विवाह पाँच वर्षपछि ताराको तारो अन्तर्राष्ट्रिय पदक

विवाह पाँच वर्षपछि ताराको तारो अन्तर्राष्ट्रिय पदक


म्यादीको विकट गाउँ हिस्तानमा ०४० सालमा जन्मिएकी तारा पुन अहिले कीर्तिमानी भारोत्तोलन खेलाडीको रूपमा चिनिन्छिन् । खेलकुदप्रतिको अगाध रुचि र आत्मविश्वासले तारालाई यो स्थितिमा पु¥याएको हो । लक्ष्यहीन रूपमा खेलकुदमा प्रवेश गरे पनि उनको प्रभावशाली प्रदर्शनले विभिन्न खेलमा अब्बल सावित भएकी छिन् । भलिबल खेललाई काखी च्यापेर आएकी ताराले नेपाली खेलकुदमा प्रवेशसँगै भारोत्तोलन र एथलेटिक्समा पनि आफ्नो कमाल देखाइसकेकी छिन् । जहाँ खुट्टा राख्यो त्यहीँ सफलता हात पार्दै आएकी ताराले हालै भारोत्तोलनमा पनि राष्ट्रिय कीर्तिमान कायम गरेर चर्चाको शिखरमा पुगेकी छिन् ।
ताराको बाल्यकाल कोट्याउँदा उनी विकट गाउँको गरिब परिवारकी छोरी हुन् । घरको काम, मेलापात गर्नु उनको दिनचर्या भए पनि त्यस्तो विकट गाउँमा पढ्ने मौकाचाहिँ उनले पाएकी थिइन् । त्यतिबेला गाउँ र स्कुलमा अन्य खेल त्यति नखेलिने भए पनि भलिबल भने खुवै खेलिन्थ्यो । यसरी अग्रजहरूले भलिबल खेलेको हेर्दाहेर्दै उनी पनि भलिबलतर्फ आकर्षित भएकी थिइन् । सानै उमेरदेखि भलिबल खेल्न थालेपछि यो खेलप्रति उनको माया नै बसेको थियो । एक दिन पनि भलिबल खेल्न नपाउँदा उनी पानीबिनाको माछाझैं छटपटाउँथिन् । भलिबलप्रतिको ताराको यही लगाव र केही गर्छु भन्ने भावनाले गर्दा उनी गाउँकी उत्कृष्ट खेलाडी बन्न सफल भएकी थिइन् । एकपटक गाविस, गाविसबीच भएको भलिबल प्रतियोगिता खेलाउन हंशराज वाग्ले र भरत शाह म्याग्दी जाँदा उनको खेल देखेर निकै प्रभावित भएका थिए । यही खेलबाट ताराको खेलजीवन मोडिन पुगेको थियो अर्थात् उनका सुनौला दिनहरू शुभारम्म भएका थिए ।
गाउँस्तरीय खेलमा उत्कृष्ट प्रदर्शन गरेबापत चौथो राष्ट्रिय प्रतियोगिताका लागि तनहुँ जिल्लाबाट छनोट भएर सुर्खेतमा खेल्न पुगेकी थिइन् । लिफ्टरको रूपमा पहिलोपल्ट राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी तारा आफ्नो टिमबाट सफल भएकी थिइन् । ताराकै शब्दमा त्यतिबेला गाउँमा उनीभन्दा उत्कृृष्ट खेलाडी कोही थिएन । जहाँ खेले पनि ‘वेस्ट प्लेयर’को उपाधि उनकै झोलीमा पथ्र्यो । राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि तारा आठौँ साफका लागि छनोट भएकी थिइन् । दुर्गम गाउँ सञ्चारको असुविधाले गर्दा क्लोज क्याम्पका लागि पठाइएको पत्र निकै ढिला पुगेपछि उनले मुलुकका लागि खेल्न पाउने अवसर गुम्दा निकै कुठाराघात भएको थियो । त्यस्तै तारा काठमाडौंमा आयोजना भएको पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पश्चिमाञ्चलबाट छनोट भए पनि त्यसैबेला भएको राजा वीरेन्द्रको हत्याले गर्दा प्रतियोगिता स्थगित हुँदा उनले पुनः खेल्नबाट वञ्चित हुनुपरेको थियो ।
