महिलाको हत्यामा संलग्न पाँच जना पक्राउ

महिलाको हत्यामा संलग्न पाँच जना पक्राउ


काठमाडौंको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा संलग्न एक नाबालकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त घटनामा संलग्नताको आधारमा सर्लाही घर भई हाल काठमाडौं गोठाटार बस्ने २५ वर्षीय कैलाश खड्का, मकवानपुर घर भई हाल गोठाटार बस्ने २० वर्षीय सुरेश तामाङ, नुवाकोट घर भई हाल गोठाटार बस्ने २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोक घर भई हाल गोकर्णेश्वर बस्ने २० वर्षीया पूजा परियार र एक नाबालकलाई प्रहरीले आइतबार (२५ फागुन) पक्राउ गरेको हो ।

शनिबार गोकर्णेश्वर नगरपालिका–७ नामी कलेजनजिक बाग्मती खोलाको बीच भागमा बोराभित्र पानीमा डुबेको अवस्थामा अन्दाजी वर्ष ३०÷३५ वर्षकी महिलाको शव फेला परेको थियो । उक्त सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली खटिई गई शवपरीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा निजको हत्यामा ती व्यक्तिहरुको संलग्नता खुल्न आएको थियो ।

उपत्यकाका विभिन्न स्थानबाट पाँचैजनालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।