- विशेष प्रतिनिधि, युरोप
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी च्याप्टरले फ्राङ्कफर्टमा एक साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । अनेसास जर्मनी च्याप्टरकी अध्यक्ष सुजाता घिमिरे राउतको सभापतित्वमा वसन्त पञ्चमीको अवसर पारेर गरिएको भव्य साहित्यिक समारोहको शुरुवात सरास्वती देवीको पुजाबाट गरिएको थियो । त्यसपछि उक्त समारोह नेपाली राष्ट्रिय गान हुँदै अघि बढेको थियो ।
नेपाली राजदुत डा. शैल रुपाखेतीको प्रमुख आतिथ्यतामा गत आइतबार (२० माघ) अनेसास जर्मनीले आयोजना गरेको उक्त समारोहमा विशेष वक्ताका रूपमा एनआरएनका संस्थापक, अनेसासका अन्तराष्ट्रिय सल्लाहकार तथा नियात्राकार जीवा लामिछाने तथा अनेसासका केन्द्रिय उपाध्यक्ष डिल्ली अम्माईको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा नेपाली साहित्य र समुदायलाई योगदान पुऱ्याएबापत अवैतनिक नेपाली महावाणिज्यदूत रामप्रताप थापाले समेत अतिथि वक्ताको रुपमा आफ्नो प्रेरणादायी मन्तब्य दिएका थिए ।
सैयौंको संख्यामा उपस्थित नेपाली साहित्यप्रेमीहरूका बीच राजदुत डा. रुपाखेतीले नेपाली राष्ट्रभाषा र साहित्यको लागि वैश्विक अभियानमा होमिएको अनेसाससंग दुतावास जोडिएर काम गर्न चाहेको बताए । ‘यो अभियान हामी सबैको पहिचान जोगाउने आन्दोलन भएकोले सबै नेपालीले भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा निस्वार्थ रुपले काम गरिरहेको अनेसासलाई सबैले साथ दिनुपर्ने’ आशयको मन्तव्य दिएका थिए ।
त्यस्तै, अनेसासका केन्द्रिय सल्लाहकार जीवा लामिछानेले अनेसासमा एनआरएनए अभियानको जस्तो दुखद दिन आउन दिन नहुने जिकिर गर्दै संसारभरी फैलिएको अनेसासले नेपाली मुल्यको रक्षा गर्ने लामो बाटो रोजेमा सबै नेपालीले यसका पथिकहरुलाई साथ दिनुपर्ने बताए । साहित्यसँग भाषा र संस्कृति जोडिएकोले यसलाई नेपाली सभ्यताको मूल मर्म ठानेर आफु पनि लागिरहेको बताए । त्यस्तै, अतिथि वक्ता रामप्रताप थापाले पुरानो कुरा सम्झदै आफ्नो मन र कर्मभाषा साहित्यको उत्थानमा उत्प्रेरित भइरहने धारणा राखे ।
अनेसास केन्द्रिय उपाध्यक्ष डिल्ली अम्माइले जुनको २३, २४ र २५ तारिक बेल्जियममा हुँदै गरेको अनेसासको विश्व च्याप्टर सम्मेलनमा संसारभरिका सबै च्याप्टरहरुले सहभागिता जनाइ सहयोग गर्नुपर्ने कुरा राख्दै जर्मनीको साहित्यिक समारोहमा निमन्त्रणा दिने च्याप्टरकी अध्यक्ष सुजाता घिमिरे राउत तथा उनको टिमलाई धन्यवाद दिए । उनले अनेसास चट्टान जस्तै बलियो रहेकोले यो कतै टुक्रिन्छ कि भनेर आशंका गर्नुपर्ने अवस्था नरहेको तर्क राखेका थिए ।
अनेसासमा बोर्ड अफ ट्रस्टी नामक व्यवस्थापकीय समिति छ । यसको मुख्य कार्यअन्तर्गत कार्य समितिका आन्तरिक हलचलहरुको सकारात्मक नियन्त्रण र ब्यवस्थापन पनि पर्दछ । संगठनमा विधानको पालना गराउने र अनुशासन कायम राख्ने कार्यमा पनि बिओटीको महत्वपुर्ण भूमिका हुन्छ। यसको अर्को काम संगठनको आन्तरिक सन्तुलनलाई कायम गर्ने पनि हो । त्यसैले अनेसासमा अराजकता प्रवृतिलाई छुट छैन भन्नु हुँदै सबैले केन्द्रको निर्देशन र विधानको पालना गर्नुपर्नेु धारणा राखे ।
