स्वास्थ्यमन्त्री पौडेलको उद्घोष : ‘औषधि छैन, उपकरण बिग्रियो..’ भन्नेलाई अब कारबाही गरिने !

स्वास्थ्यमन्त्री पौडेलको उद्घोष : ‘औषधि छैन, उपकरण बिग्रियो..’ भन्नेलाई अब कारबाही गरिने !


स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले बिरामीलाई औषधि छैन भनेर बाहिर किन्न पठाए कारबाही गर्ने उद्घोष गरेका छन् । विश्व क्यान्सर दिवसको अवसरमा मंगलबार भक्तपुर क्यान्सर अस्पतालमा आयोजित ‘रिपोर्टिङ भेन्डिङ मेसिन’ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘कतिपय अस्पतालका फार्मेसीले नियतवश नै बिरामीलाई औषधि छैन भन्ने गरेको सुनिएको छ, औषधि छैन भन्ने फार्मेसी किन राख्ने ? त्यस्ता कार्य नियतवश हुन्छन्, त्यसैले अबदेखि फार्मेसीले बिरामीलाई औषधि छैन भन्न पाइँदैन, त्यो गैरकानुनी हुन्छ । कारबाहीको भागिदार बन्छ ।’

सरकारी अस्पतालमा भएका उपकरण बिग्रियो भनेर हप्तौँसम्म नबनाउने र बिरामीलाई बाहिर जान बाध्य पार्ने कार्य पनि अब रोक्नुपर्ने बताउँदै उनले अस्पतालका उपकरण बिग्रिए तत्कालै अस्पतालमै अर्को विकल्प दिनुपर्ने बताए । उनले अस्पतालका उपकरण नबिग्रिकन बिग्रियो भन्ने अवस्थाको पनि अब अन्त्य हुनुपर्नेमा जोड दिए ।

स्वास्थ्यबिमालाई एकीकृत प्रणालीबाट मात्रै लागू गर्नुपर्ने धारणा अघिसार्दै मन्त्री पौडेलले भने, ‘सबै अस्पतालमा बिमा काउण्टर राख्न मैले भनेको छु, बिमामा झुटो दाबी रोक्नु आजको आवश्यकता हो, अस्पतालले नगदमा उपचार गराए रू ५० रूपैयाँ लिने तर त्यही सेवा बिमाबाट भए ८० रूपैया लगाउने, नगद गरे एक बेडको चार्ज एक हजार लगाउने तर बिमाबाट गए त्यही सेवा दुई हजार लाग्ने यस्ता गलत प्रवृत्ति अब रोकिनुपर्छ ।’

मन्त्री पौडेलले नागरिक योदानमा आधारित बिमा प्रणाली लागू गरी स्वास्थ्य बिमालाई रू एक लाखबाट बढाएर रू पाँच लाख बनाउने तयारी गरेको जानकारी दिए । स्वास्थ्य बिमा सुधारसम्बन्धी कार्ययोजना आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको उल्लेख गर्दै उनले यसलाई पारित गरेर बिमालाई अनिवार्य र व्यवस्थित गरिने बताए ।

नेपालमा हरेक वर्ष करिब २२ हजार जनालाई क्यान्सर रोग लाग्ने र १४ हजार जनाको बर्सेनि क्यान्सर रोगका कारण मृत्यु हुने तथ्याङ्क रहेको भन्दै उनले यस्तो अवस्थालाई नियन्त्रण गर्न रोगै लाग्न नदिने गरी जनचेताना फैलाउनु आवश्यक रहेको तर्क गरे ।

photo: rss