प्रयागराज महाकुम्भबाट फर्किंदै गरेका पाँच नेपालीको दुर्घटनामा परी मृत्यु

प्रयागराज महाकुम्भबाट फर्किंदै गरेका पाँच नेपालीको दुर्घटनामा परी मृत्यु


भारत, उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्थान गरेर फर्किरहेका पाँच नेपालीको भारतमा दुर्घटनामा परी मृत्यु भएको छ ।

त्रिवेणी स्नान गरेर घर फर्किँदै गरेका पाँच जनाको महोत्तरीसँगै जोडिएको भारतको मधुवनीमा शनिबार (१९ माघ) दिउँसो स्कारर्पियो दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ बस्ने ६० वर्षीय बालकृष्ण झा, उनकी पत्नी ५० वर्षीया इन्दु देवी, जिल्लाको मनरासिश्वा नगरपालिका–२ बस्ने ५० वर्षीया मनतारन देवी र धनुषा जिल्लाको गङ्गुली बस्ने ३० वर्षीया अर्चना झा रहेकी छन् । गाडी चालक सिरहा घर भएको नाम, थर नखुलेका एक व्यक्ति रहेका जलेश्वर नगरपालिका–७ का वडा सदस्य सुल्तान कवारीले जानकारी दिए ।

सोही घटनामा परी मृतक बालकृष्णका भाञ्जा ३० वर्षीय मनोहर ठाकुर, भाञ्जी २५ वर्षीया कामिनी झा, बहिनी ५० वर्षीय जगतारण देवी र नातिनी सात वर्षीया सृष्टि झा गम्भीर घाइते भएका छन् भने उनीहरूको मुजफ्फरपुरमै उपचार भइरहेको छ । वडा सदस्य कवारीका अनुसार उनीहरु सबैजना एकैपरिवारका सदस्य हुन् ।

तीर्थयात्रीहरु सवार बी आर३२पी ए ४६६१ नम्बरको गाडी मुजफ्फपुरको सदरथाना क्षेत्रको मादापुर सडकमा रहेको मधुवनी मन्दिरनजिकै दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी उपरीक्षक सन्तुलालप्रसाद जैसवारले पाँच जनाको मृत्यु भएको र चार जना घाइते भएको खबर आए पनि विस्तृत विवरण प्राप्त नभएको बताए ।