सेक्सका कुरा त खुलेरै गर्नु राम्रो

सेक्सका कुरा त खुलेरै गर्नु राम्रो


यिनी हुन् दीपशिखा खड्का । म्युजिक भिडियोमार्फत कलाकारिता फाँटमा आएकी दीपशिखाले अभिनय गरेको चलचित्र हो– पे्रमविवाह । एनी हाउ नाम कमाउ भन्छिन् दीपशिखा । उनलाई परिवारबाट पनि राम्रो साथ मिलेको छ रे † त्यसैले घटना र विचारसँगको कुराकानीमा उनले भनिन्, जसरी पनि हिट हिरोइन बन्नु छ मलाई ।
० हिट हिरोइन भनेकोचाहिँ कस्तो हिरोइन हो नि ?
– सबैले चिन्ने अनि सबैबाट वाहवाही कमाउने ।
० चर्चाकै लागि त जे गर्दा पनि भयो नि ?
– त्यस्तो जथाभावी काम गरेर नाम कमाउनु छैन मलाई । कलाकारितामा स्वाभिमानका साथ नाम कमाउने नि ।
० पे्रमविवाहमा काम त गरियो, वास्तविक जीवनमा पे्रम गरिएको छ कि छैन नि ?
– तपार्इंले भनेजस्तो पे्रम जालमा परेकी छैन । क्यारियर बनाउने समयमा कहाँ पे्रमको चक्करमा पर्ने ।
० किन, पे्रमले मान्छे बिगार्छ र ?
– त्यसो होइन । तर, क्यारियर बनाउने समयमा अहिले पे्रमसम्बन्धमा पर्दा काममा अवरोध आउँछ कि भन्न मात्र खोजेको ।
० आँखा लगाउनेहरू कत्तिको छन् नि ?
– धेरै छन्, तर मैले पनि लगाउनुप¥यो नि ।
० आजभोलिका युवती सेक्सबारे खुलेर कुरा गर्छन् नि किन होला ?
– कुरा गर्न पनि किन लुकिछिपी गर्नुप¥यो ?
० भनेपछि दीपशिखा पनि कुरा गर्न नलजाउने ?
– किन लजाउनु ? विकृति पो ल्याउनुभएन ।
० धेरै नयाँ युवती त कलाकारिताको नाममा केटा फसाउनेतिर पो लागेको पाइयो ?
– त्यस्ता पनि छन् । सबै राम्रा हुन भन्न सकिन्न ।
० कसरी पट्टिन्छन् केटाहरू ?
– अहिलेसम्म मैले त्यो धन्दामा ध्यान दिएकी छैन, त्यो त पट्याउनेलाई नै सोध्नुस् ।
० अनि कसरी चलेको छ नि घरपरिवार ?
– त्यो मेरो चिन्ता हो । तपाईंलाई केको टेन्सन ?
० फिल्म लाइनमा लागेर बाँच्न सकिएला त ?
– नसकिने भएको भए किन म यही क्षेत्रमा क्यारियर बनाउँछु भनेर लाग्थेँ र ?

