नेपाली कांग्रेस संसदीय दलको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको छ । शनिबारदेखि सुरु भएको दल कार्यसमिति, पदाधिकारी र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको छलफल सकिएर आइतबार (१३ माघ) सांसदहरूसँग छलफल गरिएको हो ।
बैठकमा महामन्त्री गगनकुमार थापाले कांग्रेस र नेकपा (एमाले) ले बनाएको संयन्त्रमा भएका छलफल, संविधान संशोधनका सम्बन्धमा भइरहेका प्रयासलगायत विषयमा जानकारी गरए भने गृहमन्त्री रमेश लेखकले सरकारले गरिरहेका काम र हालै जारी भएका पाँच वटा अध्यादेशबारे जानकारी गराएका थिए ।
बैठकमा विज्ञहरू प्रताप पौडेल, सेमन्त दाहाल र अधिवक्ता अरुण पौडेलले अध्यादेशलगायत विषयमा प्रशिक्षण दिएका थिए ।
पार्टीका मुख्य सचेतक श्यामकुमार घिमिरेले विषय प्रवेश गराएका थिए । सोमबारको बैठकमा पार्टीबाट सहभागी १० मन्त्री र दुई राज्यमन्त्रीसँग सांसदले सवाल जवाफ गर्न पाउने गरी कार्यतालिका बनेको जानकारी पनि उनले गराए ।
सोमबारको बैठकमा सांसदहरूले बोलेपछि पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री र राज्यमन्त्रीले जवाफ दिने कार्यतालिका रहेको छ । त्यसपछि पार्टीका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको मुख्य सचेतक घिमिरेले जानकारी दिए । पार्टी सभापति शेरबहादुर देउवालगायतले सम्बोधन गरेसँगै दलको बैठकका निर्णय पनि सार्वजनिक गरिने जनाइएको छ ।
photo: rss
प्रतिक्रिया