- महर्जन दिनेशकुमार, काठमाडौं
भिजिट भिसाको आवरणमा सुरक्षाकर्मी, अध्यागमन र नेपाल एयरलाइन्सका कर्मचारीको मिलेमतोमा मानव तस्करी हुने गरेको कुरा छुपेको विषय होइन । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धानले पनि यस्तो देखिएको प्रहरी स्रोतको दाबी छ । भिजिट भिसामा हुने मानव तस्करी नरोकिएपछि प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानव बेचबिखन तथा अनुसन्धान ब्युरो नै केही समय खटाएपनि त्यसलाई पुर्ण रुपमा नियन्त्रण गर्न नसकिएको स्वयम् प्रहरी निकाय बताउँछ । विमानस्थलबाट भिजिट भिसामा दुबईमा मात्रै दैनिक २५० जनाभन्दा धेरै मानव तस्करी हुन थालेपछि ब्युरोले डेढ वर्षअघिबाटै टोली परिचालन गरे पनि अध्यागमन कर्मचारीले विरोध गरेपछि फिर्ता भएको थियो । तर, पछि अनुसन्धानमा खटिएको प्रहरीले अध्यागमनकै कर्मचारीको मिलेमतोमा भिजिट भिसामा मानव तस्करी हुने गरेको फेला पारेपछि पुनः ब्युरोको टोली परिचालन गर्न लागिएको थियो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ओमन हुँदै कुवेत, दुबई, साउदी अरविया, कतार, सिरिया, इराक, बहराइनमा नेपाली महिला तस्करीको क्रम निरन्तर बढीरहेको छ । दुवई सरकारले भिजिट भाषामा कडाई गरेपछि विभिन्न नेपालका ट्राभल एजेन्सीहरुले ओमनलाई ट्रान्जिट प्वाइट बनाएर मानव तस्करी गर्ने गरेको प्रहरी सुत्रले जनाएको छ ।
स्रोतका अनुसार नेपालका विभिन्न एलाइन्स कम्पनीहरुको संलग्नमा मानव तस्करी गर्ने गरिएको छ । कुवेत एयरवेट र जजिरा एयरवेजमा विशेषगरी मानवतस्कर हुने गरेको पाइएको छ । काठमाडौंबाट कुवेत, कुवेतबाट कतारको टिकट जारि भएपनि बीचमा कुवेत ट्रान्जिट भएकाले ती महिलाहरु कुवेतमै बाहिर निस्कने गरेका छन् । यसमा एलाइन्सको मिलेमतोमा मानव तस्करी हुने स्रोतको दाबी छ ।
२०७३ सालबाट खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रुपमा जान सरकारले रोके पनि दिनप्रतिदिन महिलाहरु खाडी मुलुकमा दैनिकजसो विभिन्न माध्यमबाट गैरकानुनी रुपमा तस्करीको सिकार भैरहेका छन् । विशेष गरेर ग्रामीण क्षेत्रका महिला एवम् किशोरीहरुलाई रोजगारीको प्रलोभनमा तस्करी गर्ने गरिएको छ । सरकारले भिजिट भिषामा जानको लागि ६बुँदे मापदण्डलाई आधार बनाएर काठमाडौंका विभिन्न ट्राभल एजेन्सीले महिलाहरुलाई खाडी मुलुकमा पुऱ्याइरहेका छन् । सरकारले जारी गरेको ६बुँदे मापदण्ड २०८० माघ १० गते देखि लागु हुने गरी भिजिट भिषा तथा पर्यटक भिषामा विदेश यात्रामा आवश्यक कागजपत्रहरु विवरण तोकेको भएपनि त्यसलाई नै नक्कली बनाउने गरिएको छ ।
सम्बद्ध सुत्रका अनुसार दुबईमा मात्रै कम्तीमा दैनिक २५० महिलाको तस्करी हुन्छ, जसका लागि प्रयोग हुने भिजिट भिसा हो । पहिला भिजिट भिसामा दुबई जानेका लागि प्रहरी रिपोर्ट, १२ कक्षा पास गरेको शैक्षिक प्रमाणपत्र, बैंक स्टेटमेन्ट अनिवार्य गरिएको थियो । तस्कर समूहले यस्ता कागजात नक्कली बनाएर पठाउने गरेको थियो । जसमा अध्यागमनका कर्मचारीसँग पनि सेटिङ मिलाउनुपर्थ्यो । अहिले भिजिट भिसामा जान चाहनेका लागि होटेल बुकिङ, जहाजको टिकट र भिसा भए पुग्छ । जसमा विगतमा जस्तो धेरै खर्च पनि नलाग्ने भएकाले तस्करी थप सहज भएको छ । तस्करले सहजतामा खेलेर मानव तस्करी गरिरहेका छन् ।