यसरी पाँचौँ राष्ट्रिय प्रतियोगितामा खेल्न नपाएपछि उनी गह्रौं मन बनाउँदै घर फर्किने तरखरमा लागेकी थिइन् । तर, त्यसैबेला अकस्मात् ताराको भेट म्याग्दीकै दिदी दिलकुमारी पुनसँग भएको थियो । दिलकुमारीले यहीँ बसेर खेलभन्दा ताराले सहमति जनाएकी थिइन् । समय बित्दै जाँदा अर्थात् तीन महिनापछि ताराको भेट तेक्वान्दो खेलाडी प्रमिला थापासँग भएको थियो । थापाले उनलाई भारोत्तोलन खेल्न सल्लाह दिएपछि उनको खेल जीवनमा नयाँ मोड आएको थियो । भारोत्तोलन खेलसँग अपरिचित र अनविज्ञ रहे पनि ताराले हिम्मत जुटाउँदै गुरु सुनिल जोशीलाई भेट्न पुगिन् । जोशीले मीठु गुरु अर्थात् पार्थ सारथीसेन गुप्तालाई भेट्न भनेपछि उनको मनमा अनेक किसिमका कुतूहल जागेर आएका थिए । तर, मीठु गुरुले ताराको खेलकुदको ब्याकग्राउण्ड बुझेर ट्रेनिङका लागि मञ्जुरी दिनुभएको थियो । त्यसपछि राजेन्द्र प्रधानले तारालाई ट्रेनिङ दिएका थिए ।
जहाँ इच्छा त्यहाँ उपाय भनेझैं पाएको अवसरलाई सदुपयोग गर्ने क्रममा ताराले निकै रगत–पसिना सुकाउनुपरेको थियो । प्रशिक्षणको समयमा क्लिन एन्ड जर्क र स्न्याच के हो ? त्योसमेत तारालाई थाहा थिएन । अझ धेरै नबोल्ने हातको इशाराले मात्र सङ्केत गर्ने राजेन्द्र गुरु ट्रेनिङमा उनले धेरै सास्ती भोग्नुपरेको थियो । नयाँ–नयाँ खेलाडी मनमा त्यसै डर लाग्नु स्वाभाविकै भए पनि ताराले आत्माविश्वास नगुमाई प्रशिक्षण गरेकी थिइन् । त्यसपछि जगदीश प्रधानको प्रशिक्षण पाएकी ताराले खेल शुभारम्म गरेको दुई महिनामै वीरगञ्जमा भएको राष्ट्रियस्तरको भारोत्तोलन प्रतियोगितामा प्रतिस्पर्धा गर्ने मौका पाएकी थिइन् । ६३ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी ताराले पहिलो प्रयासमै कुल ९५ केजी उठाएर आफ्नो समूहमा पहिलो स्थान हासिल गरेकी थिइन् । पहिलो प्रयासमै सफलता प्राप्त गरेपछि निकै प्रसन्न देखिएकी ताराको त्यसपछि अझ हौसला बुलन्द भएको थियो । ताराले यो सफलताको श्रेय जगदीश गुरुलाई दिँदै उहाँको हौसला र प्रेरणा नपाएको भए त्यो सम्भव नहुने बताएकी छिन् ।
भारोत्तोलनमा प्रवेश गरेयता आफ्नो समूहमा दोस्रो नभएकी ताराले अहिलेसम्म थुप्रै भारोत्तोलनका प्रतियोगितामा प्रतिस्पर्धा गरिसकेकी छिन् । कुनै बेला कस्तो स्तरको प्रतियोगिता खेलेको त्यसबारेमा ताराले लेखाजोखा नराखे पनि सबैमा स्वर्ण पदक मात्रै जितेको भने सम्झना छ । यसरी भारोत्तोलन खेल्दाखेल्दै ०६० सालमा ताराले नेपाल पुलिस जागिर खान पुगिन् । हिजोसम्म जागिर नपाउँदा र आर्थिक समस्याले गाँज्दा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएकी ताराले पुलिसमा जागिर खाएपछि ठूलो बोझलाई बिसाउन