‘आगामी आमचुनावमा एक्लै चुनाव लड्छौँ, सरकार फेर्ने पक्षमा लाग्दैनौँ’ : प्रचण्ड

‘आगामी आमचुनावमा एक्लै चुनाव लड्छौँ, सरकार फेर्ने पक्षमा लाग्दैनौँ’ : प्रचण्ड


नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले सरकार फेर्ने पक्षमा आफुहरु नलाग्ने अभिव्यक्ति दिएका छन् । सो पार्टीले सोमबार (१२ फागुन) झापाको कचनकबलबाट सुरु गरेको ‘जनतासँग माओवादी : तराई-मधेश जागरण अभियान’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेकपा माओवादी केन्द्र अब जनतासँग जाने धारणा व्यक्त गरे ।

‘सरकार फेर्ने पक्षमा लाग्दैनौँ, कसरत पनि गर्दैनौँ, हामीले संकल्प गरेर जनतासँगै सहकार्य गरेर अघि बढ्ने अठोट लिएका छौँ’, उनले भने ।

विगतमा नेकपा एमाले र नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्दा पार्टीले जनतासँगको सम्बन्धबाट विमुख हुनुपरेको उल्लेख गर्दै उनले हिजोका दिनमा भएका कमी कमजोरीप्रति आत्मालोचना र समीक्षा गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।

उनले सबै जातजाति तथा भाषाभाषीसँगको सम्बन्धलाई प्रगाढ बनाउन र एकता कायम गर्ने उद्देश्यले जागरण अभियान सुरुवात गरेको जानकारी दिए ।

आगामी आमचुनावमा पार्टीले एक्लै चुनाव लड्ने उल्लेख गर्दै उनले यसअघि माओवादीसँग सहकार्य गरेर एमाले र कांग्रेस ठूलो पार्टी बनेको जिकिर गरे । ‘जुनबेला हामीले उनीहरुसँग सहकार्य गऱ्यौँ, उनीहरु नै ठूला पार्टी बने । तर, जुनबेला हामी एक्लै चुनाव लडेका थियौँ, त्यसबेला जनताले हामीलाई ठूलो पार्टी बनाएका थिए’, प्रचण्डको रोचक भनाइ थियो ।

झापाका जनताले भोगिरहेको जङ्गली हात्तीको समस्या समाधान गर्न सरकारले ठोस कार्यक्रम ल्याउन नसकेको औंल्याउँदै प्रचण्डले चियाकिसान र श्रमिकका समस्या समाधान खोज्न माओवादी पार्टीले अगुवाई गर्ने प्रतिवद्धताजनाए । उनले आफू दोस्रोपटक प्रधानमन्त्री भएर झापामा सुरुवात गरेको धान सुपरजोन परियोजना हाल बन्द रहेकोमा चिन्ता व्यक्त गरे ।