काङ्ग्रेस : भावी नेतृत्वमा दुई डाक्टरको बलियो सम्भावना

काङ्ग्रेस : भावी नेतृत्वमा दुई डाक्टरको बलियो सम्भावना


वि.स. २००७ देखि हालसम्म मुलुकको प्रथम राजनैतिक शक्ति नेपाली कांग्रेसको १५औं महाधिवेधनको प्रारम्भिक तयारीसँगै यसको भावी नेतृत्वको बहस शुरु भइसकेको छ । यद्यपि महाधिवेशन २०८२ सालमा हुने भएकाले अहिल्यै प्रतिस्पर्धीको औपचारिक घोषणा भने भइसकेको छैन ।

तथापि, सभापतिमा पूर्णतः असक्षम भइसकेका शेरबहादुर देउवा विधानतः अब नेतृत्वको प्रतिस्पर्धी हुन पाउने छैनन् । यसैकारण पनि कांग्रेसको भावी नेतृत्वको बहस प्रजातान्त्रिक तप्कामा मात्र होइन, राष्ट्रिय-अन्तर्राष्ट्रिय रुपमै बड़ो चाख र चासोका साथ हेरिँदैछ- जुन स्वाभाविक पनि हो । किनकि, अबको भावी नेतृत्व कस्तो हुने छ- त्यसैमा भर पर्ने छ कि, निरन्तर ओरालो लागेको कांग्रेसले पुनः एक पटक जीवनदान पाउने हो कि होइन ?

कुनै पनि संगठनले जीवन्तता पाउने/पाउने त्यसको नेतृत्वमा भर पर्दछ । कांग्रेस पनि यो नियम बाहिर रहने कुरा भएन । त्यसैकारण कांग्रेसको भावी नेतृत्वको बहस अहिलेदेखि नै सतहमा आउनेगरी नै छेडिनु पर्दछ । नभए कांग्रेसका लागि त्यो अन्तिम दुर्भाग्य हुनेछ ! किन ‘अन्तिम दुर्भाग्य’ भने कांग्रेस अब अहिलेकै पाराले चल्दैन, चल्न सक्दैन र चल्नु पनि हुँदैन । वर्तमान नेतृत्वले स्वयम् कांग्रेस पार्टीको हुर्मत लिएको दुःखद परिदृश्यमा अब पनि त्यही प्रकारको कर्मकाण्डी नेतृत्व आयो भने कांग्रेसको दाहसंस्कार हुने छ । अहिलेको नेतृत्वले आधा त मारी नै सकेको छ । अहिलेकै सोचले निरन्तरता पायो भने कांग्रेसको अन्त्येष्टि पक्का छ ।

स्पष्ट छ- सधैं झैंँ आगामी महाधिवेशनमा पनि कांग्रेसमा दुई धार प्रमुख रुपमा आउने छन् । एउटा वर्तमान नेतृत्वकै निरन्तरतामा साथ दिने संस्थापन भनिने समूह र अर्को नयाँ सोच एवम् विचारसहितको समूह । निश्चय नै कांग्रेस अब वर्तमानको झैं अकर्मण्यतामा बाँचिरहन नसक्ने हुँदा उसले बाँच्ने हो भने एक पटक नयाँ सोच र विचारलाई स्वीकार्नैपर्ने छ ।

कुनै भूमिका नबाँधी स्पष्ट भन्ने हो भने, अबको महाधिवेशनमा वर्तमान नेतृत्वपक्षीयको एउटा समूह हुने छ भने नयाँ सोच, शैली र विचार सहितको अर्को समूह हुने छ । पात्रकै कुरा गर्ने हो भने, वर्तमान नेतृत्वको पक्षबाट पूर्णबहादुर खड्का, विमलेन्द्र निधी, प्रकाशमान सिंहमध्ये एउटा पात्रलाई अघिसारिने निश्चितप्रायः छ । कुनै चमत्कार भएन भने हुने नै यही हो । तर, यी तीनवटै पात्र २०४७ सालपछि कुनै न कुनै हैसियतमा परीक्षित पात्र हुन् । सबैमा जाहेर छ- उनीहरुको ल्याकतले अबको कांग्रेस धानिन सक्दैन ।

अर्कातर्फ, प्रबल दावेदारका रूपमा डा. शेखर कोइराला र डा. चन्द्र भण्डारीको टिम देखापरेको छ । यी दुबै पात्रको अहिलेसम्म परीक्षण हुन बाँकी छ । सरसर्ती हेर्दा, यी पात्रहरुमा नयाँ सोच, विचार, शैली र भिजनको प्रचुर सम्भावना देखापरेको छ; जसले अर्धमृत कांग्रेसलाई मृत्युशैयाबाट बौराउने सामथ्र्य राख्ने सम्भावना जीवन्त छ ।

डा. शेखरले त्यसै पनि कोइराला परिवारको लामो विरासत पाएका छन् । उनमा अबको कांग्रेसलाई हाँक्न सक्ने क्षमता पनि देखिएको छ । अर्थात्, कांग्रेसले फेरि एक पटक कोइराला परिवारको विरासत र नयाँ सोच खोजिरहेछ । त्यसमाथि उनको टिममा महामन्त्रीका रुपमा अत्यन्त लोकप्रिय नेता डा. चन्द्र भण्डारीको चर्चाले यो टिमको शक्तिलाई ह्वात्तै बढाएको छ । डा. चन्द्रले सार्वजनिक रुममै पटक-पटक अबको सभापतिमा डा. शेखरलाई प्रस्ताव गरिसकेका छन् । त्यसउसले अबको कांग्रेस सभापतिमा डा. शेखर कोइराला र महामन्त्रीमा डा. चन्द्र भण्डारीको हललाई धेरैले रुचाएको देखिन्छ – कांग्रेसभित्र पनि र बाहिर पनि ।