‘सभापति’को दौडमा आरजु पनि ?

‘सभापति’को दौडमा आरजु पनि ?


नेपाली कांग्रेसको आगामी १५औं महाधिवेशनको समय जति-जति नजिकिँदैछ, नेतृत्वका आकांक्षी अनुहारहरु त्यति-त्यति देखिइँदैछन् ।

यसै क्रममा अहिले कांग्रेस वृत्तमा अप्रत्याशित रुपले सभापतिको दावेदारका रुपमा आरजु राणाको नाम पनि चर्चामा आउन थालेको छ । संस्थापन समूहबाट पूर्णबहादुर खड्का, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधी जस्ता पुराना र संघर्षशील कांग्रेसीको नाम चर्चामा आउने बित्तिकै शेरबहादुर देउवासँग विवाह गरेपछि मात्र सत्ताभोग गरिरहेकी आरजुको नाम बजारमा फ्याँकिनु अर्थपूर्ण छ । यसलाई कांग्रेस वृत्तमा मात्र होइन, सम्पूर्ण प्रजातान्त्रिक तप्कामा निकै नै चाख र चासोका रूपमा लिइँदैछ ।

त्यसो त शेरबहादुर देउवाले चाहेमा (जो उनी चाहन्छन् पनि) आरजु सभापतिको उम्मेदवार पक्कै हुने छिन्, जसलाई संस्थापन पक्षले पक्षका अरु दावेदारले शिर झुकाउँदै ‘सहर्ष !’ स्वीकार्नुको विकल्प छैन । देउवा पक्षमा यसको खास विरोध पनि हुने छैन । एकछिनका लागि नाकरनुकुर गरे पनि पूर्णबहादुर खड्का, विमलेन्द्र निधी, गोपालमान श्रेष्ठ र प्रकाशमान सिंह सभापति देउवाको निर्णय यसकारण पनि मान्न बाध्य हुनेछन् कि उनीहरू आफ्नो तागतमा होइन, देउवाकै आशीर्वाद पाउँदा मात्रै सफल हुने हुन् । आफ्नो तागतमा नभएर देउवाकै आशीर्वादमा भर परेकाहरूको हविगत त्यतिबेला थाहा हुन्छ । जब आफ्नै तागतमा निर्वाचन लड्नु र लडाइनु पर्छ भने- देउवाले पनि आरजु नरोजेर अर्को किन खोज्ने ?

देउवाले माथि उल्लेखित नामहरू एकपछि अर्को गर्दै ‘मार्केट’मा फ्याँक्दैछन् । त्यसो त देउवासँग आशीर्वाद माग्न चाहनेमा झापा क्षेत्र नं. ३ का नेता कृष्णप्रसाद सिटौला पनि छन् । तर उनी त्याग, तपस्या र समर्पणका हिसाबले माथि उल्लेखित नामहरू भन्दा जुनियर भएकाले उनले देउवाको आशीर्वाद पाउने कुरा निकै क्षीण आँकलन गरिन्छ । देउवालाई पनि थाहा छ कि, यसो गरेमा उनले आफ्नो समूहलाई एक बनाउन सक्ने छैनन् ।

आरजुका सम्बन्धमा भने कांग्रेसको ४० वर्ष पहिलेको इतिहास पनि सम्झनु पर्दछ । त्यो के भने- उपत्यकामा मात्र होइन, त्याग र तपस्याका लागि देशकै एउटा चर्चित अनुहार हरिबोल भट्टराई काठमाडौं कांग्रेसको सभापतिबाट अत्यन्त अनुचित रुपले ‘अपदस्थ’ गरेर गणेशमान सिंहका पुत्र प्रकाशमान सिंहलाई सभापतिमा विराजमान गराइयो । एउटा तपस्वीको राजनीतिक हत्या हुँदा त्यतिबेला कुनै कांग्रेस चुइँक्क बोलेनन् ! यो उदाहरण किन पस्केको भने- परिवारलाई नेतृत्व हस्तान्तरण गर्ने लोभबाट त्यागका प्रतिमूर्ति गणेशमान सिंह त मुक्त हुन सक्नुभएन भने, देउवाले आरजुलाई स्थापित गर्न चाहनु स्वाभाविक नै हो ।

देउवाले एउटा अर्को काम पनि बडो चलाखीका साथ गरिरहेछन् – गोपालमान, पूर्णबहादुर, प्रकाशमान र निधीबीचमा एकता हुन नदिने । यसो भएमा उनलाई आरजुका लागि सजिलो पर्नेछ । आरजुका नाममा सर्वसम्मत गराउनका लागि उनले यो रणनीति अपनाएको देखिन्छ । उता, डा. शेखर कोइराला त आफ्नै तरिकाले सभापतीय दौडमा सामेल भइरहेकै छन् ।

निष्कर्षमा पुग्दा, के कांग्रेस सभापतिको उम्मेदवारमा आरजु नै देउवाको वास्तविक आकांक्षा हो त ? यसो भएमा कुनै आश्चर्य नमान्दा हुन्छ, किनकि देउवा समूहमा कोही आफ्नै तागतले सभापति बन्ने ल्याकत राख्दैनन् । त्यसो हुँदा ‘देवर’हरू ‘भाउजू’सँग नतमस्तक हुनुको अर्को विकल्प पनि छैन ।