पुगेकी थिइन् । सिपाहीकै जागिर भए पनि उनलाई खानबस्न र प्रशिक्षण गर्न निकै राहत भएको थियो । यसरी समयको प्रभावसँगै उनले आफूलाई अझ निखार्न दिनरात एउटै बनाएर प्रशिक्षणमा जुटेकी थिइन् । नुनको सोझो गर्ने क्रममा काठमाडौंमा आयोजना भएको पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले पुलिस क्लबबाट आफ्नो सहभागिता जनाएकी थिइन् । ६९ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी ताराले उक्त प्रतियोगितामा कुल एक सय ४० केजी उठाउँदै स्वर्ण पदक जितेकी थिइन् । हालै सुदूरपश्चिममा आयोजना भएको छैटौं राष्ट्रिय खेलकुदमा पनि ताराले नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितेकी थिइन् ।
भारोत्तोलन खेल्न थालेको र दैनिक रूपमा प्रशिक्षण गर्न लागेको आठ वर्ष बितिसक्दा पनि ताराले अहिलेसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाएकी छैनन् । मुलुकको मान, सम्मान र प्रतिष्ठालाई अन्तराष्ट्रमा पु¥याई नेपाली झण्डा फहराउने उनको सपना अहिलेसम्म पूरा भएको छैन । ११औँ साग खेल्ने चाहना हुँदाहुँदै पनि महिला समूहलाई उक्त प्रतियोगितामा समावेश नगर्दा आफूलाई निकै कुठाराघात भएको ताराले बताइन् । ‘यदि त्यो प्रतियोगिता खेल्न पाएको भए म पक्का नेपाललाई एउटा पदक दिलाउँथेँ,’ उनले भनिन् । तर, पनि उनले अहिलेसम्म आशा मारेकी छैनन् । अन्तर्राष्ट्रियस्तरमा जहाँ–जस्तो प्रतियोगिता भए पनि नेपाललाई पदक दिलाउन लालयित देखिएकी छिन् । भारतमा हुने १२औँ सागमा महिला भारोत्तोलनलाई सहभागी गराए आफूले पदक जित्ने ताराले ठोकुवा गरेकी छिन् ।
खेलकुदमा लाग्दा प्रायः सबै खेलाडीले राम्रा–नराम्रा पक्षहरूसँग सामना गर्नुपर्छ । ताराको जीवनमा पनि यस्तो अविष्मरणीय घटेको रहेछ । उनी यो घटना सम्झँदा अहिले पनि खुसीले दङ्ग हुन्छिन् । निकै उत्तेजित हुन्छिन् । जोरसोरले कराएर भन्न रुचाउँछिन् ताराको अविष्मरणीय क्षणको रूपमा वीरगञ्जमा भएको भारोत्तोलनको राष्ट्रिय प्रतियोगिता रहेछ । भारोत्तोलन खेल्न थालेको दुई महिनामै उक्त प्रतियोगितामा स्वर्ण पदक जित्दाको क्षण उनी कहिल्यै बिर्सन सक्दिनन् । अझ उक्त प्रतियोगितामा ‘स्ट्रोङगिस्ट विमेन अफ नेपाल’को ताज पाएपछि उनको खुसीले सीमा नाघेको थियो । सो उपाधिसँगै पाँच हजार रुपैयाँ नगद पाएपछि त उनले यो संसारको सबैभन्दा धनी व्यक्ति आफूलाई ठानेकी थिइन् । उनले जीवनमा पहिलोपटक यति धेरै रुपैयाँ देखेकी थिइन् । आफ्नो मिहिनेतको फलको रूपमा पहिलोपटक यति धेरै रुपैयाँ पुरस्कारस्वरूप पाएपछि मन खोलेर धोको पूरा गर्ने गरी नयाँ–नयाँ लुगा किनेको आनन्द अहिले पनि ताराले महसुस गरिरहेकी छिन् ।