जिया र सविनाको नग्नता खेर जाने
चलचित्रको पर्दामा अश्लीलता र नग्नता बढीभन्दा बढी प्रस्तुत गर्न सकियो भने चर्चा पाइन्छ, अनि सबैको वाहवाही पनि पाइन्छ भन्ने सिने क्षेत्रका जिया र सविना नामक युवतीको सपना अन्ततः चकनाचुर हुन पुगेको छ ।
चलचित्र एटीएममा ‘…लाईभन्दा देख्नेलाई लाज’ भनेजस्तो ग्ल्यामर्सको नाममा अश्लील दृश्य बिनासङ्कोच दिएका जिया केसी र सविना कार्कीका तस्बिरहरू केही समय त पत्रपत्रिकाहरूमा खुवै छाए । यी दुई युवती सस्तो चर्चा पाएपछि दङ्ग पनि परे । तर, दीर्घकालीन रूपमा आफ्नो क्यारियरमा कत्तिको असर परिरहेछ र पर्नेछ भन्ने कुराको हेक्का नराख्ने यी दुईलाई हेर्ने दृष्टिकोण नै यतिबेला फरक हुन थालेको छ । सस्तो चर्चाका लागि जे पनि गर्न सक्छौँ भन्नेजस्ता अभिव्यक्ति दिने जिया र सविनाले पर्दामा आफूलाई नग्न रूपमा उभ्याए तापनि दर्शकहरूले भने त्यस्ता दृश्य पर्दामा हेर्ने नपाउने भएका छन् । यस्ता सिनेमा अनि कलाकर्मी र दृश्यहरूले समाजमा गलत सन्देश प्रवाह गर्ने बुझेर अब टेलिभिजनहरूले यस्ता सिनेमाका गीतहरूमाथि प्रतिबन्ध लगाउने भएको छ भने यसको उदाहरणमा परेको छ चलचित्र एटीएइम । यो चलचित्रमा जिया र सविनाले यति धेरै भल्गर दृश्य दिएका छन् कि टेलिभिजनले यस्ता अश्लील गीतहरू प्रसारण गर्नै सकेन । अवस्था यस्तो छ तर जिया र सविना भने अझै पनि आफ्नो कमजोरी मान्दैनन् । त्यसो त यी दुईबारे चलचित्र समीक्षकहरू भन्छन्, ‘जसले पनि आफ्नो क्षमता र दक्षता प्रस्तुत गर्ने हो । जिया र सविना जस्तासँग जे छ उनीहरूले त्यही गरे ।’
कलाकारिताको नाममा अश्लीलता र हेर्नै नसक्ने दृश्यहरू छायाङ्कन गर्ने अनि ‘युवाको माग’ भन्ने नाममा गलत परम्पराको सुरुवात गर्ने सिनेकर्मीहरूको साख यतिबेला क्रमशः गिर्ने अवस्थामा पुगेको छ । सस्तो लगानीमा फिल्म बनाउने अनि फिल्म खेल्ने लोभमा फसेका केही युवतीलाई पर्दामा अश्लीलता प्रस्तुत गर्ने अवसर दिएर ‘नायिका’को उपमा दिने फटाहा सिनेकर्मीले नै नेपाली सिनेमालाई बदनाम गर्न खोजिरहेका छन् । फिल्म खेल्न जस्तो दृश्य पनि दिने केही युवतीका कारण भने स्वच्छ उद्देश्य लिएर कलाकारिता क्षेत्रमा आएकालाई पनि असर परिरहेको छ ।
नाम होस्, बद्नाम होस्, तर गुमनाम नहोस् भन्ने मूल मन्त्र नै सिनेमामा अश्लीलता प्रस्तुत गर्नेहरूको रहेको छ । जसरी भए तापनि फिल्म खेल्ने अनि पर्दामा अनुहार देखाउन लालयित नयाँ युवतीको इच्छालाई पूरा गर्ने वहानामा सिनेमामा अश्लीतालाई बढावा दिने सिनेकर्मीलाई ‘यो काम गलत हो’ भन्ने कुराको ज्ञान होस् ।

निर्माता राजेश दङ्ग
रहर पूरा गर्न होइन अब नेपाली सिनेमा निर्माणलाई व्यावसायिक रूपमा नै अगाडि बढाउने सोच लिएका छन् चलचित्र निर्माता राजेश शाहीले । चलचित्र निर्माणमा पनि राम्रोसँग काम गरेमा व्यावसायिक बन्न सक्छ भन्ने लागेर नै उनले पहिलो चलचित्र ‘कवच’ प्रदर्शन हुनुअगाडि नै अर्को चलचित्रको सुटिङ सुरु गरे– मेरो मनको साथी । चलचित्र ‘कवच’ यतिबेला प्रदर्शन भइरहेको छ भने मेरो मनको साथी पोष्ट प्रोडक्सनमा व्यस्त छ । ‘कवचले राम्रो व्यापार ग¥यो । दर्शकहरूले यो चलचित्र मन पराइदिनुभएपछि ममा चलचित्र निर्माणतर्फ झनै उत्साह थपिएको छ,’ निर्माता राजेश शाहीले भने ।
यसबीचमा निर्माता शाहीले दुवै चलचित्रमा फरक कथालाई समातेका छन् । कवच एक्सनप्रधान चलचित्र हो भने मेरो मनको साथी पूर्ण रूपमा पे्रमकथामाथि आधारित चलचित्र हो । निर्माता शाहीका अनुसार उनले निर्माण गरेको दोस्रो चलचित्र मेरो मनको साथी भने साउनदेखि प्रदर्शनमा आउनेछ ।

