पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन प्रहरीको अनुरोध

पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन प्रहरीको अनुरोध


नेपाल प्रहरीले महाशिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजा आउने भक्तजनलाई महँगा गहना लगाएर नआउन अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले आपाराधिक तथा चोरीका घटना हुनसक्ने हुँदा त्यस्ता महँगा गरगहना लगाएर आउँदा समस्या पर्नेतर्फ सचेत गराउँदै आवश्यक सुरक्षा सावधानी अपनाउन अनुरोध गरेका हुन् ।

महाशिवरात्रिका अवसरमा शान्ति सुरक्षा कायम गर्न पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको र सहायता कक्षसमेत स्थापना भएको जानकारी गराउँदै उनँले कुनै समस्या परेमा जानकारी गराउन पनि अनुरोध गरेका छन् । ‘देशविदेशबाट पशुपतिको दर्शनका लागि लाखौँको भक्तजन सहभागी हुने भएकाले छिटोछरितो, व्यवस्थित र सुरक्षित दर्शनको व्यवस्था मिलाउन आवश्यक सम्पूर्ण व्यवस्था गरिएको जानकारी गराउँदछु’, उनले भनेका छन् ।

मंगलबार साँझ एक सूचना जारी गर्दै एसएसपी अधिकारीले धार्मिक आस्थाका नाममा विभिन्न आपाराधिक तथा अमर्यादित घटना घट्नसक्ने तर्फ सचेत हुन अनुरोध पनि गरेका छन् । विशेषगरी बालबालिका महिला, वृद्ध तथा फरक क्षमता भएका व्यक्तिलाई पशुपति दर्शनमा प्राथमिता दिन उनको आग्रह छ । बालबालिका हराउनसक्नेतर्फ पनि ध्यान दिन अनुरोध गरिएको छ ।

बाहिरी क्षेत्रमा ड्रोन क्यामेराबाट तथा सिसी टिभीबाट पनि निगरानी हुने जानकारी गराउँदै प्रहरीले सादा पोसाकमासमेत प्रहरी परिचालन गरी शान्ति सुरक्षामा कुनै कमि हुन नदिने प्रतिबद्धता जनाएको छ ।

चोरी, पाकेटमार गर्ने, असभ्य व्यवहार गर्ने र कानुनको उल्लङ्घन गर्ने व्यक्तिलाई कुनै छुट नहुने पनि प्रहरीले चेतावनी दिएको छ । समस्या परेमा आकस्मिक नम्बर १०० मा फोन गर्न पनि अनुरोध गरिएको छ ।

यता काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपतिको सुरक्षाका लागि ८०० भन्दा बढी प्रहरी परिचालन गरेको र ट्राफिक रूटको पनि व्यवस्थापन गरिएको जानकारी गराएको छ । ट्राफिक प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले पशुपति क्षेत्रमा आउने दर्शनार्थीको सहजताका लागि तोकिएका क्षेत्रमा सवारी पार्किङ गरी सवारी व्यवस्थापनमा सहयोग गर्न सबैमा आग्रह गरेका छन् ।