ताराको जीवनमा नराम्रो क्षणको प्रभावले पनि केही हदसम्म छोएको रहेछ । उनी रिङरुटको टे«निङमा तीन महिना जाँदा उनको खेलमा परेको प्रभावले स्ट्रोङ विमेनको उपाधि जित्न नपाउँदा अहिले पनि उनलाई पश्चात्ताप भइरहेको छ । सधंै आफूले जित्ने उपाधि एकपटक अर्काले जित्दा अहिले पनि उनको मन पोलेको छ । रिङरुटको टे«निङलगत्तै भएको राष्ट्रिय प्रतियोगितामा उनले आफ्नो समूहमा स्वर्ण पदक जित्न सफल भए पनि स्ट्रोङ विमेनको उपाधि जित्नबाट भने वञ्चित भएकी थिइन् ।
प्रतिभाशाली खेलाडी भएकै कारणले यतिबेला तारालाई मीठु गुरु र सुनिल गुरुले विशेष निगरानीमा राख्नुभएको छ । यी दुई गुरुको आदेश र निर्देशनमा ताराले आफ्नो प्रशिक्षणलाई अगाडि बढाइरहेकी छिन् । दिनरात एउटै बनाई अथक् मिहिनेत गरिरहेकी छिन् । ताराको विचारमा भारोत्तोलनको भविष्य राम्रो भए पनि अन्तराष्ट्रियस्तरको प्रतियोगिता खेल्न नपाउँदा निकै खल्लो महसुस गरेकी छिन् । अन्तराष्ट्रिय अनुभवले अझ राम्रो गर्न सक्ने विश्वास राख्ने ताराले यो खेलमा आउन चाहने अन्य महिला खेलाडीको हौसला बढाउनका लागि पनि आफूहरूले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुपर्ने धारण राखेकी थिइन् । अझ मुलुकको प्रतिष्ठाको लागि पाँच वर्ष खेल्ने बताउने ताराले यो अवधिमा मुलुकको झण्डा अन्तर्राष्ट्रिय स्तरमा फहराउने विश्वास लिएकी छिन् ।
मन पराउने र प्रेमको प्रस्ताव राख्नेहरू धेरै भए पनि ताराले अहिलेसम्म कसैलाई कुनै किसिमको आश्वासन दिएकी छैनन् । उमेर छँदा त सोचिएन भने अब सोच्दा निकै दूरदर्शी भएर सोच्नुपर्ने भएकोले आफूले यसतर्फ खासै ध्यान नदिएको बताइन् । मेरो लक्ष्य अझै खेलकुदमा पाँच वर्ष बिताउने र अन्तर्राष्ट्रिय पदक जित्ने रहेकोले यसपछि मात्रै सोचेर आफ्नो भावनालाई कदर गर्ने, सम्मान गर्ने र आफूलाई वास्तविक रूपमा माया गर्ने जीवनसाथी खोजेर विवाह गर्ने बताइन् । ताराले नेपाल भारोत्तोलन सङ्घलाई आफ्नो घरको संज्ञा दिएकी छिन् । उनले यहाँ पूर्णरूपमा घरपरिवारको वातावरण भएकोमा खुलेर प्रसंशा गरेकी छिन् । नेपालका खेलकुद सङ्घहरूमध्ये भारोत्तोलनजस्तो मिलेर र अनुशासनमा बसेको अर्को सङ्घ नभएको पनि दाबी गरेकी छिन् । आफ्नै परिवारको सदस्यजस्तै गर्ने गुरुहरूको व्यवहारले सम्पूर्ण खेलाडी अत्यन्तै खुसी छन् । जुन अन्य सङ्घमा कहिल्यै देख्न पाइन्न । तसर्थ भारोत्तोलन सङ्घलाई आफ्नो दोस्रो घरको रूपमा लिएको ताराले सुनाइन् ।

अन्तर्राष्ट्रिय करातेमा नेपाल च्याम्पियन
