चरम भ्रष्टाचारीलाई मृत्युदण्ड दिन ध्यानाकर्षण

चरम भ्रष्टाचारीलाई मृत्युदण्ड दिन ध्यानाकर्षण


नागरिक शक्ति, नेपालको केन्द्रीय समितिको बैठक कपिलवस्तुको वाणगङ्गामा सम्पन्न भएको छ । बैठकले साङ्गठनिक कार्य योजना तर्जुमा गर्नुका साथै नेपालीको हातमा अर्थतन्त्र, देशको मित्र चिनौँ र सामाजिक नागरिकतन्त्रबारे जागरण लगायतका अभियान सन्चालन गर्ने र सङ्गठन बिस्तारका निम्ति देशब्यापी कार्यक्रम अघि बढाउने निर्णय लिएको जनाइएको छ । गत शनिबार (१७ फागुन) सम्पन्न केन्द्रिय समितिको बैठकले जनसरोकारका कतिपय विषयमा महत्वपूर्ण प्रस्ताव पनि पारित गरेको सो पार्टीका महासचिव सुभासप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

महासचिव पाण्डेका अनुसार नेपालमा सङ्घीयता र धर्मनिरपेक्षताको अवधारणा कार्यान्वयनमा ल्याउन बाहिरी शक्तिको लगानी रहेको तथ्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमार्फत सार्वजनिक भएको तर नेपालको अर्थमन्त्रालयले त्यसरी रकम नआएको स्पष्टीकरण दिएको हुँदा त्यस सम्बन्धमा उच्चस्तरीय छानवीन समिति गठन गरी तथ्य सार्वजनिक गर्न र अनुचित रकम लिनेहरूको विवरण आम जनताको जानकारीमा ल्याउन पार्टी बैठकले माग गरेको छ ।

यस्तै, देशमा प्रजातन्त्रका विरूद्ध २०५२ देखि २०६२ सालसम्म माओवादका नाममा चलाइएको हिंसात्मक आन्दोलनको औचित्य पुष्टि हुन नसकेको ठहर बैठकले गरेको छ । उक्त हिंसात्मक गतिविधिका मुख्य अगुवाहरूले सार्वजनिक रूपमा क्षमायाचना गर्दै कानूनी कारवाहीका निम्ति आफूलाई समर्पण गर्न बैठकले आह्वान गरेको छ । सरकारको विभिन्न उच्चपदीय जिम्मेवारीमा रहिसकेका र रहेका राजनीतिक तथा प्रशासनिक ब्यक्तिहरूको सम्पत्ती छानवीन गरि अनुचित आर्जन गरेको प्रमाणित भएमा दोषीलाई कानूनी कारवाही गर्न र चरम भ्रष्टाचारी ठहर भएका ब्यक्तिलाई विषयको गहिराइ तथा आयतन हेरी मृत्युदण्डसम्मको कानूनी ब्यवस्थाका लागि आवश्यक प्रक्रिया शुरु गर्न नागरिक शक्ति नेपालले सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।

विभिन्न सहकारी संस्थाबाट ठगीमा परि पीडित हुनुपरेका नागरिकलाई क्षतिपूर्ति गराएर अविलम्ब न्याय दिलाउन सरकारको पहल हुनुपर्ने माग अघिसार्नुका साथैदेशका प्राकृतिक सम्पदा र श्रोतमाथि भैरहेको ज्यादतिपूर्ण अतिक्रमणमा तत्काल रोक लगाइ हावा र पानी दुषित तुल्याउने तथा प्राकृतिक सम्पदामा क्षति पुर्‍याउनेहरूमाथि आजीवन कारावास तथा कसुर हेरी मृत्युदण्ड सम्मको कानूनी ब्यबस्था गर्न पनि बैठकले सरकारसङ्ग माग गरेको छ ।

यसैगरी, रोजगारीका लागि तथा अन्य कामका लागि प्रबासमा रहे/बसेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्दै त्यसको निम्ति तत्काल आवश्यक निर्णय लिन बैठकले माग गरेको छ भने नागरिक शक्ति, नेपालका अध्यक्ष देवप्रकाश त्रिपाठीद्वारा प्रस्तुत राजनीतिक कार्यनीतिसम्बन्धी प्रस्ताव केही परिमार्जनसहित पारित गरिएको महासचिव पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।