जंगबहादुर नै ठीक रहेछन

जंगबहादुर नै ठीक रहेछन


जंगबहादुर र प्रचण्डलाई दाँजिएको देवप्रकाश त्रिपाठीको लेख पढेर सन्तुष्टि मिल्यो । मैले जंगबहादुरबारे त जानकारी राखेकै थिएँ । निरङ्कुश राणा शासनको प्रवर्तक भएका र राणाहरूको अत्याचारी प्रवृत्तिका कारण इतिहासमा एक खलपात्रका रूपमा धेरैले जंगबहादुरलाई बुझदै आएका छन् । तर, प्रचण्ड त जंगबहादुरभन्दा पनि खत्तम रहेछन् भन्ने देवप्रकाशजीको लेखबाट बुझन पाइयो । उहाँको विचारसँग म पनि सहमत छु । प्रचण्ड ‘सत्ताप्राप्ति’ र ‘बदलाको भावना’बाट गाइडेड छन् भन्ने मलाई लाग्छ । यस हिसाबमा म दाबीका साथ भन्न सक्छु कि प्रचण्ड कहिल्यै राजनेता वा सफल व्यक्ति हुन सक्दैनन् । दुर्भाग्यवश उनी असफल नेता सावित हुन पुगेका छन् । उनलाई सत्ताको नेतृत्व गर्न दिएपछि नेपालको दुर्भाग्यको दिन सुरु भएकोले प्रचण्डलाई कालोसूचीमा राख्नु उपयुक्त हुन्छ ।
– टीपी पोखरेल

‘खलपात्र’हरूलाई नङ्ग्याइयोस
घटना र विचारको गत जेठ २६ को अङ्कमा प्रकाशित ‘जंगबहादुर र प्रचण्ड’ शीर्षकको लेख पढेर अनौठो लाग्यो । लेखकलाई प्रचण्ड ‘अन्धो रोग’जस्तो लागेछ । तर, यो देशको राजनीतिमा यति धेरै खलपात्रहरू छन् कि तिनीहरूका लागि प्रचण्डको कुनै पनि खराबी औंल्याउने ठाउँ छैन । यो यथार्थलाई विद्वान् लेखकले नबुझेका होलान् भन्न सकिन्न । यो वास्तविकताबाट टाढा रही किन प्रचण्डको कमजोर मात्र खोतल्ने प्रयत्न गरियो – कतै यो पूर्वाग्रही भएर लेखिएको त होइन – यो देश प्रचण्ड सत्तामा पुग्नुभन्दा निकै दशक अगाडिदेखि बिग्रिएको या बिगारिएको भन्ने त घामजत्तिकै र्छलङ्ग छ । यो देशका नेतारूपी बद्नाम खलपात्रहरूलाई देश-दुनियाँसमक्ष नङ्ग्याउने हिम्मत लेखकसँग छ – छ भने त्यो आजको आवश्यकता हो ।
– आगमन, काठमाडौं

डेन्टल कलेज भ्रष्टाचारको आहालमा
मसलन्द खरिद तथा छपाइमा अनियमितता भएको भन्दै बालाजुस्थित पिपल्स डेन्टल कलेजका जिम्मेदार सदस्यले बोर्ड बैठकमा कुरा उठाएपछि उक्त प्रकरण चर्केर गएको छ । गत शुक्रबार बसेको डेन्टल कलेजको बोर्ड बैठकमा बोर्ड सदस्यले नै एकाउन्टेन्ट, स्टोरकिपर र केही कर्मचारीको मिलोमतोमा भ्रष्टाचार गरिएको कुरा उठाएका थिए । बोर्ड बैठकमै भ्रष्टाचारसम्बन्धी गम्भीर आरोप लागेपछि छानबिन कार्य गर्न अस्पताल प्रशासनलाई दबाब परेको छ । डेन्टल अस्पतालमा नै कार्यरत प्राविधिक कर्मचारीको लगानीको छापाखानामा छापिएका विभिन्न मसलन्दहरू बिलमा तोकिएको सङ्ख्यामा उपलब्ध नगराइएको तथा छपाइ मूल्यसमेत निकै महँगो गरिएकाले मिलोमतोमा व्यापक भ्रष्टाचार गरिएको आरोप डेन्टल कलेजभित्र व्यापक छ । कमलपोखरीस्थित प्रमोशन प्रेसमा छापिएको मसलन्दको बिल पास भइसकेको भए पनि दुरुपयोग भएको रकम एकाउन्टेन्ट, स्टोरकिपर र भ्रष्टाचारमा संलग्न कर्मचारीहरूबाट असुल्नुपर्ने निर्णय भएको छ ।
– विमला दाहाल

हाम्रो कारणले आर्थिक
अवस्था बिग्रिएको होइन
गत जेठ २६ गते प्रकाशित घटना र विचारमा गलत नियतबाट प्रेषित गरिएको पाठकपत्र प्रकाशित भएको देखेर हामीलाई दु:ख लाग्यो । रत्नराज्यलक्ष्मी उमाविमा १२ जना निजी स्रोतका शिक्षक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत ढकालले मनखुसी नियुक्त गरेको भनी दाबी गर्नु सरासर झुटको खेती गर्नु हो । ढकाल व्यवस्थापनमा आउनुभएको एक-डेढ वर्ष मात्रै भएको छ । तर, हामी निजी श्रोतबाट तलब खाने शिक्षकहरू त सातदेखि २० वर्ष कार्यकाल पूरा गर्नेसम्मका छौँ । त्यसैले निजी श्रोतका शिक्षकहरूकै कारण रत्नराज्य उमाविको आर्थिक अवस्था बिग्रिएको र अभिभावकमाथि मर्का परेको भन्ने कुरा गलत र भ्रामक हो ।
-दीपक अंगाई, मञ्जु खना, अम्बिका सत्याल, नवराज केसी, केशव रेग्मी -सान्दाइ), शिलु खनाल, प्रभा बुढाथोकी, सुदेष्णा अधिकारी, सीता महर्जन, सुष्मिता अर्याल, हिम आचार्य र रमा खनाल, रत्नराज्यलक्ष्मी उमाविका शिक्षकहरू