नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दल कार्यसमितिको बैठकले संसद्को आउँदो अधिवेशनमा पार्टी एउटै आवाज र एकढिका भएर प्रस्तुत गर्ने निर्णय गरेको छ ।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा शनिबार (१२ माघ) भएको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र मन्त्रीलाई आगामी दिनमा संसदभित्र होस् वा बाहिर एकढिका भएर प्रस्तुत हुन निर्देशन दिएको संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिएका छन् ।
बैठकमा गृहमन्त्री रमेश लेखकले लामो समयदेखि मुलुकको आर्थिक अवस्था शिथिलतातर्फ उन्मुख भएकाले अर्थतन्त्र चलायमान बनाउनका लागि अध्यादेशमार्फत केही कानुन संशोधन गर्नुपरेको बताए । उनले वर्तमान सरकारका कामकारबाही र प्राथमिकताबारे पनि बैठकमा जानकारी गराएका थिए ।
गृहमन्त्री लेखकले संविधान संशोधनका दलका तर्फबाट गठित सदस्यबारे तत्कालै निर्णय गरेर अघि बढाइने जानकारी गराउँदै अध्यादेशमा कुनै संशोधन गर्नुपर्नेमा भएमा प्रतिस्थापन विधेयकका रुपमा सदनमा टेबुल हुने समयमा संशोधन गर्न सकिने स्पष्ट पारे ।
संविधान कार्यान्वयनका लागि अध्यादेशबाटै भए पनि कानुन संशोधन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गर्न सुझाव दिए पनि पदाधिकारीले पार्टीका तर्फबाट वर्तमान सरकारमा सहभागी मन्त्रीहरुको कार्यसम्पादनप्रति कुनै टिप्पणी नभएको प्रमुख सचेतक घिमिरेले बताए ।
त्यसअवसरमा प्रमुख सचेतक घिमिरेले संसद् आगामी अधिवेशनको तयारी, विधेयक सङ्ख्या, अवस्था र पारित गर्न सकिने विधेयकबारे जानकारी गराएका थिए । संसदीय दलको आइतबार र सोमबार बस्ने बैठकमा पार्टीका आन्तरिक जीवनमा देखिएका र सुधार गर्नुपर्ने विषवस्तु भए सघन रुपमा सांसदका बीचमा छलफल गरी निष्कर्षमा पुऱ्याउने विषयमा पनि सहमति जनाइएको थियो ।
प्रमुख सचेतक घिमिरेले भने, ‘विधेयकलाई संसदमै पनि टेबल गर्न सकिन्थ्यो, त्यसो गर्दा लामो समय लाग्ने भएकाले तत्काल केही काम गरी लगानीको वातावरणका सृजनाका लागि अध्यादेश ल्याइएको र उक्त विषयमा पदाधिकारीका बीचमा समान बुझाइ र साझा धारणा रह्यो ।’
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले मन्त्री र संविधान संशोधनका गठित संयन्त्रले बैठकमा अध्यादेश र समग्र सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी गराएको बताए । उनले भने, ‘संसद्मा विचाराधीन विधेयकलाई आउँदो अधिवेशनमा तदारुकताका साथ पारित गरी सम्बन्धित समितिमा समयमै काम सम्पन्न गर्ने विषयमा पनि जानकारी दिइयो ।’
मन्त्रीहरुको ‘ब्रिफ्रिङ’मा पदाधिकारीहरुबाट राय, सुझाव र सल्लाह दिने उद्देश्यले बैठक आयोजना गरिएको प्रवक्ता डा. महतको भनाइ थियो । एक प्रश्नको जवाफमा संविधान संशोधनका विषयमा गम्भीर गृहकार्य थालनी गर्ने र त्यसमा विषयवस्तु के हुन सक्छ भनी दलभित्र पनि बेग्लै संयन्त्र पनि बन्ने सक्नेबारे गृहमन्त्री लेखकले बैठकमा जानकारी गराउनुभएको प्रवक्ता महतले बताए ।
बैठकमा मन्त्रीहरुले आफ्नो सम्पूर्ण क्षमता, योग्यता र क्रियाशीलता लगाएर भइरहेको पहलबारे जानकारी तथा पदाधिकारीले सरकारमा सशक्त उपस्थितिबारे सुझाव र सल्लाह दिएको बताउँदै प्रवक्ता डा. महतले भने, ‘समग्रमा मन्त्रीहरुले राम्रै काम गरिरहनुभएको छ, तथापि हाम्रा आवश्यकता धेरै छन्, काम गर्नुपर्ने क्षेत्र ठूलो छ ।’
photo: rss
प्रतिक्रिया