(इतिहास)
घाटमा लाश पोल्न बनाइएका स्थललाई घाटेभकारी भन्ने गरिन्छ । १ नं भकारी भनेर चिनिने थापाथलीनजिकैको पहिलो भकारीदेखि टेकु दोभानसम्म ६६ वटा भकारी बनाइएका थिए । घाटेभकारी भनेर चिनिने यी भकारीहरू बस्ती अतिक्रमण तथा पार्क निर्माणका नाममा अतिक्रमण भएर हराउँदै गए । महत्वपूर्ण ऐतिहासिक घाटेभकारीका कुँदिएका ढुङ्गाहरू पनि हराउँदै गए ।
✍ सुनिल उलक

पहिले-पहिले दुर्गम गाउँहरूमा बाँस वा काठका फड्के बनाएर खोला तर्ने गरिन्थ्यो । स्थानीय कामी (लोहार)हरू भएको ठाउँ तथा नजिकै खानी भएमा फलामे साङ्लाका झोलुङ्गे पुलहरू बनाइन्थ्यो । चुना-सुर्किको जोडाइबाट पक्की पुलहरू भने काठमाडौं उपत्यका तथा काठमाडौं उपत्यकासँग तराइ जोड्ने बाटोमा पर्ने स्थानहरूमा बनाइएको थियो । अन्यत्र खासै बलिया पुल बनाइएको भेटिँदैनथ्यो ।
नेपालमा पक्की पुलको इतिहास भने भीमसेन थापाको पालामा बनेको थापाथलीको बागमती नदीमाथि बनाइएको काठेपुललाई लिने गरिन्छ । वि.सं. १८६८ मा बनाइएको थापाथली कुपण्डोल बीचको बागमती नदीको पुल नै नेपालको पहिलो पक्की पुल हो । इँटामा चुना सुर्किको जोडाइबाट खोलाको बीच-बीचमा काठेपिलर उठाएर बनाइएको पुललाई चन्द्रशम्शेरले ११६ वर्षपछि विस्थापित गराइ काठको ठाउँमा स्टीलका बिमहरू राखेर पुल बनाएका थिए ।
बहुलट्ठी स्वभावका राजा रणबहादुर शाहले जेठी रानीबाट रोलक्रमअनुसार राजा बन्न योग्य छोरा जन्म भइसक्दा पनि जनकपुरनजिकैका मैथिली ब्राम्हण परिवारकी विधवा महिला कान्तावती देवी पशुपतिनाथ दर्शन गर्न आउँदा देखेपछि उनको प्रेममा पागल भएर विवाह प्रस्ताव राखेका थिए । कान्तावतीले आफ्नो कोखबाट जन्मने छोरालाई राजा बनाउने भएमात्र विवाह गर्न राजी हुने भनिएपछि शर्त मञ्जुर गरि विवाह गरेका थिए । यस्तै, भीमसेन थापाकी भतिजी तथा माथवरसिंह थापाकी दिदी ललित त्रिपुरासुन्दरीसँग पनि रणबहादुर शाहले विवाह गरेका थिए ।
रानी ललित त्रिपुरासुन्दरी राजकाज तथा विकास/निर्माणमा समेत विशेष रुचि भएको महिला हुँदा उनले विकास निर्माण तथा मन्दिर घाटहरूको निर्माण पनि गराएकी थिइन् । उनले त्रिपुरेश्वर महादेव मन्दिर बनाइन्, जुन मन्दिरको नामबाट नै आजको त्रिपुरेश्वरको नामाकरण भएको हो । धरहरा पनि उनले नै बनाउन लगाएकी थिइन् । धरहरानजिकै रहेको सुन्धारा पनि उनैले बनाउन लगाएकी थिइन् ।
रानी ललित त्रिपुरासुन्दरीलाई नेपालको पहिलो महिला श्रष्टाका रूपमा पनि चिनिने गरिन्छ । उनले वि.सं. १८८१ मा महाभारतमा रहेको शान्ति पर्वबाट राजधर्मलाई संस्कृतबाट नेपालीमा अनुवाद गराएकी थिइन् ।
बागमतीमा पुल नहुँदा काठमाडौं तथा पाटनका जनताको लागि आवतजावत गर्न निकै कठिन भएको देखेर रानी ललित त्रिपुरासुन्दरीले बागमतीमा पुल हाल्ने बारेमा सल्लाह गरिन् । त्यसबेला मुख्तियार रहेका जनरल भीमसेन थापाले सो पुल राख्ने रानीको मनसाय धेरै नै उपयुक्त रहेको भन्दै तुरुन्तै कामको थालनी गर्न लगाएका थिए । सो पुल निर्माणको शिलान्यास रानी स्वयंले वि.सं. १८६७ मार्ग शुक्ल एकादशी अर्थात् मंसिर २३ गते बिहीबारका दिन गरेकी थिइन् । पुलको लम्बाइ १३५३ हात अर्थात् ६१८.५ मीटर हुँदा पनि निर्माण कार्यमा समय लागेको थियो । पुल निर्माण थालनीको १५ महिनापछि वि.सं. १८६८ चैत्र कृष्ण सप्तमी अर्थात् फागुन २४ गते बिहीबारका दिन सम्पन्न भइ उद्घाटन गरिएको थियो ।
पति एवम् राजा रणबहादुर शाहको देहावसान भइसकेको हुँदा पतिको उद्धारको लागि ललित त्रिपुरासुन्दरीले पुलको वारिपारी धर्मशाला गुठी खेत बनाइन् भने काठमाडौं तिरको पश्चिम भागमा ढुङ्गा छापेर घाट पनि बनाइदिइन् । साथै पुलको वारिपारी मानव बस्तीको विकास पनि गराएकी थिइन् ।
यो पुल बनाएको ११६ वर्षपछि श्री ३ चन्द्रशम्शेरले भने पक्की फलामे झोलुङ्गे पुल बनाएका थिए, जसलाई रातोपुल नामले चिनिन्थ्यो । समयको परिवर्तनसँगै गाडी गुडाउन मिल्ने चौडा पक्की पुल बनेपछि रातो पुलको इतिहास पनि मेटियो ।
यसरी रानीले बनाएको घाटमा पछि जङ्गबहादुरले आफ्नो पालामा अझ बढी विकास गराएका थिए । उनको समयमा घाटमा भकारीहरू बनाइएको थियो । घाटमा लाश पोल्न बनाइएका स्थललाई घाटेभकारी भन्ने गरिन्छ । १ नं भकारी भनेर चिनिने थापाथलीनजिकैको पहिलो भकारीदेखि टेकु दोभानसम्म ६६ वटा भकारी बनाइएका थिए । भकारी बनाउँदा ढुङ्गाहरू कुँदेर बनाइएका हुन्थे । घाटेभकारी भनेर चिनिने यी भकारीहरू बस्ती अतिक्रमण तथा पार्क निर्माणका नाममा अतिक्रमण भएर हराउँदै गए । महत्वपूर्ण ऐतिहासिक घाटेभकारीका कुँदिएका ढुङ्गाहरू पनि हराउँदै गए ।
प्रतिक्रिया