नेपाल सरकारले २०८० माघ १० गते देखि लागु हुने गरि गरिएको भिजिट भिषाको कार्यविधिमा टेकेर विभिन्न दलाल, विभिन्न ट्राभल एजेन्सीले मानव तस्करी गर्नको लागि नेपाली महिलालाई खाडी मुलुकमा अवैधानिक रुपमा पठाइरहेको छ । यस ६बुँदे मापदण्डमा दुईतर्फी हवाई टिकट नक्कली हुने गरेको तथ्य फेला परेको छ । यसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एयरलाइन्स कर्मचारीहरु प्रत्यक्ष रुपमा विभिन्न ट्राभल एजेन्सीका सञ्चालक, मानव तस्करी गर्न सघाउने दलालसँग प्रत्यक्ष संलग्न भइ एकतर्फी मात्र हवाई टिकटमा बोडिङ पास जारी गरेर महिलाहरु पठाउन संलग्न भएका र विभिन्न ट्राभल एजेन्सीका सञ्चालकसँग एक जना महिला पठाउन एलाइन्सका कर्मचारीले १० हजारसम्म रकम असुल्ने गरेको यसमा दुईतर्फी टिकटमा एकतर्फी टिकटमा बोडिङ पास जारी गरिने र रिटन टिकट नक्कली बनाउने गरिएको पाइएको छ ।
मापदण्डमा अनिवार्य रुपमा ५०० डलर हुने भनिए तापनि ५०० अमेरिकी डलरविना नै एयरलाइन्सका कर्मचारीले बोडिङ पास जारी गर्ने गरेको, विनाडलर महिलाहरुलाई बोडिङ पास जारी गरिने गरिएको छ । यसमा प्रत्यक्ष रुपमा एयरलाइन्सका कर्मचारीको संलग्नता भएको हुन सक्ने आशंका प्रशस्तै रहेका छन् । भिजिट भिषामा भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभइ आफन्तसँग रहने भएका एकाघरका तीनपुस्ते नाता खुल्ने सम्पुर्ण प्रमाणहरु नक्कली हुने होटल बुकिङ विभिन्न अनलाइनबाट नक्कली बनाउने गरिएको छ । यी सबै मापदण्डलाई टेकेर भिजिट भिषामा दैनिकजसो २०० जना महिलाहरुको मानव तस्कर हुने गरिएको छ ।
यस कार्यमा अध्यागमन विभाग, गृह मन्त्रालय, विभिन्न एलाइन्सका कर्मचारी सबैको संलग्नता रहेको आशंका गर्ने ठाउँ प्रशस्तै रहेका छन्, जसलाई नियन्त्रण गर्ने दायित्व गृह मन्त्रालयको हो । भिजिट भिषामा सरकारले लचिलो मापदण्ड बनाएर नेपाली महिलालाई घरेलु कामदारमा पठाइरहेको कारण नेपाली कामदारले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा विभिन्न समस्या भोग्नुपरेको छ । श्रम स्विकृति लिएर पठाउनुपर्नेमा भिजिट भिषामा पठाएकोले ती महिला कति गए, कहाँ गए, के गर्दैछन् भन्ने यकिन तथ्याङ्क सरकारी निकायसँग नहुने भएकाले यो भिजिट भिषालाई कडाइ गरि जान चाहने इच्छुक महिलालाई श्रम स्वीकृति प्रदान गरि खाडी मुलुकमा महिला घरेलु कामदारमा पठाउँदा सरकारसँग एकिन तथ्याङ्क हुने भएकाले सो बमोजिम गर्न जरुरी छ । खाडी मुलुकमा २०७३ सालदेखि हालसम्म २ लाख नेपाली महिला घरेलु कामदारमा अवैधानिक रुपमा गएको पाइएको छ । अवैधानिक रुपमा ति महिलाहरु जाँदा सरकारसँग यकिन तथ्याङ्कसमेत छैन । र, ती महिलाले विभिन्न तरिकाले शारीरिक एवम् यौन शोषण भोग्नु परेको छ । यसमा गृह र श्रम मन्त्रालयको ध्यान गम्भीर रुपले जान जरुरी छ ।
भिजिट भिषामा मानव तस्करीमा सधाउने काठमाडौं उपत्यकाका ट्राभल एजेन्सीका सञ्चालकहरुलाई छानविन गरि कानुनी कारवाही गर्ने र तिनीहरुको सम्पती छानविन गरि कानुनी दायरामा ल्याउने वातावरण सरकारी संयन्त्रबाट कार्यविधि नै बनाएर गर्नु अपरिहार्य छ ।
प्रतिक्रिया