लामिछानेसहित १५ जनाविरूद्ध चितवनमा ठगी र सङ्गठित अपराध मुद्दा दर्ता

लामिछानेसहित १५ जनाविरूद्ध चितवनमा ठगी र सङ्गठित अपराध मुद्दा दर्ता


साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा रास्वपा सभापति रवि लामिछानेसहित १५ जनाविरूद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । व्यक्तिबाहेक ६ वटा संस्थाविरूद्ध पनि मंगलबार (२२ माघ) अदालतमा मुद्दा दर्ता गरिएको छ ।

सो मुद्दाका् प्रतिवादीमा लामिछानेका अलावा छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरूङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअली सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरूङ र प्रगति श्रेष्ठ रहेको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिएका छन् ।

यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । त्यो समयमा लामिछाने नाम किटान गरिएको थिएन । मंगलबार दर्ता भएको मुद्दामा लामिछानेसहित १५ जना प्रतिवादी छन् भने गोर्खा मिडिया प्रा.लि., साहरा बचतसहित ६ वटा संस्था रहेका हुन् ।

साहारा सहकारीबाट रकम गएका पाँच कम्पनीमा गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेसनल प्रालि, जीवि ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि र नेचर नेष्ट प्रालि रहेका विश्वकर्माले जानकारी दिए । मुद्दा दायर भएका कूल ३२ जनामध्ये १२ जनाविरूद्ध ठगी र सङ्गठित अपराधमा र २० जनालाई ठगीमा मुद्दा दर्ता गरिएको हो । सङ्गठित अपराध र ठगीमा प्रतिवादी कायम भएकाहरू जीवी राई भन्ने जीतेन्द्रबाबु राई, हेमन्त अधिकारी, सागर केसी, आशिष आनन्द, अनन्तबाबु राई, भूपेन्द्र्र राई, देवेन्द्रबहादुर राई, दिनेश रोक्का, कुमार रम्तेल, छविलाल जोशी, दीपक लामा र नेत्र बास्तोला रहेका छन् ।

यसअघि असोज ८ मा १७ जनाविरूद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सरकारी वकिल कार्यालयले जीवि राईसहित कुमार रम्तेल, सागर केसी, वीरबहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणि भट्टराई, भूपेन्द्र राई, अनन्तबाबु राई, आशिष आनन्द, देवेन्द्रबाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरूङ, तीर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । अघिल्लो पटक दर्ता भएका १७ जनाको पनि बयान लिइएको छैन ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनले दायर गरेको पूरक अभियोग मंगलबार दर्ता गरिएको हो । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी भएको भनिएको जम्मा रकम रू ५२ करोड ३२ लाख ८५ हजार ३०८ दशमलव ४७ रहेको छ । हाल जोहरी परेको रकम रू ३८ करोड नौ लाख ७९ हजार एक सय ७७ क्षतिपूर्ति भराउन मागदाबी गरिएको बताइएको छ । विश्वकर्माले जानकारी दिएअनुसार रू ५२ करोडमध्ये अहिले अभियोगमा देखिएको र बाँकी थप रू १४ करोड २३ लाख ६ हजार एक सय ३१ दशमलव ४७ जाहेरी परेका बखत पुनः पूरक अभियोग जाहेर हुनेगरी अभियोग दाबी गरिएको छ ।

बचतकर्तालाई भराउनुपर्ने क्षतिपूर्ति रकम विभिन्न ६ वटा कम्पनीबाट साहारा चितवन बहुउद्देश्यीय सहकारीलाई दिलाउने भराउनुपर्ने रकम रू ४३ करोड ३२ लाख सात हजार ९२८ दशमलव ७५ रहेको छ । व्यक्तिगत रूपमा जीवि राईबाट रू ४१ लाख ३० हजार, असरफअली सिद्दिकीबाट रू तीन करोड २० लाख र महेन्द्र भोटे भन्ने शिवबहादुर गुरूङबाट रू दुई करोड ६४ लाख भराइनुपर्ने मागदाबी छ ।

जिल्ला अदालत चितवनका श्रेष्तेदार विष्णुप्रसाद आचार्यका अनुसार ठगीको हकमा मुलुकी अपराध संहिताको दफा २४९ को उपदफा १ र २ विरूद्धको कसुरमा सोही ऐनको दफा ३ (ग) बमोजिम सजायको मागदाबी र सङ्गठित अपराध निवारण ऐन २०७० को दफा ३, १, २, ३ (क) र ५ को कसुरमा दफा ९ (क) र (ग) बमोजिम सजायको मागदाबी लिइएको छ । लामिछानेको हकमा ठगी मुद्दा दर्ता भएको छ तर बिगो दाबी गरिएको छैन ।

दर्ता हुन आएको अभियोगमा ३२ जना प्रतिवादी कायम गरी पाँच जनालाई अभियोगका साथ उपस्थित गराइएको छ । लामिछाने, रामबहादुर खनाल, छविलाल जोशी, कुमार रम्तेल र महेन्द्र भोटे भन्ने शिवबहादुर गुरूङ अभियोगसहित उपस्थित भएका हुन् ।

लामिछानेको हकमा गोर्खा मिडिया नेटवर्कमा रू एक करोड ८० लाख रकम बराबरको शेयर रहेको देखिन्छ । गोर्खा मिडिया नेटर्वकको ग्लोबल आइएमई र हिमालयन बैंकको खातामा जीवी राई र निजको समूहले सञ्चालन गरेको सहकारी र विभिन्न कम्पनीबाट साहाराबाट रू एक करोड ग्लोबल आइएमईको खाताबाट रू तीन करोड ५० लाख जम्मा भएको उनले बताए ।

तीमध्येबाट लामिछानेको एकल दस्तखतबाट ८१४ वटा चेक काटेको देखिएको अभियोगमा उल्लेख छ । सोमार्फत रू ४८ करोड ५८ लाख २२ हजार २४६ र जीवी राई रविको संयुक्त दस्तखतबाट ६ वटा चेकबाट रू ६० लाख १९ हजार भुक्तानी भएको बैंक स्टेटमेन्ट र चेक विवरणबाट पुष्टि गरिएको छ ।

गोर्खा मिडिया कम्पनीको बैंक खाताबाट चार वटा चेकबाट प्रतिवादी कायम हुन आएको लामिछानेको श्रीमती निकिता पौडेलको नाममा रू ३९ लाख ३८ हजार २५१ र गोरखा मुभिजको नाममा दुईवटा चेकमार्फत रू ८१ लाख २५ हजार भुक्तानी भएको छ ।

पूरक अभियोगमा लामिछानेको हकमा ठगी र सङ्गठित अपराधको दुवै अभियोग नलिई मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा १ र २ विपरीतको कसुरमा सोहीअनुरूप दफा २४९ को उपदफा ३ ग बमोजिम सजाय हुने मागदाबी भएको छ ।

rss