अमेरिकाले जस्तै अन्यत्रबाट पनि वैदेशिक सहयोग रोकिनसक्ने परराष्ट्रमन्त्रीको चेतावनी

अमेरिकाले जस्तै अन्यत्रबाट पनि वैदेशिक सहयोग रोकिनसक्ने परराष्ट्रमन्त्रीको चेतावनी


परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली नागरिकहरुको उद्धार (रेस्क्यु) गर्नेजस्तो मात्र भएको भन्दै गुनासो पोखेकी छन् ।

नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले रुपन्देहीको भैरहवामा पर्टीका प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा प्रशिक्षण शाखा प्रमुखका लागि आयोजना गरेको प्रशिक्षणमा मन्त्री राणाले भनिन्, ‘अहिले विदेशमा नेपालीहरु यतिधेरै समस्यामा परिरहेका छन् कि परराष्ट्र मन्त्रालयको काम त यसो हेर्दा उनीहरुको उद्धार गर्नेजस्तो मात्र भएको छ ।’

सीमित स्रोत, साधन र जनशक्तिका कारण संसारमा रहेका नेपालीको उद्धारको काम निकै कठिन भएको जानकारी उनले दिइन् । अहिले संसारका ४० देशमा मात्र नेपाली राजदूतावास रहेका तर नेपालीहरु भने एक सयभन्दा बढी देशमा पुगेका बताउँदै मन्त्री डा. राणाले नेपालीहरु कहाँ र कसरी पुगेका छन् भन्नेबारेको सूचना मन्त्रालयलाई थाहा नहुने र कसैलाई समस्या परेर उद्धार गर्नुपर्ने अवस्थामा मात्र थाहा हुने गरेको खुलासा गरिन् ।

बङ्गलादेशको उदाहरण दिँदै उनले भनिन्, ‘जस्तो कि बङ्गलादेशमा मेडिकल पढ्न गएका विद्यार्थीलाई समस्या परेपछि मात्र त्यहाँ कति विद्यार्थी छन् भन्ने कुरा थाहा भयो । तर मिडियामा भने उनीहरुलाई एक∕दुई दिनमै नेपाल ल्याइहाल्नुपऱ्यो भन्नेजस्तो गरेर समाचार आउँछ । त्यसबेला पनि ढाकाको दूतावासमा रहेको सीमित जनशक्तिले समन्वय गऱ्यो । यस्तै अवस्था अन्यत्र पनि छन्, तर हामी जसोतसो काम गरिरहेकै छौँ ।’

उनले मध्यपूर्वी देशहरुमा घरेलु कामदारका रुपमा जान महिलालाई नेपालले प्रतिबन्ध लगाएको भए पनि अवैधानिक बाटोबाटै हजारौँ महिला ती देशमा पुगिरहेका जानकारी गराउँदै पछि यदि उनीहरु समस्यामा परे भने उद्धारका लागि निकै अप्ठेरो पर्नसक्ने धारणा राखिन् । त्यसैले परराष्ट्र मन्त्रालयले संसारका नेपाली डायस्पोरालाई कन्सुलर सेवा उपलब्ध गराउन तथा परम्परागत कूटनीतिभन्दा माथि उठेर नेपालको परराष्ट्र सम्बन्धलाई थप विस्तारित गर्न ओएनएम गरेर थप दरबन्दी सिर्जना गरेको र यसबाट आगामी दिनमा केही सहज हुने उनको भनाइ थियो।

नेपाली मिसन नरहेका तर नेपालीहरुको सङ्ख्या धेरै रहेका स्थानजस्तै अमेरिकाका टेक्सास र सान्फ्रान्सिस्को तथा युएईको दुबईमा महावाणिज्यदूतावास नै स्थापना गरिएको जानकारी मन्त्री राणाले गराइन् ।

अहिले अमेरिकाले वैदेशिक सहयोग रोकेजस्तै गरी अन्यत्रबाट पनि त्यस्तो समाचार नआउला भन्न नसकिने जिकिर गर्दै उनले अब देशको विकास आफैं गर्ने र युवाहरुलाई स्वदेशमै रोजगारीमा लगाउने विषयमा कांग्रेसले गाउँगाउँमा अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइन् ।