नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले राजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन् । राजतन्त्र पुनःस्थापना हुने कुरा असम्भव भएको भन्दै उनले चुनावमार्फत् राजनीतिमा उत्रन राजालाई सुझाव दिएका हुन् ।
आज (२४ फागुन) बिहान रौतहट गरूडाका उद्योगी तथा व्यापारीसँगको भेटघाटका क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको उत्तर दिँदै प्रचण्डले भने, ‘इतिहासको चर्खा कहिल्यै पनि फर्कँदैन, यदि उहाँलाई सत्तामा आउने इच्छा भए पार्टी खोलेर, चुनाव जितेर आउन संविधानले छुट दिएको छ ।’
अर्को प्रसङ्गमा अध्यक्ष प्रचण्डले गरूडामा रहेको श्रीराम सुगर मिल सञ्चालनको लागि सक्दो पहल गर्ने बताए । यस मिलसँग रोजगारी, आर्थिक विकास समेत जोडिएको हुँदा श्रीराम सुगर मिल सञ्चालनको लागि पार्टीको तर्फबाट सक्दो सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए ।
प्रचण्डसहितको टोली माओवादी केन्द्रको जनतासँग माओवादी तराई-मधेस जागरण अभिायनअन्तर्गत शुक्रबार साँझ रौतहट पुगेका हुन् । शनिबार दिउँसो परोहा नगरपालिकाको लौकाहामा आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका पोलिटब्युरो सदस्य एवं रौतहट क्षेत्र नं ४ क का प्रदेशसभा सदस्य युवराज भट्टराई ‘समिर’ले जानकारी दिएका छन् ।
photo: rss
प्रतिक्रिया