‘पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरी’
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियनले शनिबार (३ फागुन) चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि गर्नु जरुरी रहेको बताएका हुन् ।
“पार्टीलाई कसरी बलियो बनाउने भन्नेतर्फ केन्द्रित हुनुपर्छ, पार्टी र हामीभन्दा पनि म भन्ने प्रवृत्ति हाबी हुँदा पार्टी कमजोर हुन्छ”, व्यक्तिवादी प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने तर्क गर्दै उनले भने, ‘पार्टीलाई बलियो बनाउनका लागि व्यक्तिवादी प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ ।’
माथिबाट तल्लो तहसम्म निर्वाचन हुने प्रक्रियाले निर्वाचित हुनेले आफू भन्ने र हार्नेले असहयोग गर्ने प्रवृत्ति अन्त्य गर्न विधानका कमीकमजोरीलाई सच्याउन आवश्यक रहेको उनको भनाइ छ । एकले अर्कोलाई स्वीकार गर्ने वातावरण तयार गरेर अघि बढ्नु अहिलेको आवश्यकता रहेको उनले औंल्याए ।
अर्को प्रसङ्गमा पार्टीको महाधिवेशन २०८२ सालमा सम्भव नरहेको उल्लेख गर्दै उनले भने,’पार्टीको १५औँ महाधिवेशन केही समय पछि सर्न सक्छ, तयारी केही पुगेको छैन, तयारीका लागि केही समय थप गर्न सकिन्छ ।’ विधानतः एक वर्ष ६ महिना थप्न सकिने भए पनि कति समय थप हुन्छ भन्नेमा केन्द्रीय समितिको बैठकले निर्णय गर्ने उनले बताए ।
सरकारले ल्याएको अध्यादेश पास गर्ने विषयमा विपक्षी दलहरुसँग छलफल भइरहेको जानकारी दिँदै प्रवक्ता महतले भने, ‘पाँच वटा अध्यादेशमा केही समस्या छैन, भूमिसम्बन्धी अध्यादेशमा देखिएको समस्या प्रतिस्थापन विधेयकबाट हल हुन्छ ।’
प्रतिक्रिया