प्रथम अन्तर्राष्ट्रिय कात्सुहिको गिबो स्मृति कराते प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । उक्त प्रतियोगितामा च्याम्पियन नेपालले १७ स्वर्ण, १३ रजत र २८ कास्य जितेको थियो । दोस्रो स्थानमा रहेको भारतले पाँच स्वर्ण पदक हात पारेको थियो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा पुरुषको ५० केजीमा एपीएफका विजय लामा पहिलो भए । फाइनलमा उनले राष्ट्रिय टिमका सोनाम लामाको चुनौती पन्छाएका थिए । ५५ केजीको फाइनलमा राष्ट्रिय टिमका सुनील लामाले नेपाल आर्मीका मणिकुमार सुनुवारलाई पाखा लगाउँदै स्वर्ण जिते । राष्ट्रिय टिमका विनोद महर्जनलाई निराश पार्दै पश्चिमाञ्चलका गणेश पाइजाले पुरुष ६० केजीको उपाधि चुमेका थिए ।
पुरुषको ६७ केजीमा राष्ट्रिय टिमका मुकुन्द महर्जनले बाजी मारे । फाइनलमा मुकुन्दले मध्यमाञ्चलका दिवश श्रेष्ठलाई हराए । राष्ट्रिय टिमका भीमबहादुर तामाङ पुरुषको ८४ केजीमा च्याम्पियन बने । उपाधि भिडन्तमा भीमले पश्चिमाञ्चलका विवश थापालाई पराजित गरेका थिए । ८४ केजीमाथि एपीएफका लालबहादुर बडुवालले पश्चिमाञ्चलका आकाशबाबु श्रेष्ठलाई हराउँदै पहिलो स्थान हात पारे । ७५ केजीमा आर्मीका लेखनाथ मैनाली शीर्ष स्थानमा रहे । फाइनलमा लेखनाथले एपीएफका सन्तबहादुर राईलाई हराएका थिए । पुरुष टिम कातामा राष्ट्रिय टिमले पहिलो स्थान हात पा¥यो भने आर्मी दोस्रो स्थानमा चित्त बुझायो । पुरुष एकल कातामा राष्ट्रिय टिमका पर्शुराम बास्तोला पहिलो, आर्मीका सुवास कार्की दोस्रो तथा मध्यपश्चिमाञ्चलका मोलङ घर्ती मगर र एपीएफका गोपीराम घले तेस्रो भए ।
नेपाल कराते डो महासङ्घको तत्वावधानमा नेपाल सितोरियो डो कराते सङ्घले आयोजना गरेको प्रतियोगिताको महिलातर्फ ४५ केजीमा राष्ट्रिय टिमकी मल्लिका थापा पहिलो भइन् । फाइनलमा मल्लिकाले मध्यपश्चिमाञ्चलकी अर्मिला डीसीलाई निराश पारिन् । ५० केजीमा राष्ट्रिय टिमकी अनु अधिकारीले स्वर्ण हात पारिन् । फाइनलमा अनुले मध्यमाञ्चलकी सुनिता महर्जनलाई हराइन् । महिलाको ५५ केजीमा राष्ट्रिय टिमकी रोजी नगरकोटी, ६१ केजीमा पश्चिमाञ्चलकी सरिता श्रेष्ठ, ६८ केजीमाथि राष्ट्रिय टिमकी गंगादेवी अधिकारी तथा ६८ केजीमुनि राष्ट्रिय टिमकी कल्पना बस्नेतले पहिलो स्थान हासिल गरेका थिए ।
महिला टिम कातामा राष्ट्रिय टिमले स्वर्ण तथा मध्यमाञ्चलले रजत जितेको थियो । एकल कातामा राष्ट्रिय टिमकी विमला तामाङले मध्यपश्चिमाञ्चलकी शान्ति लामालाई पछि पार्दै पहिलो भइन् । जुनियरमा महिलाको २५ केजीमा निकिता, पुरुषको ३० केजीमा रोहित तथा महिलाको एकल कातामा विद्या धारेले भारतलाई स्वर्ण दिलाएका थिए ।
एकदिने प्रतियोगिताका विजयी टिम तथा खेलाडीलाई नेपाल कराते डो महासंघ तथा नेपाल सितोरियो कराते डो सङ्घका अध्यक्ष दावा गुरुङ, स्व. कात्सुहिकोका पिता हान्सी गियो गिबोलगायतले ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । यसअघि प्रतियोगिताको राखेप सदस्यसचिव युवराज लामा र स्व. कात्सुहिकोका पिता हान्सी गियो गिबोले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

