- आरपी उपाध्याय, पश्चिम नवलपरासी
पश्चिम नवलपरासीको नारायणीपारी सुस्तामा हतियारधारी भारतीय सुरक्षाकर्मी प्रवेश गरेको विषय यतिबेला चर्चामा छ । सरस्वती पुजाका दिन, अर्थात् गत सोमबार साँझ ४ बजेको समयमा चार जना हतियारधारी भारतीय सुरक्षाकर्मी भारतीय नम्बर प्लेटकै गाडी प्रयोग गरी सुस्ता पसेका थिए ।
नेपाल भारत अन्तर्राष्ट्रिय सिमापार सुस्ता टोलमा भारतीय सुरक्षाकर्मी प्रवेश गरेलगत्तै स्थानीयले नेपालस्थित सुरक्षा निकायलाई खबर गरेका थिए, त्यसपछि भारतीय सुरक्षाकर्मीलाई फर्काइएको जानकारीमा आएको छ।
यसबारे पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले भारतीय सुरक्षाकर्मी बाटो बिराएर सुस्तामा प्रवेश गरेका र सुस्तास्थित सुरक्षा निकायबाट उनीहरुलाई भारततर्फ फर्काइएको प्रतिक्रिया दिएका छन् ।
हतियारधारी भारतीय सुरक्षाकर्मी सुस्ता प्रवेशको सन्दर्भलाई लिएर यतिबेला विभिन्न अनुमान पनि गरिएको छ । सुस्ता ५ रतनगन्जमा बसोबास गर्दै आएका आपराधिक पृष्ठभूमिका मुन्ना खाँ नारायणीपारी सुस्ता आएको सुइँको पाएर भारतीय सुरक्षाकर्मीहरु मुन्ना खाँलाई नियन्त्रणमा लिन आएको अनुमान स्थानीयले गरेका छन् । तर, सोही दिन मुन्ना खाँ दिउँसो १२ बजे नै आफ्नो घर रतनगन्ज फर्किसकेको पनि स्रोतले जानकारी दिएको छ।
प्रतिक्रिया