युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्याको कथावस्तु रहेको चलचित्र ‘पहाड’को निर्माण शुरु भएको छ । जानेमानेका निर्देशक तुलसी घिमिरेको निर्देशनमा बन्ने चलचित्रको गोरखा दरबारमा पुजा गरेर अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र नवअभिनेत्री पञ्चमी घिमिरेको दृश्य खिच्दै छायाङ्कन सुरू गरिएको हो ।
चलचित्रको छायाङ्कन गोरखा आसपासमा २५ दिनसम्म गरिने निर्देशक घिमिरेले जानकारी दिएका छन् । ‘अहिलेको समाजको तीतो यथार्थलाई दर्शक समक्ष पु¥याउने कथा तयार भएको छ । मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको चलचित्रमा नयाँ र पुरानो दुवै पुस्तासँग काम गर्न पाउँदा उत्साहित छु । पुनः चलचित्र निर्देशनमा सक्रिय हुँदा छुटै ऊर्जा प्राप्त भएको छ’, उनको भनाइ छ ।
यस चलचित्रबाट निर्देशक घिमिरेको छोरी पञ्चमी घिमिरेले अभिनयको सुरुआत गरेकी छन् । चलचित्रकर्ममा छोरीको आगमनले आफूलाई खुसी लागेको निर्देशक घिमिरेले बताए ।
‘आफू भएको पेसामा सन्तान आउँदा वा विश्वास गर्दाको खुसी व्यक्त गर्न सकिँदैन । अन्य पेसा झैँ हामी चलचित्रकर्मी पनि आफ्नो सपनालाई सन्तानले अगाडि बढाएको हेर्न चाहन्छौँ’, निर्देशक घिमिरेले भने ।
यस चलचित्रमा नागरिकको दायित्व र देशको आवश्यकतालाई चित्रण गरिएको छ । ओजस्वी केसी निर्माता रहेको सो चलचित्रलाई प्रमोद प्रधानले छायाङ्कन गरिरहेका छन् । चलचित्रमा विपीन कार्की, सुनिल थापालगायतका कलाकारले अभिनय गर्दैछन् भने रञ्जित गजमेरले सङ्गीत सिर्जना गरेका छन् ।
प्रतिक्रिया