स्वर्णविजेता ध्रुवलाई पचास हजार
राष्ट्रिय खेलकुद परिषद्ले श्रीलंकाको हाम्वनटोटामा भएको प्रथम दक्षिण एसियाली विच खेलकुदका स्वर्णधारी ध्रुवप्रसाद अर्याललाई हालै नगदसहित सम्मान गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको समीक्षालयमा आयोजित एक कार्यक्रममा राखेप सदस्यसचिव युवराज लामाले ध्रुवलाई नगद ५० हजारसहित प्रशंसापत्रद्वारा सम्मान गरेका हुन् ।
अक्टोबर ८ देखि १४ तारिखसम्म भएको उक्त खेलकुदअन्तर्गत इक्वेसट्रियन (घोडचढी) तर्फ व्यक्तिगत स्पर्धाको टेन्ट पेकिङ रिङ एन्ड प्याकमा ध्रुवले स्वर्ण जितेका थिए । एक स्वर्णका अलावा उनले व्यक्तिगत स्पर्धामै १ कास्यका साथ टिम स्पर्धामा पनि दुई रजत हात पारेका थिए । उक्त खेलकुदमा प्राप्त त्यो स्वर्ण नै नेपालको सबैभन्दा ठूलो उपलब्धि हो । नेपालले उक्त खेलकुदमा एक स्वर्ण, दुई रजत र पाँच कास्य गरी जम्मा आठ पदक हात पारेको थियो ।
सो सम्मान कार्यक्रममा सदस्यसचिव लामाले राखेपले धेरै अगाडि सम्मान गर्ने सोच बनाए पनि विविध कारणले गर्दा ढिलो हुन पुगेको बताए । सदस्यसचिव लामाले थुप्रै अभावबीच सहभागिता जनाई घोडचढीमार्फत नेपाललाई स्वर्ण दिलाएकोमा खेलाडी ध्रुवप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका थिए । नेपाल इक्वेस्ट्रियन सङ्घका अध्यक्षसमेत रहनुभएका सदस्यसचिव लामाले हाल इक्वेस्ट्रियन सङ्घ कार्यालय व्यवस्थापन र खेलाडीको लगत सङ्कलन गर्ने गृहकार्यमा लागेको जानकारी गराउँदै सङ्घले विभिन्न १० जिल्लामा इक्वेस्ट्रियन सङ्घ गठन गर्ने निर्णयसमेत गरेको अवगत गराउनुभयो ।

डा. रवर्ट कक एथलेटिक्स प्रतियोगिता सम्पन्न
नेपाल एथलेटिक्स सङ्घको वार्षिक कार्यक्रमअनुसार नेपाल क्षयरोग निवारण संस्था, ललितपुर जिल्ला एथलेटिक्स सङ्घ र पाटन जेसिजको संयुक्त आयोजनामा क्षयरोगका किटाणु पत्ता लगाउने डा. रवर्ट ककको स्मरणमा उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय, कलेजस्तरीय र मास्टर्स समूहको एथलेटिक्स प्रतियोगिता हालै सम्पन्न भएको छ । उक्त प्रतियोगितामा तीनै जिल्लाका २५ माध्यमिक विद्यालय, १७ कलेज र मास्टर्स प्रतियोगिता गरी दुई सय ७७ छात्र÷छात्रा र ३५ मास्टर्स खेलाडीको सहभागिता थियो ।
उक्त प्रतियोगिताको माध्यामिक विद्यालयतर्फको सय मिटर पुरुषतर्फ एपीएफका सौगात सुनुवार, महिलातर्फ विजेश्वरी ज्ञानमन्दिरकी करुणा थापाले स्वर्ण पदक जितेका थिए । त्यस्तै, माध्यमिक विद्यालयतर्फकै १५ सय मिटर पुरुषतर्फ न्यु हिमालयन स्कुलका रामकुमार श्रेष्ठ, महिलातर्फ विजेश्वरीकी विनिका जोशीले स्वर्ण पदक जितेका थिए । यसैगरी लङजम्पतर्फ एपीएफका सुभास गुरुङ र महिलातर्फ विजेश्वरीकी प्रतिज्ञा भण्डारीले प्रथम स्थान हासिल गरेका थिए ।
