‘बेटिङ एप्लिकेसन’मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अवैध अनलाइन जुवा (सट्टेबाजी) लगायतमा रु तीन अर्ब बढी करोबारमा संलग्न २४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा १० भारतीय र १४ नेपाली नागरिक रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
पक्राउ पर्ने नेपालीहरूमा प्यूठानका टङ्कबहादुर पछाई, रवि विष्ट, लक्ष्मण विष्ट, अविनाश जिसी, हरिबहादुर जिसी, समीर खड्का, विक्रम पछाई, अशोक जिसी, सुजन जिसी र गोपाल बिष्ट, डोटीका तेज बोगटी, सुर्खेतका भीष्म वली र हेमन्त लोहनी तथा दार्चुलाका हेमन्त धामी रहेका छन् । यस्तै, पक्राउ पर्ने भारतीय नागरिकमा अजितकुमार, मुकेश मण्डल, मनोज कुमार, सुमित खत्री, प्रबात कुमार, ओमप्रकाश खत्री, रविप्रकाश विश्वकर्मा, रवि अभिषेक ओझा, शिवम पाण्डेय र मनोजप्रकार कुमार छन् ।
उनीहरूले आठभन्दा बढी ‘बेटिङ साइट’को प्रयोग गरी भारतीय बेटिङ खेल्ने ‘एजेन्ट’हरूसँग सामाजिक सञ्जालबाट सम्पर्क गरी ‘अफ लाइन’ अवैध खेल खेलाएको पाइएको छ । यसरी हारजित भएको रकम भारतको विभिन्न बैङ्क खातामै जम्मा गर्ने र निकाल्ने गरी अनलाइन जुवा खेल्ने खेलाउने कार्य भइरहेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
एस्पी आचार्यका अनुसार ललितपुरको सानेपास्थित दुई घर भाडामा लिएर व्यावसायिक तवरले अनलाइन जुवा खेल्ने र खेलाउने कार्य गरेको पाइएको छ । पक्राउपछि उनीहरूलाई थप कारबाहीका लागि आइतबार (२० माघ) जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाइएको छ ।
बरामद गरिएका ल्यापटप तथा मोबाइलको प्रारम्भिक अनुसन्धान गर्दा उनीहरूले रु तीन अर्ब चार करोड ७३ लाख ५६ हजार बराबरको अनलाइन जुवा कारोबार गरेको देखिएको प्रहरी उपरीक्षक आचार्यको भनाइ छ । पक्राउ परेकाहरूका साथबाट विभिन्न मोडेलका ५७ थान मोबाइल, १३ थान ल्यापटप, ३४ थान बैङ्कको एटिएम कार्ड, ८८ थान सिमर्कार्ड, १२ थान चेकबुक, आठ थान भारतीय आधारकार्ड र ६ थान राहदानी बरामद गरिएको छ भने उनीहरूमाथि मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद–५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमका कसुरमा आवश्यक अनुसन्धान थालिएको छ ।
प्रतिक्रिया