लामिछानेको सांसद पद फुकुवा गर्न रास्वपाका सांसदहरुको माग

लामिछानेको सांसद पद फुकुवा गर्न रास्वपाका सांसदहरुको माग


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले पार्टी सभापति रवि लामिछानेको सांसद पद फुकुवा गर्न माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रास्वपाका सांसदहरुले उहाँको सांसद पद फुकुवा गर्न माग गरेका हुन् ।

रास्वपा सांसद डोलप्रसाद अर्यालले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर झुट्टा मुद्दा लगाएर फसाउन खोजिएको आरोप लगाए । उनले भनेका छन्, ‘थुनामा नरहेको बेला लामिछानेको सांसद पद तुरुन्त फुकुवा गर्न सभामुखमार्फत आग्रह गर्दछु ।’

रास्वपाकै सांसद विनिता कठायतले सभापति लामिछानेलाई हिरासतमा राख्दैमा सहकारी पीडितको रकम फिर्ता भयो त ? भन्दै प्रतिप्रश्न गरिन् । सहकारीपीडितको समस्या समाधानमा बेवास्ता गरेको भन्दै उनले आपत्ति जनाइन् ।

शून्य समयमा सांसदहरुले आ-आफ्नो क्षेत्रमा देखिएका समस्या उजागर गरेका थिए । सो क्रममा सांसद ठाकुरप्रसाद गेरैले बुटवल–पाल्पा सडकको बाँकी काम समयमै सम्पन्न हुने गरी काम गर्न सुझाव दिए ।

सांसद तारा लामा तामाङले उखु किसानले समयमै भुक्तानी पाउनुपर्ने माग गरिन् । कञ्चनपुरमा हात्ती आतङ्कका कारण कृषिमा क्षति पुगेको भन्दै उनले किसानलाई उचित क्षतिपूर्तिको माग गरिन् ।

सांसद डा. तोसिमा कार्कीले ललितपुरका नागरिकले टिपर आतङ्कका कारण दुःख पाइरहेको गुनासो गरिन् । नख्खु–भैँसीपाटी सडकमा ट्याक्टर आतङ्कले दुर्घटना बढेकाले बस्ती भएको क्षेत्रमा ट्याक्टर चलाउन निषेध गर्नुपर्ने बताइन् ।

सांसद दामोदर पौडेल बैरागीले द्रुतगतिमा जनतालाई सेवा दिनेगरी विधेयक बनेको भन्दै पोखरा अन्तरर्राष्ट्रिय सम्मेलन केन्द्र र पोखरामा मुटु उपचार केन्द्रको आवश्यकता रहेको बताए ।

सांसद दुर्गा राईले पाथीभरामा केबलकार निर्माणको विषयमा ताप्लेजुङ अशान्त रहेकाले सहमति नलीइकन काम गर्न खोजेको आपत्ति जनाइन् ।

सांसद देवेन्द्र पौडेलले बाङलुङको ढोरपाटनमा जिल्लास्तरीय अस्पताल बनाउने निर्णय भए पनि आवश्यक चिकित्सक र स्वास्थ्य सेवा उपलब्ध गराउन अनुरोध गरे भने सांसद धनराज गुरुङले बुटवल सिद्धार्थ राजमार्गको स्तरोन्नतिलाई द्रुत गतिमा अगाडि बढाउन माग गरे ।

सांसदहरु ध्रुवबहादुर प्रधान, नारायणप्रकाश साउद, नारायणप्रसाद आचार्य, दीपा शर्मा, नारायणी शर्मा, निर्मला कोइराला, निशा डाँगी, नैनकला थापा, पुष्पबहादुर शाह, पूर्णबहादुर घर्तिमगर, प्रकाश ज्वाला, प्रतिमा गौतम, प्रभु हजारा, प्रेमबहादुर आले, प्रेमबहादुर महर्जन, वासुदेव घिमिरे र विन्दवासिनी कङ्सकारले शून्य समयमा विभिन्न विषयमा आफ्नो धारणा राखेका थिए ।

photo: rss