यसैगरी कलेजतर्फ भएको प्रतिस्पर्धामा पुरुष सय मिटरतर्फ कोलम्बसका रोशन पाण्डे र महिलातर्फ डीसीएम कलेजकी दिलमाया कार्की प्रथम भएका थिए । सोही समूहअन्तर्गत भएको १५ सय मिटरमा वासु उमाविका लक्ष्मण काफ्लेले बाजी मारेका थिए । यसैगरी महिलातर्फ संगीता तिवारीले प्रथम स्थान हासिल गरेकी थिइन् । त्यस्तै पुरुषतर्फको लङजम्पमा पाटन बहुमुखी क्याम्पसका विजय मानन्धरले स्वर्ण पदक जितेका थिए । यसैगरी मास्टर्सतर्फका पाँच हजार मिटरका विभिन्न प्रतिस्पर्धामा महेन्द्र बज्राचार्य, भीमबहादुर गुरुङ, कृष्ण गुरुङ, बुद्धवीर लामा, शिवजी श्रेष्ठ र सुष्मा थापाले विजय हात पारेका थिए ।

बस्नेतका परिवारलाई आर्थिक सहयोग
अमेरिकाको न्युजर्सीमा सडक दुर्घटनामा परी निधन भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का वरिष्ठ अधिकृत राजेन्द्रकुमार बस्नेतका परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । राखेपमा स्थायी रूपमा कार्यरत कर्मचारीको एक महिनाको तलबको १.५ प्रतिशतका दरले हुन आउने जम्मा एक लाख ९२ हजार तीन सय रुपैयाँ स्व. बस्नेतका परिवारलाई प्रदान गरिएको हो । राखेप कर्मचारी सङ्घका अध्यक्ष नारायणदेव राणाले स्व. बस्नेतकी धर्मपत्नी कल्पना बस्नेत (कार्की) लाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका थिए । ४४ वर्षीय सोलुखुम्बुनिवासी बस्नेतको गत फागुन २ गते अमेरिकास्थित न्युजर्सीमा सडक दुर्घटनामा परी मृत्यु भएको थियो । घटना घटेको दिन बस्नेत अमेरिका पुगेको १६ दिन मात्र भएको थियो । स्व. बस्नेत इमानदार, कर्तव्यनिष्ट, लगनशील एवम् मिलनसार कर्मचारीका रूपमा परिचित थिए । स्व. बस्नेतका श्रीमतीसहित चार वर्षीय नाबालक छोरा छन् । उनका लागि राखेपले पठनपाठनका निम्ति तीन लाख सहयोग गर्न युवा तथा खेलकुद मन्त्रालयमार्फत सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ ।

डान्स स्पोर्टस्को अध्यक्षमा बानियाँ
डान्स स्पोर्टस् सङ्घ, नेपालको अध्यक्षमा रामकृष्ण बानियाँ निर्विरोध चुनिएका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको सङ्घको प्रथम राष्ट्रिय अधिवेशनले बानियाँको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमितिसमेत निर्विरोध चयन गरेको छ । सङ्घको चार उपाध्यक्षमा सन्तु श्रेष्ठ, वासुदेव उपाध्याय, ग्याम्जो शेर्पा ह्याल्मो तथा नरबहादुर खड्का रहेका छन् । त्यस्तै महासचिवमा महेश्वर सुनार, सचिवमा सरोज बानियाँ, सहसचिवमा लालध्वज लामा तथा कोषाध्यक्ष नन्दा बस्याल रहेकाछन् । यसैगरी सदस्यहरूमा सन्तबहादुर लामा, प्रकाश शेर्पा ह्याल्मो, दावा सनम शेर्पा ह्याल्मो, शंकर बीसी, चिजकुमार ढकाल तथा नृपध्वज खत्री चयन भएका छन् ।