‘विकास निर्माणका काममा ‘ब्रेक-थ्रु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई पनि हामी आएपछि अगाडि बढाएका छौँ’
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट संसद् मुक्त भएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको पाँचौँ अधिवेशन प्रारम्भका अवसरमा आज (१८ माघ) बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुुभयो, ‘गएको ६ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहोऱ्याउनु नपरेको एउटा सुखद पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु, सत्ताको नाउँमा प्वाल पारेर फुत्त अर्कै डुङ्गा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता-पत्ता खेलिरहने विद्रुप स्थितिमा अब रोक लागेको छ ।’
प्रधानमन्त्री ओलीले जनताको भरोसा र संसद्को दृढताले भरिएको आत्मविश्वास लिएर आफू सदनमा उपस्थित भएको उल्लेख गर्दै विकास निर्माणमा थालिएका कामको प्रगति भइरहेको बताउनुभयो । मुलुकलाई समृद्ध बनाउन थालिएका विकास निर्माणका काम सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताउँदै उहाँले महत्वपूर्ण आयोजनाको प्रगति प्रस्तुत गर्नुभयो ।
प्रधानमन्त्री ओलीले हालै सिद्धबाबा सुुरुङमार्गको ‘ब्रेक थ्रु’ हुनु एक उपलब्धि भएको जिकिर गर्दै सडक यात्राको असुरक्षा घटाउन र पूर्वाधारलाई दिगो बनाउन सुरुङमार्गको योजना अगाडि बढिरहेको बताउनुभयो । उहाँले काठमाडौं-तराई मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरको धेद्रे सुरुङ तथा चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको आयोजना जोगवनी-किमाथाङ्का सडकमार्गसमेत केही दिनअघि मात्रै ‘ब्रेक थ्रु’ भएको अवगत गराउनुभयो ।
प्रधानमन्त्री ओलीले ठेकेदार कम्पनीले काम छोडेपछि बुटवल-नारायणगढ खण्डको सडक निर्माणको काम द्रुतगतिमा अघि बढिरहेको उल्लेख गर्नुका साथै मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरको क्रिकेट खेल मैदानलाई रङ्गशाला बनाउने र त्यसमा फ्लडलाइट जोड्ने निर्णयबमोजिम बोलपत्र आह्वान भई तोकिएको दिनभित्रै त्यसलाई सम्पन्न गर्नेगरी काम अघि बढिरहेको जानकारी दिनुभयो ।
‘सुर्खेतमा आधुनिक कर्णाली रङ्गशाला तयार भएको छ । विकास निर्माणका काममा ‘ब्रेक-थ्रु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई पनि हामी आएपछि अगाडि बढाएका छौँ’, प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भन्नुभयो ।
प्रतिक्रिया