‘आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ’ महामन्त्री थापा

‘आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ’ महामन्त्री थापा


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताएका छन् । आज (२८ माघ) चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार चार वर्षमा महाधिवेशन हुने बताए ।

उनले भने, ‘हामीले तोकिएको समयमा महाधिवेशन गर्नका लागि आगामी चैतभित्र पार्टीको क्रियाशिल सदस्यता टुङ्ग्याउने गरी काम गरेका छौँ, तल्लो तहका साथीहरुले त्यसलाई सहयोग गर्नुपऱ्यो ।’ विधानले एक वर्ष समय थप गर्नसक्ने व्यवस्था गरेको भए पनि दुई–तीन महिना तलमाथि भए पनि एक वर्ष पूरै नथपिने उनको भनाइ थियो ।

महामन्त्री थापाले अगाडि भने, ‘नेपाली कांग्रेसको विधानअनुसार २०८२ सालको मङ्सिर÷पुसमा चार वर्षको कार्यकाल सकिन्छ, हाम्रो प्रयास चार वर्षभित्र महाधिवेशन गर्ने थियो र अहिले पनि छ, तर पार्टीको सदस्यता वितरण र अन्य कुरा हेर्दै गर्दा ठ्याक्कै त्यही तिथिमितिभित्र हामी भ्याउँछौँ नै भनेर सम्पूर्ण रुपमा दाबी गर्ने अवस्था छैन, एक वर्षका लागि म्याद थपको सुविधा रहन्छ, सभापतिसँग बसेर सल्लाह गरिरहेका छौँ, जति समय आवश्यक पर्छ त्यति समय अघि बढाऔँ ।’

पार्टीको महाधिवेशन २०८४ निर्वाचनअघि जति महाधिवेशन अघि तान्न सक्यो त्यति हितकर हुने उनको भनाइ थियो ।

फरक प्रसङ्गमा बोल्दै महामन्त्री थापाले सरकारले ल्याएको अध्यादेश एक/दुई दिनमा संसद्मा टेबल हुने जानकारी दिए । टेबल भएपछि संसद्बाट छलफलसहित पास हुने जिकिर उनले गरे । सरकारले सामाजिक सञ्जाल नियमनको विषयमा ल्याएको विधेयक आएको जसरी कानुन नबन्ने भन्दै उनले यो विधेयकमा धेरै समस्या रहेकोले विधेयक नसच्याइ, परिमार्जन नभइ र संशोधन बिना पारित नहुने धारणा राखे ।