पहिलो प्रेमपत्र

पहिलो प्रेमपत्र


प्रेमील युगलहरुका लागि प्रेमील सप्ताह Valentine’s Week को शुरुवात भएको छ । हामी विदेशीको देखासिखी सबै कुरा सहजै स्विकार गर्दै जान्छौँ, यसर्थ पनि अहिलेका युवायुवतीमा प्रेमील सप्ताह तथा प्रेम दिवसको महत्व बढ्दै गएको पाउँछौ । साथै, यसलाई ब्यवसायिकरण गर्नेहरुले पनि यसलाई अझ बढी प्राथमिकताका साथ प्रचारप्रसार गरेको पाउँछौँ ।

हामीकहाँ १५-२० वर्ष अगाडिसम्म प्रेम दिवसको खासै महत्व र चर्चा थिएन । नेपालमा प्रेमील सप्ताह ब्यापक हुन थालेको त झन् धेरै भएकै छैन । वास्तवमा हामीकहाँ पनि आफ्नै मौलिक प्रेमील महिना र प्रेम दिवस छन्, जसलाई खासै चासो दिएको पाइन्न ।

नेवाःहरुले विशेष रुपले मनाउने यःमरी पुन्हीको भोलिपल्टको दिनलाई प्रेम दिवस ‘मतिना पारु’का रुपमा लिने गरिन्थ्यो । यो दिन पहिलो पटक dating जाने गरिन्थ्यो । खुल्लमखुल्ला भेटघाट गर्न नपाउने त्यो समय देयगः (मन्दिर), ल्हो हिटी (ढुङ्गेधारा), नःहिटी (कलधारा) वा तुं (इनार)तिर जाने बहानामा भेटघाट हुने गर्दथ्यो ।

नेवाः पात्रोअनुरुप नवौं महिनाभर लाग्ने गुँला पर्वमा खासगरी बौद्ध धर्मावलम्बीहरु साउन शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल पक्ष प्रतिपदासम्म बौद्ध तीर्थस्थलहरु परिक्रमा गर्ने परम्परा रहेको छ । खासगरी चार तीर्थ नमोबुद्ध, बज्रयोगिनी, स्वयम्भू र रातो मच्छेन्द्रनाथ दर्शन गर्ने गरिन्छ । यसरी महिनाको चार सप्ताह चार तीर्थ जाने हुँदा यस महिनालाई पेम्ह देगः म्हसिक वनेगू अथवा बहीद्यः स्वःवनेगु पनि भनिन्छ । यसरी विभिन्न बहीद्यः दर्शन गर्ने बहानामा एकअर्कालाई मन पराउने र पछि विवाह हुने गर्दथ्यो । तर अचेल जहिले जुनसुकै बेला पनि भेटघाट र घुमघाम गर्न सकिने हुँदा यो समय भने जोडी खोज्ने भन्दा जोडी भइसकेकाहरु नै घुम्ने गर्दछन् ।

भ्यालेन्टाइन डे

ईसाको तेश्रो शताव्दीमा रोमनका राजा क्लाडियसले रोम राज्यका सैनिक तथा कर्मचारीलाई विवाह गर्न बञ्चित गराएका थिए । विवाहले पुरुषमा भएको आत्मविश्वास र शक्ति क्षिण हुन्छ भन्ने जिकिर रोमन राजाको थियो । तर सेंट बैलेन्टाइनले यसको विरोध गर्दै विवाह गर्न प्रेरित गराए । जसको फलस्वरुप क्रुद्ध भएका राजाले सेंट भेलेन्टाइनलाई नै जेल सजाय दिए ।

फलस्वरुप पाँचौ शताव्दीमा पोप गेलासियसले १४ फेब्रुवरीलाई सेन्ट भेलेन्टाइन डे घोषणा गरे । तर, प्रेमी-प्रेमिकाको लागि थिएन । सन् १४१५ मा कैदमा बसिरहेका चार्ल्स, ड्युक अफ ओर्लियन्सले पहिलो पटक आफ्नो पत्नीलाई प्रेमपत्र पठाए, जसमा उनले लेखेका थिए- तिम्रो भेलेन्टाइन ! यसपछि भेलेन्टाइन शब्द नै प्रेमीको पर्याय बन्यो ।

अचेल त यो सप्ताहब्यापी उत्सव भएको छ । ७ तारिखबाट शुरु हुने उत्सवमा पहिलो दिन आफ्नो मन परेको प्रेमी वा प्रेमिकालाई गुलावको फूल दिँदै आफ्नो अन्तर्भावना मौन रुपमा व्यक्त गरिन्छ । दोश्रो दिन ब्यक्त गर्दै प्रपोज गरिन्छ, तेश्रो दिन शुरुवात मिठो होस भन्दै चकलेट दिइन्छ, चौथो दिन खुला हृदयले एक अर्कोलाई चाहेको भावनास्वरुप भालुको बच्चा खेलौना (टेड्डी बियर) दिने गरिन्छ । पाँचौं दिन सदैव एकअर्काको हुने बाचा गरिन्छ, छैठौ दिन अंगालोमा बाँधेर प्रेम सत्य रहेको भाव जनाइन्छ । सातौँ दिन चुम्बन गर्दै सपना साकार भएको स्विकारोक्ति गरिन्छ । आठौँ अर्थात् अन्तिम दिन वास्तविक भेलेन्टाइन भएको स्विकार्दै प्रेमको दिवश मनाइन्छ ।

माथि प्रस्तुत गरिएको सन् १४१५ मा पठाइएको पहिलो प्रेमपत्र हो । ६०० वर्ष पुरानो प्रेमपत्र यसरी सुरक्षित राखिएको छ । आजका प्रेमिल जोडीको प्रेम पनि यसरी नै अमर रहुन् ।