जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक वीरगञ्जमा सुरु भएको छ । वीरगञ्जस्थित पुजन होटलमा केन्द्रीय अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा केन्द्रीय समितिको बैठक प्रारम्भ भएको सो पार्टीका उप-महासचिव एवम् संघीय खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिएका छन् ।
बैठकमा विभिन्न राजनीतिक, सङ्गठनात्मक तथा समसामयिक विषयहरूमा गहन छलफल गर्नुका साथै पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा विशेष ध्यान दिइने मन्त्री यादवको भनाइ छ ।
आज (१२ माघ) को बैठकमा केन्द्रीय अध्यक्ष अशोककुमार राई, संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ, सहअध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष तथा मन्त्री नवलकिशोर साह सुडी, खानेपानीमन्त्री प्रदीप यादव, उपाध्यक्ष सांसद सुशीला श्रेष्ठ, उपाध्यक्ष रणध्वज कन्दङवा लिम्बु, महासचिव मोहम्मद इश्तियाक राई, सचिव सांसद वीरेन्द्र महतो, कोषाध्यक्ष सांसद रञ्जु झाको सहभागिता रहेको बताइएको छ ।
उक्त बैठक आज र भोली गरी दुई दिनसम्म सञ्चालन हुने जसपाले जनाएको छ ।
प्रतिक्रिया