मधेसमा साना दलहरुको ‘महागठबन्धन’ बन्दै

मधेसमा साना दलहरुको ‘महागठबन्धन’ बन्दै


  • प्रणय सिंह, जनकपुरधाम

तराई/मधेशमा सक्रिय रहेका तर आठदलीय मधेशी मोर्चामा अटाउन नसकेका साना दलहरुबीच मोर्चाबन्दीको गृहकार्य सुरु भएको छ । पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारीको नेतृत्वमा साना दलहरुबीच महागठबन्धनको तयारी तीव्ररुपमा अगाडि बढेको हो ।

नेपालका उत्पीडित, उपेक्षित र पछाडि पारिएका वर्ग समुदायको हकअधिकारका लागि संघर्ष गर्ने उद्देश्यले देश र मधेशका लागि वैकल्पिक शक्ति निर्माण गर्न विभिन्न दश दलका साथै नागरिक अगुवाहरुको बैठक सम्पन्न भएको सम्बद्ध पक्षको भनाइ छ ।

धनुषाको ढल्केबरमा गत मंगलबार बसेको दश दलका अगुवाहरुको बैठकले नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो।रिजवान अन्सारीलाई महागठबन्धन निर्माणका लागि जिम्मा दिएको जनाइएको छ ।

नेपाल सद्भावना पार्टीको विशेष आयोजनामा विभिन्न पार्टीहरुसँग मोर्चाबन्दीको लागि साझा मुद्दाहरुमा छलफल गरिएको छ । नेपाल सद्भावना पार्टीको तर्फबाट राष्ट्रिय अध्यक्ष रामकुमार महतो, उपाध्यक्ष अमरेन्द्र कुमार झा र महासचिव पवन कुमार साहको बैठकमा विशेष उपस्थिति रहेको थियो । त्यसैगरी, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारी, प्रदेशका पूर्व गृह, सञ्चार तथा कानूनमन्त्री विमला अन्सारी, नेपाली जनता दलका अध्यक्ष हरिचरण साह, जनता पार्टीका अध्यक्ष बद्रीनारायण ठाकुर, बहुजन एकता पार्टी नेपालका वरिष्ठ नेता राजाराम पासवान, जनअधिकार पार्टी नेपालका अध्यक्ष इमदाद गद्दी, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य संजय सिंह, नेपाली जनता दल, स्वाधीन मधेश अभियान लगायतले मोर्चाबन्दीको लागि निकट भविष्यमा अर्को बृहत बैठक बस्ने निर्णय गरेका बताइएको छ ।

नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टीबीच गत माघ २४ गते भएको सहमतिअनुसार नेपालको उत्पीडित जनताको राजनीतिक र सामाजिक अधिकारलाई सुनिश्चित गर्नका लागि नेपाली जनताको बलिदानीपूर्ण आन्दोलनहरुबाट प्राप्त उपलब्धि सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशीकरण लगायत उपलब्धिहरूलाई सरकारद्वारा संविधान संशोधनको नाममा कटौती गर्न भइरहेको दुष्प्रयासलाई सामना गर्न र यस्तो कुनै पनि षड्यन्त्रलाई सफल हुन नदिन जनताको बलियो राजनीतिक शक्ति आवश्यक भएकोले १० राजनीतिक दल र नागरिक समाज लगायतको बृहत बैठक अन्तरक्रिया सम्पन्न भएको बैठकपछि नेताहरुले जानकारी दिए ।

प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धिहरूको लागि संघर्ष गर्ने उद्देश्य प्राप्तिको लागि बैठकले नागरिक समाज तथा राजनीतिक दलको संयुक्त महागठबन्धन निर्माण गर्ने निर्णय गरेको छ । यसको संयोजनका लागि नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीलाई जिम्मेवारी दिइएको छ ।