रामाको इन्दे्रणी
पुराना गायक रामा मण्डल नयाँ एल्बम लिएर बजारमा आएका छन् । रेडियो नेपालका जागिरे एवम् चलचित्र विकास बोर्डका सदस्य रामाको नयाँ एल्बम इन्दे्रणी यसै साता बजारमा आएको हो । सातवटा गीत सङ्ग्रहित यो एल्बम विष्णु सक्वको सङ्गीत रहेको छ । एल्बमभित्र रामालाई महिला आवाजमा माण्डवी त्रिपाठी र प्राश्ना शाक्यले साथ दिएका छन् भने दिनेश अधिकारी, प्रमोद ढुङ्गाना, श्रीपुरुष ढकाल, कालीप्रसाद रिजाल, ईश्वर सिन्धुले, नवराज लम्साल र प्रदीप अर्यालको गीति रचना रहेको छ ।

मुटुका डाक्टर रामेश र उनको आमाको मुटु नियालेपछि
डा. रामेश कोइराला पेसाले एक चिकित्सक हुनुहुन्छ । उहाँ अलिअलि कुरा बुझ्नसक्ने भएदेखि अर्थात् बाल्यकालदेखि नै उहाँकी आमा बिरामी पर्नुभएको र बिमारी आमाको पीडा र दर्द नजिकबाट देखे–बुझेर नै उहाँले पछि आफू डाक्टरी पढेर बिरामीको उपचार गर्ने उद्देश्य राख्नुभएको थियो । चिकित्सा पेसालाई सेवाको एउटा माध्यम ठानेर रोगीको उपचारमा समर्पित यिनै रामेशद्वारा लिखित पुस्तक ‘आमाको मुटु’ हालै प्रकाशमा आएको छ । माथि व्यक्त गरिएको कुरा उहाँको पुस्तकमा कतै उल्लेख नभए पनि चिकित्सक–लेखकसँगको पारिवारिक सम्बन्धका आधारमा पङ्क्तिकारले व्यक्त गर्ने धृष्टता गरेको हो ।
‘आमाको मुटु’मा लेखकले आफ्नो बाल्यकालदेखि स्कुल पढ्न जाँदाका, साथीभाइसँग खेलबाड गर्दाका, बजारमा चकचक गरेका, अनेक प्रकारका साथ–सङ्गत हुँदाका, बाबुआमाले दिएका अर्तिबुद्धि र बेलाबखत खाएका गाली अनि भेटेका झापडका कुरासमेत अत्यन्त स्वाभाविक, सुन्दर एवम् मार्मिक भाषा–शैलीमा प्रस्तुत गर्नुभएको छ । उक्त संस्मरणमा आधारित पुस्तक पढ्न थालेपछि नसकिउञ्जेलसम्म छोड्नै मन लाग्दैन । यसो हुनमा पङ्क्तिकार पनि एउटै गाउँ–ठाउँको र लेखकका पिताजीसँग समेत साथ–सङ्गतमा रहने अवसर पाएको यथार्थले पनि भूमिका खेलेको पो हो कि ?उ
एउटा व्यक्तिले जीवनमा कतिसम्म दुःख–दर्द या पीडा भोग्नुपर्दोरहेछ भन्ने कुरा पुस्तकमार्फत रामेशले आफ्नै जीवनमा आधारित तथ्यभित्र रहेर वर्णन गर्नुभएको छ । हाम्रो समाजमा त्यस्ता कथा–व्यथा नभोगेका व्यक्ति विरलै होलान् । ‘आमाको मुटु’ पढ्दा हामी अधिकांश नेपालीले उपचारका नाउँमा के–कस्तो र कति हण्डर खानु परिरहेको छ भन्ने छर्लङ्ग भएर आउँछ । लेखकले भोगेजस्तै अन्य घरपरिवारका कथा र व्यथा घरभित्रै गुम्सिएका भए पनि डा. रामेश कोइरालाले बडो हिम्मतपूर्वक उपचारको क्रममा आफ्नी आमाले भोग्नुपरेको पीडाको कथा चित्रण गरिदिनुभएको छ । यसले चिकित्सा–पेसाभित्रको अँध्यारो पक्षलाई उजागर गर्नुका साथै सुधारको बाटोतर्फ अग्रसर हुन सम्बन्धित पेसाकर्मीहरूलाई झकझक्याउने विश्वाससमेत लिन सकिन्छ ।
