँलेहरु मिलेर समस्या पहिचान गर्दै जाँदा कालिका भगवतीको मूर्ती फेला पारेको र त्यसपछि मन्दिर स्थापना गरी पूजाअर्चना गर्न थालेपछि राम्रो भएको किम्वदन्ती रहेको स्थानीय बताउँछन् । धार्मिक तथा ऐतिहासिक स्थल किराञ्चोकको प्रचारप्रसारमा पछिल्लो समय स्थानीय लागिपरेका छन् । मन्दिर व्यवस्थापनि समितिले यहाँ धारा, शौचालय, निःशुल्क इन्टरनेटको व्यवस्था मिलाएको छ ।

अझै २ किलामिटर जस्तो सडक पक्की गरेमा बाह्रै महिना यातायात सञ्चालन हुन सक्ने र त्यसले अझै यहाँ पर्यटकको चहलपहल बढ्ने अपेक्षा मन्दिर व्यवस्थापन समितिका शंकरबहादुर भण्डारीको भनाइ छ ।

रणकालीका मन्दिर संरक्षण समिति मन्दिरको पर्यटकीय गनतव्यका लागि अझै तीनै सरकार मिलेर काम गर्नुपर्ने सरोकारवालाको माग छ । मन्दिरको पुनर्निर्माणसँगै आवश्यक पूर्वाधार बनेसँगै यहाँ टाढाटाढाबाट आन्तरिक तथा व्याह्य पर्यटकहरु यहाँ पुग्ने गरेका छन् । अझै प्रचारप्रसारमा ध्यान दिन पर्यटकहरुको सुझाव छ ।

किरात चोकबाट अपभ्रंश हुँदै किराञ्चोक रहन गएको भनाइ छ । पछि किराञ्चोके कालिका हुँदै रणकालीका रहन गएको स्थानीय बताउँछन् । यहाँ धादिङसहित चितवन, गोरखा, तनहुँ, कास्की, मकवानपुर, काठमाडौं, नवलपरासी, नुवाकोट, बारा, पर्सालगायतका स्थानबाट पर्यटकहरु पुग्ने गरेका छन् ।

वार्षिक २० हजारको संख्यामा पर्यटकहरु यहाँ आउने गरेका छन् । अझै यसको प्रचारप्रचार तीव्र हुन सकेमा दशैभरबाट मात्रै नभएर अन्य देशहरुबाट पनि पर्यटक पुग्ने थिए ।