अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा सङ्घीयता लाद्न बीस मिलियन अमेरिकी डलर खर्च गरिएको सार्वजनिक गरिदिएका छन् । राष्ट्रपति ट्रम्पले विभिन्न मुलुकमा अमेरिकाद्वारा विगतमा गरिएको अवान्छित लगानीबारे जानकारी गराउँदै नेपालमा सङ्घीयताका निम्ति बीस मिलियन डलर (करिब पौने तीन अर्ब नेपाली रूपैयाँ) लगानी भएको स्पष्ट गरिदिएका हुन् ।
ट्रम्पले यसलाई ‘फ्रड’को संज्ञा दिँदै भनेका छन् – ‘दिस इज फ्रड !’
यसरी अमेरिकी राष्ट्रपति ट्रम्पले सङ्घीयता लाद्न अर्बौं रूपैयाँ नेपालमा लगानी गरिएको सार्वजनिक गरिदिनु असामान्य घटना भएपनि नेपालका कथित ठूला मिडिया मौन बसेका छन् र सङ्घीयता र धर्मनिरपेक्षतालाई महान उपलब्धि दाबी गर्नेहरू पनि निर्लज्जतापूवक मौन बसेका छन् ।
घटना र विचारले २०६४ साल देखि नै सङ्घीयता र धर्मनिरपेक्षता लाद्न विदेशीको ठूलो लगानी रहेको दाबीसहित लेख तथा समाचार सामाग्री सम्प्रेषण गर्दै आएको थियो । तर त्यसबेलादेखि नै कथित ठूला मिडियाहरूले सङ्घीयता र धर्मनिरपेक्षताको पक्षमा चर्को वकालत गर्दै आएका थिए ।
ज्ञातब्य छ, नेपालविरूद्धको त्यस कुकर्मका निम्ति विदेशीहरूले मिडियामा पनि ठूलो लगानी गरेका थिए । त्यसक्रममा कैयन प्रकाशक र सम्पादकहरू रातारात रहस्यमयी ढङ्गबाट करोडौंको मालिक बन्न पुगेका थिए । घटना र विचार लगायत अत्यन्तै सीमित सन्चार माध्यमले मात्र विदेशीको चारा ग्रहण गर्न अस्वीकार गर्दै सङ्घीयता र धर्मनिरपेक्षतामा जाने कुराको विरोध गरेको थियो । त्यसबेला विदेशीको अन्नपानीबाट पेट पाल्नेहरूले घटना र विचारमाथि प्रतिगमनको पक्षपाती भएको आरोपसमेत लगाएका थिए । तर अहिले अमेरिकी राष्ट्रपति ट्रम्पले नै सङ्घीयता लाद्न अमेरिकाबाट बीस मिलियन डलर लगानी भएको तथ्य सार्वजनिक गरिदिएपछि घटना र विचारको अडान सही भएको पुष्टि हुन पुगेको छ। तर नेपाली राजनीतिकर्मी, कानून ब्यवशायी र मिडियामा सङ्घीयता र धर्मनिरपेक्षताका निम्ति लगानी गर्नेमा युएस एड र अमेरिकी सरकार मात्र नभएर कुख्यात जर्ज सोरसको ओपन सोसाइटी लगायत अन्य तीन दर्जन आइएनजिओ पनि रहेका छन् ।
ओपन सोसाइटीले यसअघि नै आफ्नो वेबसाइटमा नेपालको वर्तमान (सङ्घीयता र धर्म निरपेक्षतासहितको) संविधान बनाउन तीन अर्ब रूपैयाँ खर्च गरिएको तथ्य सार्वजनिक गरेको थियो । आफ्नो वेबसाइटमा ओपन सोसाइटीले जनाएअनुसार कुल रकमको पन्ध्र प्रतिशत पत्रकारलाई, तीस प्रतिशत वकिल र बाँकी पचपन्न प्रतिशत अन्यमाथि खर्च गरिएको थियो । ओपन सोसाइटीको प्रमुख हर्ताकर्तामा गिरिजाप्रसाद कोइरालाका कुख्यात पीएहरू हरि शर्मा र पुरन्जन आचार्य लगायत संलग्न थिए । सोसाइटीले राजनीतिकर्मी, पत्रकार र वकिल लगायतमाथि ठूलो धनराशि वितरण गर्दै आएको थियो ।
प्रतिक्रिया