प्रतिनिधिसभाको आइतबार (२७ माघ)को बैठकमा विभिन्न तीन विधेयक प्रस्तुत गरिएका छन् । बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१, नेपाल प्रहरी विधेयक, २०८१ र सशस्त्र प्रहरी बल नेपाल विधेयक, २०८१ प्रस्तुत गरेका हुन् ।
विधेयक प्रस्तुत गर्दै उनले सहज रूपमा नागरिकता प्रदान र प्रक्रिया थप व्यवस्थित गर्न विधेयक ल्याउनुपरेको जानकारी गराए । गृहमन्त्री लेखकले गम्भीर रूपमा छलफल गरेर समयसाक्षेप बनाउन विधेयक ल्याउनुपरेको तर्क गरे ।
मन्त्री लेखकले प्रहरीसम्बन्धी विधेयकहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका काम कारबाही दोहोरिने गरी कुनै व्यवस्था नरहेको जिकिर गर्दै प्रहरीमा सेवा प्रवेशदेखि निवृत्तसम्मका प्रक्रियालाई थप व्यवस्थित गर्न विधेयक ल्याउनुपरेको बताए ।
यसअघि तीनै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू सुमना श्रेष्ठ, विनिता कठायत र प्रेम सुवालले राखेका विरोधका सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।
यस्तै, सरकारले प्रतिनिधिसभाबाट ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तदरायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिएको छ । बैठकले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राखेको उक्त विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।
प्रतिक्रिया