बेल्जियमका महासचिव गोपाल दाहालले बेल्जियममा जुन २३, २४ र २५ तारिखमा हुँदैगरेको अनेसासको विश्व च्याप्टर सम्मेलनबारे आधिकारिक जानकारी दिए । त्यसको साथै उनले अनेसासको विश्व सम्मेलनमा सहभागिताको लागि जर्मनी लगायत सबै च्याप्टरहरुलाई औपचारिक आमन्त्रण पनि गरे ।
उक्त समारोहको प्रमुख संयोजन प्रतिक्षा पोख्रेलले गरेका थिए भने खण्ड खण्ड गरेर खड्ग न्यौपाने, गौरव तिवारी र सीमा ढुंगानाद्वारा कार्यक्रम सञ्चालन भएको थियो । समारोहमा बेल्जियम लगायतका छिमेकी मुलुकहरूबाट समेत साहित्यकारहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा बेल्जियमबाट साहित्यकारहरू पञ्चम अधिकारी, ब्रम्हदत्त वाग्ले, अनेसास बेल्जियम च्याप्टर महासचिव गोपाल दाहाल र जर्मनीबाट सागर फुयाल, लिलाराज कार्की, शिशिर परियार, मनोजकुमार यादव, सौरभ कर्ण, दिनेश प्रधान, यज्ञ अधिकारी, कृतन गौतम, सुमन सिम्खडा, हरि हुमागाईं, अजित खड्का, इनेशराज सुवेदी, बाबुराम भण्डारी, मनोजबाबु पनेरु, कपिल अर्याल, लुकास लुईंटेल, रविकिरण काफ्ले, सञ्जय पौडेल, विमल रानाभाट लगायत दर्जनौं कवि तथा साहित्यकारहरूले आफ्ना सारहरुसहित रचना वाचन गरेका थिए ।
समारोहमा साहित्यकार कपिल अर्यालबाट पुस्तक चर्चा तथा सुवास सापकोटाबाट नेपाली साहित्य केन्द्रित हाजिरी जवाफ प्रतियोगिताको संयोजन भएको थियो। कार्यक्रमको सहजीकरण महासचिव रमण जैसेरी, एलिजा हुमागाईं, गणेश गजुरेल र निरज सोडारीले गरेका थिए ।
लामो समयदेखि जर्मनीमा रही नेपाली साहित्य र समुदायलाई योगदान पुऱ्याएबापत अवैतनिक नेपाली महावाणिज्यदूत रामप्रताप थापालाई विशेष सम्मान प्रदान गरिएको थियो । साथै कार्यक्रमलाई महत्वपूर्ण सहयोग पुऱ्याउने होटल ट्रिप इनका तर्फबाट ूएनआरएनएू का पूर्वअध्यक्ष कुमार पन्तको टिमलाई कदरपत्र दिएर सम्मान गरिएको थियो भने राजदूत डा. रुपाखेतीबाट विशेष सहयोगी तथा रचना वाचन गर्ने सहभागीहरूलाई प्रमाणपत्र वितरण भएको थियो। उक्त कार्यक्रमको आयोजनाबाट प्रवासमा नेपाली साहित्यको उन्नयनमा महत्वपूर्ण योगदान पुगेको विश्वास आयोजक र सहभागीहरूले व्यक्त गरेका थिए। समारोहमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचना ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे…’ मा स्थानीय कलाकारहरुले सामूहिक साङ्गीतिक प्रस्तुति गरेका थिए।
त्यस्तै केही खण्डमा विभाजन गरेर सम्पन्न गरेको साहित्यिक समारोहमा चम्पा साहित्त्यले साहित्यप्रेमीहरुको भावनामा एक खालको छाप छोड्न सफल रह्यो भने नियात्रासम्बन्धी सुवास सापकोटा र साहित्यकार जीवा लामिछानेबीचको छोटो वार्तालाप पनि उत्कृष्ट रह्यो। कवि ब्रह्मदत्त वाग्लेको नेपाली डायस्पोराको मर्म समेटेर गाइएको संगीत सहितको मिठो कविताले उपस्थितहरुको मन छोयो।
अन्त्यमा, भब्य कार्यक्रम सम्पन गर्न सफल भएकी अनेसास जर्मनी च्याप्टरकी अध्यक्ष सुजाता घिमिरे राउतले कार्यक्रम सफल बनाउन खट्ने सम्पूर्ण टिमका सहकर्मीहरुलाई विशेष धन्यवाद दिंदै सम्पूर्ण अग्रज तथा अथितिहरुलाई समेत सहभागिता र सहयोगको लागि कृतज्ञता ब्यक्त गरेकी थिइन् ।
प्रतिक्रिया