वैदेशिक रोजगारीको बहानामा ठगी गर्ने ६ जना पक्राउ

वैदेशिक रोजगारीको बहानामा ठगी गर्ने ६ जना पक्राउ


आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाउने प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

गोरखा आरूघाट गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने २४ वर्षीया सरू परियार, कञ्चनपुर बेलौरी नगरपालिका-३ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ३२ वर्षीय जेम्स राना, काठमाडौं कीर्तिपुर नगरपालिका-६ घर भएकी ३४ वर्षीया रेखा तुलाधार, धादिङ निलकण्ठ नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने २७ वर्षीय रवि खनाल, ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ४० वर्षीय ललितबहादुर इवारम र ३३ वर्षीय दिपेश सुब्बालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये सरूले अष्ट्रेलिया पठाइदिन्छु भनी एक जनासँग रु दुई लाख ५० हजार, जेम्सले क्रोएसिया पठाइदिन्छु भनी एक जनासँग रु. तीन लाख, रेखाले जापान पठाइदिन्छु भनी चार जनासँग रु १३ लाख दुई हजार, रविले अमेरिका पठाइदिन्छु भनी एक जनासँग रु १४ लाख तथा ललित र दिपेशले अमेरिका पठाइदिन्छु भनी एक जनासँग रु ५३ लाख लिई सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएका प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

यस्तै, प्रहरीले अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट २८ जनलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षद्वारा प्रकाशित बुलेटिन अनुसार कैलाली, मकवानपुर, मोरङ, दाङ, उदयपुर, सुर्खेत, झापा, बाँके, सुनसरी र कपिलवस्तु जिल्लाका विभिन्न स्थानबाट उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।