नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले हाल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन् ।
प्रेस सङ्गठन नेपालद्वारा आज (२० फागुन) जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएकाले हाल यसको सम्भावना नरहेको स्पष्ट पारे । तर, महत्त्वपूर्ण ‘एजेन्डा’का आधारमा कार्यगत एकता गर्न सकिने पनि उनले बताए ।
‘तत्काल पार्टी एकीकरण सम्भव छैन तर, ‘इस्यु’का आधारमा कार्यगत एकता गर्न सकिन्छ । जस्तै, अहिले राष्ट्रियतामाथि खतरा छ । यस्तो अवस्थामा वामपन्थी मात्र होइन, सबैले एकताबद्ध भएर उभिनुपर्छ’, खनालले भने ।
पूर्वप्रधानमन्त्री खनालले संविधानअनुसार ऐन निर्माणको प्रक्रिया सहजै अघि बढ्न सक्ने भए पनि सरकारले अनावश्यक रूपमा अध्यादेश ल्याएको उल्लेख गर्दै भने, ‘संविधानअनुसार सामान्य प्रक्रियाबाट ऐन बनाउन कसैले अवरोध गरेको छैन । यस्तो अवस्थामा अध्यादेश ल्याउनु गलत हो ।’
वर्तमान सरकारलाई सङ्कटको भारी बोकेर हिँडिरहेको आरोप पनि उनले लगाए ।
photo: rss
प्रतिक्रिया