विरोधका बाबजुद अध्यादेश नरोकिने शंकर पोखरेलको उद्घोष

विरोधका बाबजुद अध्यादेश नरोकिने शंकर पोखरेलको उद्घोष


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारले ल्याएका अध्यादेश कसैले विरोध गर्दैमा नरोकिने बताएका छन् ।

एमाले विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको ‘नेपालका लागि सूचना प्रविधिमा आधारित उद्यमशीलता : आर्थिक समृद्धिको नयाँ बाटो’ विषयक अन्तरक्रियामा मन्तव्य दिने क्रममा उनले मुलुकमा सुशासनका लागि अध्यादेश ल्याइएको भन्दै कसैले विरोध गर्दैमा नरोकिने जिकिर गरे ।

महासचिव पोखरेलले हरेक विषयको विकल्प हुने र अध्यादेश पारित गर्न पनि उपयुक्त विकल्प प्रयोग गरिने धारणा अघिसार्दै भने, ‘अध्यादेशको विरोध गर्दैमा त्यो कोसिस असफल हुन्छ भन्ने नठाने हुन्छ किनकि प्रमुख पार्टीले सोचेरै यो काम गरिएको हो । त्यस अर्थमा विधेयकलाई जसरी पनि टुग्याउँछौँ, कसैले विरोध गर्दैमा विधेयक रोकिनेवाला छैन, कुनै पनि विकल्प प्रयोग गरेर त्यसलाई पारित गर्छौं ।’

सरकारले अध्यादेशका माध्यमबाट सूचना प्रविधि क्षेत्रलाई पनि सम्बोधन गरिएको उल्लेख गर्दै महासचिव पोखरेलले अध्यादेशमा कानुनको स्पष्ट व्याख्या गरिएकाले नियमावली आवश्यक नपर्ने र आवश्यक परे सरकारले चाँडै त्यो काम पनि अगाडि बढाउने बताए । ‘मुलुकमा उत्पादनको सम्भावना हेरेर सूचना प्रविधिमा मात्र विदेशमा लगानी गर्न दिएको हो । सूचना प्रविधि क्षेत्रमा कानुन अभावले केही समस्या भए पार्टीमार्फत सरकारसमक्ष सुधारको प्रक्रिया अगाडि बढाउँछौँ । अध्यादेशले सुधारका लागि पहल गरेको छ’, उनको भनाइ थियो ।

file photo