नयाँ वर्ष ०६९ आगमनको अवसरमा गत वैशाख १६ गते विमोचित ‘आमाको मुटु’मा लेखकले आफ्नो बाल्यकालदेखि वयस्क अवस्थामा आइपुगुञ्जेल भोगेका, देखेका कुराहरू अत्यन्त सरल भाषाशैलीमा मनछुने गरी चित्रण गर्नुभएको छ भने पुस्तकको छपाइ, कागजको गुणस्तर, आवरण सज्जाका आधारमा प्रतिगोटा चार सय रुपैयाँ मूल्य यो महँगीमा अलिक बढी पो हो कि जस्तो लाग्न सक्छ । तर, भित्री पातोमा उल्लेख गरिएको जानकारी पढेपछि त्यो मूल्य बढी होइन रहेछ भन्ने महसुस प्रत्येक पाठकलाई हुने अनुमान गर्न सकिन्छ । पुस्तकको मूल्यबापत प्राप्त हुने रकममध्ये प्रतिपुस्तक रु. ५० लेखकले दीनदुःखी–असहायलाई निःशुल्क शिक्षा दिने विद्यालय स्थापना गर्न सघाउने रहेछन् । लेखक स्वयम् संलग्न ‘हाम्रो प्रयास’ नामक संस्थामार्फत त्यो पुण्य कार्य हुने वाचा गरिनु तारिफयोग्य कुरा हो । जे होस् हजारौँ–लाखौँ ‘आमा’ले उपचारको क्रममा भोग्ने पीडा, दुःख–दर्द र डाक्टरहरूको उपचार पद्धति या शैलीबारे जान्न र जीवनका लागि अवश्यक अन्य ज्ञान प्राप्तिका निम्ति पनि ‘आमाको मुटु’ पढ्नैपर्ने कृतिका रूपमा पाठकमाझ आएको ठोकुवा गर्न सकिन्छ । पुस्तकका लेखक र प्रकाशन गर्ने संस्था दुवै साधुवादका पात्र बनेका छन् । – बी.के.

तपाईंको दृष्टिमा

एक समयकी चर्चित अभिनेत्री हुनुहुन्छ सूर्यमाला शर्मा खनाल । चर्चित अभिनेता सरोज खनालसँग अभिनयकै क्रममा वैवाहिक बन्धनमा बाँधिनुभएकी सूर्यमाला करिब १३ वर्षको अमेरिका बसाइपछि यतिबेला नेपाल आउनुभएको छ । दुई सन्तानकी आमा सूर्यमालामा आज पनि रंगमञ्च र टेलिभिजनमा काम गर्ने जोस, उमङ्ग र उत्सह उत्तिकै छ । विशेष गरेर नाटक र टेलिफिल्ममा उहाँ धेरै जम्नुभएको थियो । ०३९ सालमा प्रतिभा आकाश माग्छे नामक नाटकबाट उहाँको कलाकारिता सुरु भएको हो । सयभन्दा बढी नाटक अनि पचासभन्दा बढी टेलिफिल्ममा अभिनय गर्न सफल सूर्यमाला भन्नुहुन्छ, अझै पनि अभिनय गर्ने इच्छा मरेको छैन । तर विदेशिएपछि त्यो इच्छा पूरा हुन पाएन । केही समयका लागि आफ्नो छोराका साथ काठमाडौं आउनुभएकी सूर्यमालाको भोगाइमा जीवन र जगत् के हो त ? घटना र विचार साप्ताहिकको स्तम्भ तपाईंको दृष्टिका लागि राजन घिमिरेले उहाँसँग गरेको कुराकानी ।

