गोली चलाएर दुई भारतीय लागुऔषध कारोबारी नियन्त्रणमा लिइयो

गोली चलाएर दुई भारतीय लागुऔषध कारोबारी नियन्त्रणमा लिइयो


झापाको कनकाई नगरपालिका-४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

गए राति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलामलाई गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिएका हुन् ।

उनीहरुले वीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा लागुऔषध ओसारपसार गरिरहेका थिए । रोकेर जाँच गर्ने क्रममा दुवै जना भाग्न खोज्दा उनीहरुमाथि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ ।

प्रहरीले चार राउण्ड हवाई फायर गरी दुवैजनालाई नियन्त्रणमा लिएको हो । यस क्रममा मोटरसाइकलचालक अन्जार आलमको घुडाँमुनी गोली लागेको छ । उनीहरुको साथमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगुर ६३ मिलिग्राम फेला परेको सूचना अधिकारी चन्दले जनाएका छन् । घाइेत अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।