कांग्रेसमा गगनको गनगन !

कांग्रेसमा गगनको गनगन !


नेपाली कांग्रेसको १४औं महाधिवेशनमा अप्रत्याशित रुपमा महामन्त्रीमा विजयी भएका गगन थापा त्यो विजयपछि अत्यन्त महत्वाकांक्षी बनेका छन् । सानै उमेरमा तीन पटक सांसद बनेका उनका लागि त्यो महत्वाकांक्षा जाग्नु स्वाभाविक पनि हो ।

विद्यार्थी संगठनबाट राजनीतिमा आएका थापा एक पटक कांग्रेस राजनीतिमा, विशेषतः युवाहरूमा सबैभन्दा लोकप्रिय पनि थिए । त्यही आधारले समेत महामन्त्री जस्तो अहम् र जिम्मेवार पदमा निर्वाचित पनि भए, यो पनि स्वाभाविक नै थियो ।

तथापि, माथिका दुवै स्वाभाविक कुरा विपरीत अस्वाभाविकचाहिँ के देखियो भने, उनको त्यो स्वाभाविक सफलताले उनमा अस्वाभाविक सपना र महत्वाकांक्षाको बीजारोपण भयो । बीजारोपणमात्र होइन, यसबेलासम्म त त्यो झाङ्गिएर ठूलो वृक्ष समेत भइसकेको छ । कसैमा कुनै महत्वाकांक्षा पलाउनु उसका लागि त त्यो ठीकै लाग्दो हो । गगनलाई पनि त्यो ठीकै लागेको हो । तर, उनमा देखिएको अति-महत्वाकांक्षा अन्ततः उनका लागि अत्यन्त प्रत्युत्पादक सावित भएको छ ।

महामन्त्रीमा जितेपछि संसदीय दलको नेतामा नराम्रोसँग पराजित भएका गगनले आफ्नो त्यो पराजयलाई के बुझ्न सकेका छैनन् भने- कांग्रेसले महामन्त्रीमा जिताएर उनको ठाउँ त्यहीं तय गरेको थियो, सीमा लगाएको थियो । उनको एकपछि अर्को उच्च महत्वाकांक्षालाई संसदीय दलको निर्वाचन परिणामले नियन्त्रण गरेको उनले अझै बुझ्न सकेका छैनन्, जुन उनले बुझ्न जरुरी छ ।

त्यसो त महामन्त्रीमा सर्वाधिक मत ल्याएर विजयी हुनुमा शेखर कोइरालापक्षीय मतको ठूलो हिस्सा रहेको र संसदीय दलमा त शतप्रतिशत त्यही आधार रहेको उनले बिर्सनु हुँदैन । संसदीय दलमा उनले आफ्नो बुताले एउटा मत मात्र ल्याएका हुन्- आफ्नो । यो तथ्यमा उनी अवगत छन् कि छैनन्- तर कांग्रेस र सिङ्गो देश यसमा बेखबर छैन ।

यतिबेला उनी फेरि एउटा अर्को महत्वाकांक्षामा सवार भएका छन् । त्यो हो- आउँदो महाधिवेशनमा कांग्रेसको सभापतिको उम्मेदवार बन्ने र जित्ने पनि ! त्यसपछि सांसद जितेर प्रधानमन्त्री बन्ने ! कसैले कुनै सपना देख्नु नराम्रो होइन, उसले सपना देख्न पाउनु पर्दछ । तर, त्यो सपनामा आधार भएन भने त्यो सपना सपना नै रहन्छ र त्यसलाई हुरीले उडाइ लान्छ ।

कुरा आउँछ- गगनको कांग्रेस सभापति र प्रधानमन्त्री बन्ने सपनामा कुनै आधार छ त ? विद्यार्थी राजनीतिबाट उदाएका उनी विद्यार्थी पाराले नै एक पटक महामन्त्री भए । तर, एउटा नेताले गर्नुपर्ने भूमिकामा उनी चुकेका छन्, विद्यार्थी राजनीतिभन्दा माथि उठ्न नसक्नु उनको सबैभन्दा ठूलो कमजोरी रह्यो ।

भाषण मात्र राजनीति होइन । त्यसमा पनि कांग्रेसको सभापति र मुलुकको प्रधानमन्त्री बन्ने योग्यता भाषण होइन । तीन पटक सांसद हुँदा र अझ मन्त्री हुँदा समेत उनले के योग्यता र क्षमता देखाए त ? शून्य ! केवल भाषण र भाषण मात्र ! यहाँनेर के हेक्का राखिनु पर्दछ भने, बीपी कोइरालाभन्दा राम्रो भाषण गर्ने मानिस पनि थिए । तर ती ‘राजनेता’ चाहिं बन्न सकेनन् । गगन काजीको पनि अवस्था त्यही हो । केटौले पाराको भाषणले कांग्रेसको नेतृत्व लिन र मुलुक हाँक्न सक्तैन ।

मुलुक र कांग्रेस हाँक्नु भनेको जेसीजको नेतृत्व विकासको तालिम होइन र बुढानीलकण्ठ स्कूलको वक्तृत्वकला प्रतियोगिता पनि होइन ।