० जीवन के हो ?
– जीवन नबुझेर मानिस जोगी हुन्छ । म पनि सोध्छु जीवन के हो ?
० प्रेम के हो ?
– जीवनको एक अंश रमाइलो पक्ष
० सुन्दरता के हो ?
– चरित्र बनाउने माध्यम
० मन के हो ?
– हामी को हौँ भन्ने सोच्ने माध्यम
० भावना के हो ?
– अरू को हो भन्ने बुझ्ने माध्यम
० विवाह के हो ?
– सम्झौता
० बन्धन के हो ?
– मजबुरी
० अपमान के हो ?
– आफूलाई चिनाउने माध्यम
० इज्जत के हो ?
– आफ्नै उपस्थिति
० बेइज्जती के हो ?
– आफूबाट टाढा हुनुपर्ने अवस्था
० मिलन के हो ?
– सुख
० विछोड के हो ?
– दुःख
० जवानी के हो ?
– जाँगर
० बालापन के हो ?
– निर्दोष
० तृष्णा के हो ?
– लोभ
० रिस के हो ?
– बेवकुफी
० जोस के हो ?
– क्षणिक आवेग
० नसा के हो ?
– सधैं रोमान्टिक हुनु, खुसी रहन सक्नु
० यौन के हो ?
– क्षणिक सुन्दरता
० सन्तुष्टि के हो ?
– शान्ति
० कर्तव्य के हो ?
– जीवन चलाउने कर्म
० विश्वास के हो ?
– अगाडि बढ्नुको माध्यम
० असल के हो ?
– छर्लङ्ग हुनु
० खराब के हो ?
– डरलाग्दो, जीवनलाई बाधा
पु¥याउने चिज
० सबैभन्दा ठूलो धोका के हो ?
– विश्वासलाई तोड्नु
० दुःख के हो ?
– आँसु खसाल्नु
० सुख के हो ?
– चिन्तामुक्ति
० खुसी के हो ?
– आत्मसन्तुष्टि
० आनन्द केमा छ ?
– मिलनमा
० मित्र को हो ?
– दुःखमा चिनिने व्यक्ति
० शत्रु को हो ?
– आफूलाई चिनाउने माध्यम
० सङ्घर्ष के हो ?
– सफलताको सुरुवात
० प्राप्ति के हो ?
– सन्तुष्टि
० आस्था के हो ?
– विश्वास
० धर्म के हो ?
– मनको सन्तुष्टि प्राप्त गर्ने माध्यम, अस्थिर मनलाई स्थिर बनाउने माध्यम
० नैतिकता के हो ?
– स्वाभिमानी उपस्थिति
० चरित्र के हो ?
– व्यवहार
० ज्ञान के हो ?
– अगाडि बढाउने माध्यम
० बुद्धि के हो ?
– आफूलाई सन्तुलन गराउने चिज
० सम्झौता के हो ?
– बाध्यता
० सृष्टि के हो ?
– जहाँ हामी छौँ
० गुरु को हो ?
– जसको शब्दले अगाडि बढ्न सहयोग गर्छ
० राजनीति के हो ?
– छीःछीःछीःछीः…
० देश के हो ?
– नागरिकको परिचय
० समाज के हो ?
– व्यक्तिलाई चिनाउने माध्यम
० पद के हो ?
– क्षमताले पाउने चिज
० विकास के हो ?
– तनाव
० व्यापार के हो ?
– जीवन चलाउने माध्यम
० अनुशासन के हो ?
– अरूलाई बाधा नपु¥याउने नियम